इमेलबाट राजीनामा पठाएका विष्टले गरे सनाखत

इमेलबाट राजीनामा पठाएका विष्टले गरे सनाखत

सुर्खेत : कर्णाली प्रदेश सभा सदस्य एवं माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सांसद पदबाट राजीनामा दिएको सनाखत गरेका छन्। उपचारका लागि काठमाडौँ गएका विष्टले फागुन २७ गते प्रचण्ड सुर्खेत आएकै दिन ईमेल मार्फत राजीनामा दिएका थिए। 

उनले शुक्रबार (आज)साँझ ५ बजे कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही समक्ष प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको सनाखत गरेका हुन्। प्रदेश सभा सांसद विष्टले केही दिन अगाडी इमेल मार्फत राजीनामा दिए पनि उहाँ आफैँ नआएका कारण  हामीले प्रक्रिया अगाडी बढाएका थिएनौँ,’सभामुख राज बहादुर शाहीले भने, ‘आज उहाँ आफैँ आएर सनाखत गर्नु भएको छ। उहाँ राजीनामा फिर्ता नलिने बताउनुभएको छ। अब स्वीकृतिको प्रक्रिया अगाडी बढेको छ।’

‘म हेम्स अस्पतालबाट उपचार गराएर बुधबार सुर्खेत फर्किएँ। बिहीबार होलीको दिन भएका कारण आज सभामुख समक्ष राजीनामाको सनाखत गरेको छु,’विष्टले भने। अब कुन दलमा प्रवेश गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा विष्टले भने, ‘अहिले कुन दलमा प्रवेश गर्ने भन्ने अन्तिम निष्कर्षमा पुगिसकेको छैन । यद्यपि त्यो सबै भोलिका समयले देखाउने छ।’

यस्तै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले विष्टलाई तीन दिनभित्र राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो। बिहिबार दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको बैठकले निर्देशन दिएको थियो।

विष्टले माओवादीमा नेताहरूकै हालीमुहाली हुने गरेको, पार्टी दक्षिणपन्थी भएको र लामो समय त्याग गरेका नेता कार्यकर्तालाई अवसर दिनेभन्दा पनि हुनेखाने र नेताको चाकडी गर्नेलाई मात्रै अवसर दिएको भन्दै आफूले राजीनामा दिएको बताएका छन्।

नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ।

चैत ४, २०७८ शुक्रबार २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।