सडक अनुशासन सिकाउँदै उपत्यकाबाहिरको पहिलो ट्राफिक लाइट
बुटवलः पाल्पाको तानसेनबाट भैरहवा एयरपोर्ट हिँडेका विष्णु अर्याल चढेको सवारीसाधन मणिग्रामको चोकनजिकै रोकियो। अगाडि लामबद्ध सवारी साधनको जाम थियो। एयरपोर्टमा जहाज छुट्ला कि भन्ने पिर थियो उनमा।
उनी सोच्न थाले, कुनै कारणले जाम भएको होला। तर, झण्डै दुई मिनेटपछि सवारी चल्न थाले। अर्याल सवार सवारी अलि अगाडि पुगेपछि उनले थाहा पाए- त्यहाँ त ट्राफिक लाइट रहेछ।
‘अगाडि टिप्पर हुँदा किन रोकिएछ भन्ने थाहा भएन। पछि त लाइटका कारण रहेछ’, उनले भने।
काठमाडौंमा रहँदा ट्राफिक लाइट र यसका नियमको पालना गरेका अर्यालले उपत्यकाबाहिर पहिलो पटक यो अनुभव तिलोत्तमाको मणिग्राममा गरे।
भदौ पहिलो साता नेकपा एमालेको वृहत् कार्यकर्ता भेलाका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली बुटवल आउने कार्यक्रम थियो। भैरहवा विमानस्थलमा कार्यकर्ताले स्वागत गरेपछि बुटवलतर्फ हिँडेका उनी मणिग्राममा रोकिए।
ट्राफिक लाइटमा रातो बत्ती देखेपछि केही समय रोकिएको उनी सवार गाडीलाई ट्राफिक प्रहरीले अघि बढायो। काठमाडौंमा मात्र ट्राफिक लाइट रहेकोमा मणिग्राममा समेत त्यो पाएपछि पूर्वप्रधानमन्त्री ओली दङ्ग परेका थिए।
अहिले मणिग्रामको ट्राफिक लाइटको भिडियो सामाजिक सञ्चालनमा खुबै रुचाइएको छ। लाइट धेरैका लागि अनुभव गर्ने थलो बनेको छ। लाइट जडानपछि तिलोत्तमाको चिनारी थप बढेको छ।
मणिग्राम चोकमा ट्राफिक लाइट सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लागेको छ। सवारी चलाउने चालक र सडक यात्रीलाई ट्राफिक नियम बुझ्न ट्राफिक लाइटले सहज बनाएको छ।
मणिग्राममा जडान गरिएको ट्राफिक लाइट उपत्यका बाहिरको पहिलो हो। ट्राफिक लाइटको प्रयोग नयाँ भएकाले सवारी चालक र पैदलयात्रीले लाइटको बारेमा विस्तारै बुझ्दै छन्।
सवारी चालक ईश्वरीप्रसाद अर्याल अहले लाइटको प्रयोगबारे जानकारी हुन थालेको बताउँछन्। 'दैनिक ओहोरदोहार हुँदा नियम सिक्ने अवसर यो लाइटले दियो। चोकमा हुइँकिएर जानेलाई पर्ख, हेर अनि जाउँ भनेर सिकायो’, उनले भने।
अर्का सवारी चालक अर्जुन राना ट्राफिक लाइट जडान अन्यत्र पनि आवश्यक रहेको बताउँछन्। ‘मणिग्राममा जडान भएपछि यो एक प्रकारले सफल देखियो। यो आवश्यक छ भन्ने भयो। यसलाई अझ बढी भीडभाड हुने चोकहरूमा प्रयोग गर्नुपर्दछ’,उनले भने।
लाइट जडान भएपछि स्थानीय एवं व्यापारीहरू पनि खुशी छन्। मणिग्रामका चोकमा २० वर्षदेखि व्यवसाय गर्दै आएकी रीमा क्षेत्री लाइट जडानपछि सवारी साधनले अस्तव्यस्त बाटो काट्दा हुने दुर्घटना कम भएको बताउँछिन्। यस्तै ठूलो, चर्को आवाजमा सवारी कुदाउनेहरूलाई बढी नियमन भएको उनले महसुस गरेकी छिन्।
