चट्याङले खोसेको हर्रेकाँडाको उज्यालोको खुसी कसले फर्काइदेला !
सुर्खेत : सुर्खेत पश्चिमको बराहताल गाउँपालिका—३ हर्रेकाँडाका ६२ वर्षीय मनीराम लामिछाने गाउँको सिरानबाटै ‘हर्रेकाँडा वायु ऊर्जा’ आउँदा कम्ता खुसी थिएनन्। वर्षौँ झरोको सहारामा बस्दै आएका भण्डारीको घर बत्तीले झिलिमिली भएको थियो २०७४ साल साउनमा।
उनको घरमा टेलिभिजन पनि राखियो। बालबच्चालाई राती अबेरसम्म पढ्न सहज भयो। तर, २०७६ साउनमा चट्याङले वायु ऊर्जा स्टेसनमा क्षति पुर्याएपछि तीन वर्षदेखि लामिछानेको घरमा पुनः झरो प्रयोग हुन थालेको छ। टेलिभिजनबाट रेडियोमा झरेका उनी जस्तै हर्रेकाँडा गाउँका ४० घरधुरी वायु ऊर्जा प्रयोगविहीन हुँदा उज्यालोबाट वञ्चित भएका छन्।
‘पहिला वायु ऊर्जा आएपछि हामी धेरै खुसी थियौँ, घर–घरमा झिलिमिली थियो। अहिले त्यो बिग्रिएपछि फेरि दियालो (झरो) नै प्रयोग गर्ने गरेका छौँ,’लामिछानेले भने, ‘बत्ती हुँदा केटाकेटीले पढ्न पाएका थिए। टेलिभिजन हेर्न पाएका थियौँ। अहिले त फेरि उही रेडियो नै काम लाग्यो।’
२०७४ साउनमा ५६ लाख ६६ हजार लागतमा निर्माण गरिएको ‘हर्रेकाँडा वायु ऊर्जा’ अहिले प्रयोगविहीन बनेको छ। २०७६ साउनमा चट्याङले क्षति पुगेपछि आयोजनाको मर्मत गर्न नत स्थानीय गाउँपालिकाले चासो देखाएको छ नत प्रदेश र केन्द्र सरकारले नै।
चट्याङले सोलार र डाइनामोसेटमा क्षति पुगेको छ। मर्मत गर्न बारम्बार सरोकारवालालाई अनुरोध गरे पनि कसैले वास्ता नगरेको स्थानीय राम बहादुर भण्डारी बताउँछन्। आधा करोड खर्चेर निर्माण गरेको वायु ऊर्जा प्रयोगविहीन सँगै सामाग्रीहरू समेत हराउने चिन्ता बढेको छ।
‘गाउँसम्म विद्युत् पुगेको छैन, पुराना सोलारका पाता जीर्ण बनिसकेका छन्। विद्युत् उत्पादन बन्द भएपछि आर्थिक स्रोत हुनेहरूले घरमा सोलार किनेका छन्,’ उनले भने, ‘नसक्नेले फेरि दियालो बाल्नुपर्ने बाध्यता छ। सोलार नहुनेहरू मोबाइल चार्ज गर्नसमेत अर्काको घरमा धाउनुपर्छ।’
अहिले फोन गर्न पनि रुख र अग्ला डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ।
आयोजना सञ्चालन र रेखदेखको जिम्मेवारी पाएका स्थानीयले आर्थिक अभावका कारण आफूहरूले वायु ऊर्जा मर्मत गर्न नसकेको बताउँदै आएका छन्।
यता बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले वायु ऊर्जा मर्मतका लागि स्थानीय सरकारको बजेट अपुग हुने र यसलाई पुनः सञ्चालनका लागि माथिल्लो तहका सरकारसँग अनुरोध गरे पनि सुनुवाइ नभएको बताए ।
यसरी स्थापना भयो वायु ऊर्जा
हर्रेकाँडा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्ती हो जुन भौगोलिक रूपमा अत्यन्तै विकट छ। ४० घरधुरी बसोबास भएको यो बस्तीमा सडक, विद्युत्, विद्यालय र स्वास्थ्य संस्थाको अभाव त छँदैछ, खानेपानी ल्याउनका पनि आधा घण्टा हिँडेर बिहान चार बजेदेखि लाइनमा बस्नुपर्ने अवस्था छ। गाउँभरीकाको खानेपानीको स्रोत भनेकै गाउँको पुछारमा रहेको मूल हो।
यहाँका स्थानीयहरू आर्थिक रूपमा पनि विपन्न छन्। सडकको पहुँच नपुगेका कारण यहाँका किसानले उत्पादन गरेको तरकारी पनि बारीमै कुहिन्छ। कक्षा ५ सम्म मात्रै गाउँमा विद्यालय छ। त्योभन्दा बढी पढ्नका लागि प्रदेश राजधानी वीरेन्द्रनगर या गाउँपालिकाको केन्द्र बड्डीचौर नै कोठा लिएर बस्नुपर्छ।
८ वर्षअघि २०७० मङ्सिर १५ गतेदेखि गाउँलाई उज्यालो बनाउने प्रयत्न गरियो। गाउँलाई टुकीबाट मुक्त गर्ने अभियानको नेतृत्व गरे पूर्व शिक्षक विष्णुबहादुर शाहीले। उनको अभियानमा जिल्ला समन्वय समिति सुर्खेत, पूर्व सञ्चार राज्यमन्त्री स्वर्गीय तप्त बहादुर विष्ट, तत्कालीन तरङ्गा गाविस र स्थानीयवासीले हातेमालो गरे।
स्वर्गीय विष्टले सांसद क्षेत्र विकास कोषबाट ८ लाख ५६ हजार रुपैयाँ, वैकल्पिक ऊर्जाले ३९ लाख ९२ हजार, तत्कालीन गाउँ विकास समिति तरंगाबाट २ लाख १४ हजार र उपभोक्ताले १६ हजार लगानी गरे। आयोजना सफल बनाउन ५ लाख ८६ हजार रकम बराबरको स्थानीयले जनश्रमदान गरे। कुल ५६ लाख ६६ हजार ४ सय ३८ रुपैयाँको लागतमा २०७४ साउन ५ गते विधिवत् रूपमा ऊर्जा उत्पादन सुरु भयो। आयोजना सञ्चालन भएपछि सबै घरधुरीमा लाइन विस्तार भयो।
२०७६ साउनमा परेको चट्याङले वायु ऊर्जामा क्षति पुग्यो । त्यसपछि विद्युत् उत्पादन बन्द भयो।
चैत ५, २०७८ शनिबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।