मणिग्रामकै ज्योति न्यौपाने लाइट जडानपछि सबैभन्दा बढी कार्यालय समयमा सहज भएको बताउँछन्। ‘स्कुल समयमा निकै भीड हुन्थ्यो। पर्खने कसैलाई फुर्सद नभए जस्तै हुइँकाउँथे। तर अहिले लाइटअनुसार चल्ने गरेका छन्। यसले दुर्घटनाको जोखिम कम गराएको छ’,उनले भने।
लाइट बालेकै अवस्थामा कतिपयले अटेर गरेर भाग्ने गरेकाले त्यस्ता सवारी साधन र चालकको पहिचान गरी जरिवाना गर्न सके लाइटको प्रभाव अझ बढ्ने उनको सुझाव छ।
यसरी अवधारणा अघि बढ्यो
कामको सिलसिलामा काठमाडौं ओहोरदोहोर गरिरहने तिलोत्तमाका मेयर बासुदेव घिमिरेले काठमाडौंमै लाइटको प्रभावकारिता देखेपछि आफ्नो नगरमा जडान गर्ने योजना बनाएका थिए।
सुरुमा परीक्षण जस्तो लाइट जडान गर्ने, प्रभावकारी भएपछि अन्यत्र जडान गर्ने योजनाअनुसार यस बारे बुझ्न कहिले महानगरको कार्यालय त कहिले सडक विभाग पुगे उनी।
यो योजना नगर प्रमुख घिमिरेले नगरपालिकाकै इञ्जिनियर प्रदीप वनलाई बताएपछि उनले पनि सडक डिभिजनका इञ्जिनियहरूसँग बुझे। त्यसपछि महानगरसँग स्पेसिकेशन माग गरेर परामर्श भयो। र, मणिग्राममा ट्राफिक लाइट जडानको योजना अघि बढ्यो।
त्यसपछि नगरपालिकाले पहिलो पटक लाइट जडानका लागि २० लाखको टेण्डर आह्वान गर्यो। कसैले पनि टेण्डर राखेनन्। दोस्रो पटक आह्वान गरेको टेण्डरमा यार्सा क्यु सेरा जेभीले १९ लाख १६ हजार भ्याटसहित आवेदन दियो।
त्यसपछि नगरपालिकाले ०७८ बैशाख १३ गते उक्त कम्पनीसँग लाइट जडानको सम्झौता गर्यो। उक्त कम्पनीले ३० असार ०७८ मै काम सकाएर नगरपालिकालाई दियो।
मणिग्राममा जडान गरिएको लाइट ‘प्लस’ आकारमा छ। यसको सबै कन्ट्रोल मंगलापुरस्थित ईलाका प्रहरी कार्यालयबाट हुँदै आएको छ।
अन्य ३ स्थानमा पनि जडान
पहिलो परीक्षणको रूपमा मणिग्राममा जडान गरिएको लाइट प्रभावकारी भएपछि तिलोत्तमा नगरपालिकाले थप ३ स्थानमा लाइट जडान गरेको छ।
इञ्जिनियर वनले नगरभित्रकका कोटिहवा, भलबारी र ड्राइभरटोलमा लाइट जडान गरिएको बताए।
उनका अनुसार कोटिहवा, भलबारी र ड्राइभर टोलमा ‘प्लस’ आकारमा लाइट जडान छ। यार्सा क्यु सेरा जेभीले ३७ लाख ५३ रुपैयाँमा लाइट जडान गरेको हो। उक्त कम्पनीसँग नगरपालिकाले ०७८ कार्तिक ५ गते सम्झौता गरेको थियो।
नगर प्रमुख घिमिरे नयाँ सोचका साथ लाइट जडान गरेको बताउँछन्। 'हामी आएपछि नगरपालिका र नगरबासीका समस्यासँग नजिक भयौं। फरक काम तर नयाँ तरिका अपनायौं। खुला प्लाष्टिकमुक्त नगरपालिका घोषणा, शिक्षा स्वास्थ्य क्षेत्रमा केही उल्लेख्य काम गर्यौँ। त्यसपछि नयाँ सोचका साथ लाइट जडानको अवधारणा अघि बढ्यो। छोटो समयमा यसको लोकप्रियता देखर हामी हौसिएका छौँ’,उनले भने।
नगरपालिका जडान गरेका लाइटको व्यवस्थापन प्रहरीसँग मिलेर गरेको उनले बताए। ‘विद्युतको शुल्क हामी तिर्छौं, प्रहरीले कन्ट्रोलको काम गर्छ। आवश्यक मर्मत सम्भारका लागि जडान कम्पनीसँग समन्वय गर्नेछौँ’,उनले भने।
उपप्रमुख जगेश्वरीदेवी चौधरी लाइटको प्रभावकारिता बढेको बताउँछिन्।
‘सुरुमा ट्राफिक लाइट जडान गर्दा यसको प्रभावकारिता, टिकाउ कस्तो हुन्छ भन्ने डर त थियो। तर पछि यसको प्रयोगबारे व्यापक चर्चा भयो’, उनले भनिन्।
नगरपालिकाले योजना अघि बढाएको भए पनि कार्यान्वयनका लागि प्रहरीको ठूलो भूमिका रहेको समेत उनले बताइन्।
विद्यार्थीलाई ट्राफिक प्रशिक्षण
तिलोत्तमा नगरपालिका गत मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा भयो। बालमैत्री घोषणापछि नगरपालिकाले विद्यार्थीहरूलाई लक्षित गर्दै ट्राफिक प्रशिक्षण कार्यक्रम गरेको छ।
विद्यार्थीहरूलाई ट्राफिक लाइटको प्रयोग कसरी गर्ने, लाइटका संकेतको अर्थ, बाटो कसरी काट्ने भन्ने बारेमा नगरभित्रका ३० जनालाई प्रशिक्षण गराइएको तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ३० जनालाई प्रशिक्षण दिइएको उनले बताए। ‘प्रशिक्षणमा सहभागी भएकाहरूले आफ्ना विद्यालयका विद्यार्थी, अभिभावकलाई लाइटको प्रयोग, बाटो प्रयोग गर्ने बारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण गर्यो। यसो हुँदा विद्यार्थीहरूले अभिभावकसामु यो कुरा लैजाँदा यसको प्रभावकारी अझ हुने देखियो’, उनले भने।
कसरी काम गर्छ लाइटले?
सुरुमा दुई मिनेट ३० सेकेन्ड रातो लाइट बल्ने गरेकोमा अहिले डेढ मिनेट मात्र रातो लाइट बल्छ। साँझको समयमा पहेँलो बत्ती बलिरहन्छ।
प्रहरी पोष्टबाट बिहानदेखि साँझसम्म टाइम सेट गरी क्रमशः लाइटलाई परिचालन गरिन्छ। साँझदेखि रातसम्म एकै प्रकारले बत्ती बल्ने गर्दछ।
प्लस आकारमा राखिएको लाइट रातो बालेपछि सवारी रोकिन्छन र पैदल यात्रीहरू बाटो काट्छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिवस थापाका अनुसार सर्भिस लेनमा ९० सेकेण्ड र अन्य ठाउँमा एक सय २० सेकेण्डसम्म रोकिनु पर्दछ।
‘मणिग्राम पूर्व-पश्चिम जानका लागि २० देखि २५ सेकेण्ड बत्ती बल्छ। भीडभाड कम हुने भएकाले त्यहाँ कम समय दिएको हो। बढी प्राथमिकता हाइवे क्षेत्रमै हुने भएकाले दुई मिनेट रातो लाइट बल्छ’, उनले भने, '२ मिनेटकै बीचमा दायाँ र बायाँ जानका लागि २५ सेकेन्ड राखिएको छ।'
प्रभावकारी बन्दै ट्राफिक लाइट
ट्राफिक लाइटले सडक प्रयोगकर्तालाई अनुशासित मात्र बनाएको छैन, दुर्घटनामा कमी पनि आएको ट्राफिक प्रहरीको भनाइ छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले आफूखुशी हिँड्ने सडक यात्री र मनपरी ढंगले सवारी साधन चलाउनेहरूका लागि ट्राफिक लाइटले सचेत बनाएको बताए।
‘यो आवश्यक थियो। यसले लाइटको प्रयोग कसरी गर्ने भन्ने सिकायो। यसलाई अरू पालिकाहरूले पनि सिको गरेर बढी भीडभाड हुने क्षेत्रमा राख्दा दुर्घटनामा कमी आउनेछ’, उनले भने।
ट्राफिक लाइट भएकै कारण प्रहरीको जनशक्ति परिचालनमा पनि सहज भएको उनले बताए। ‘बढि भीडभाड हुने चोकमा अहिले अफिस समयमा ४ जनासम्म राखेर ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यो अन्यत्र जडान गर्न सकियो भने प्रहरीको जनशक्ति परिचालनमा पनि धेरै सहज हुनेछ’, उनले भने।
अहिले पनि प्रदेशमा आवश्यक ट्राफिक जनशक्ति छैन। सडकमा नियमित सवारी चेकजाँच, दैनिक ड्युटी, दुर्घटनास्थलमा तत्काल पुग्नुपर्नेदेखि भीआईपीको आवतजावत निगरानी र मुख्य बजारमा ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रहरी अहिले लुम्बिनी प्रदेशका १२ जिल्लामा चार सय ८७ जना मात्र रहेका छन्।
पछिल्लो समय सवारी पनि बढेकाले अहिलेकै जनशक्तिले काम गर्न असहज भएको पाण्डेले बताए।
तराईका जिल्लाहरू मात्र होइन पहाडी जिल्लाका सदरमुकाममा समेत सवारी चाप बढ्दै गएकाले आवश्यक जनशक्ति नहुँदा समस्या भएको उनले बताए।
‘ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको जनशक्ति कम भएकै कारणले कतिपय जिल्लामा ट्राफिक डमी सडकमा राखियो। तर यसलाई जोगाउन सकिएन। बरू सरोकार राख्नेहरूले बढी भीडभाड हुने चोकमा ट्राफिक लाइट भए जनशक्ति परिचालनमा सहज हुनेछ’, उनले भने।
सडक विभागको तथ्याङकअनुसार लुम्बिनी प्रदेशमा ११ हजार ६ सय एक किलोमिटर सडक निर्माण भएको छ। यस प्रदेशमा सात सय ५७ किलोमिटर मुख्य सडक र नौ सय ६१ किलामिटर सहायक सडक निर्माण भएको छ।
मुख्य र सहायक सडकमा सवारी चाप हुने गर्दछ। यस हिसाबले एक ट्राफिक प्रहरीले सरदर २४ किलोमिटर सडक र त्यसमा चल्ने सवारी साधनको निगरानी गर्नुपर्ने अवस्था छ। तर जनशक्ति भने पर्याप्त छैन।
कुन लाइटको के संकेत?
ट्राफिक कन्ट्रोल सिग्नलहरू सवारी साधन, मोटरसाइकल, साइकल, पैदल यात्रुहरू र अन्य सडक प्रयोगकर्ताहरूलाई ट्राफिकको प्रवाहलाई मार्गनिर्देशन, चेतावनी र नियमन गर्न सडकको छेउमा राखिएको हो।
रातो– रातो संकेत बत्ती भनेको रोक्नु भनेको हो।
फ्ल्यासिङ रातो– फ्ल्यासिङ रातो बत्तीको अर्थ ठ्याक्कै रोकिने संकेत जस्तै हो।
रातो तीर बत्ती– रातो तीर भनेको हरियो संकेत वा हरियो तीर नदेखिएसम्म रोक्नुहोस भन्ने हो। रातो तीरविपरीत घुमाउन सकिँदैन।
पहेँलो बत्ती– पहेँलो बत्तीले रातो संकेत देखापर्दैछ भनेर चेतावनी दिन्छ।
हरियो—हरियो बत्ती भनेको जानु हो, तर तपाईंले अगाडि बढ्नुअघि चौबाटोमा बाँकी रहेका कुनै पनि सवारीसाधन, साइकल वा पैदल यात्रीहरूलाई छिर्न दिनुपर्छ।
सिग्नल ब्ल्याकआउट– यदि सबै ट्राफिक सिग्नल बत्तीहरूले विद्युतीय शक्ति विफलताको कारणले काम गरिरहेको छैन भने, तपाईंले चौबाटोमा रोकिनुपर्छ र त्यसपछि अन्य घुम्ने र नजिक आउने सवारीहरू, साइकलहरू, वा पैदल यात्रीहरू रोकिएको थाहा हुँदा अगाडि बढ्नुपर्छ।
चैत ५, २०७८ शनिबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।