सुर्खेत सिटी बसपार्क : ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा नगरपालिकालाई भाडा उठाउनै मुस्किल

सुर्खेत सिटी बसपार्क : ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा नगरपालिकालाई भाडा उठाउनै मुस्किल

सुर्खेत : वीरेन्द्रनगर–६ स्थित सुर्खेतको एक मात्र सिटी बसपार्कको सम्झौता अनुसार निजी कन्स्ट्रक्सन कम्पनीले भाडा नतिर्दा वीरेन्द्रनगर नगरपालिकालाई भाडा असुल गर्न मुस्किल परेको छ । बसपार्क निर्माणको काम सम्पन्न भएपछि नगरपालिकाले एक वर्षअघि मासिक भाडा तिर्ने गरी संचालनका लागि २०७७ मंसिरमा निजी कम्पनी पीआर कन्स्ट्रक्सनलाई तीन वर्षका लागि जिम्मा लगाएको थियो। 

नगरपालिकाले बसपार्क संचालन गरिरहेको भक्तपुरको पीआर कन्स्ट्रक्सनबाट दुई करोड ७३ लाख १२ हजार ८ सय ३१ रुपैयाँ लिन बाँकी रहेको  नगरपालिका स्रोतले जानकारी दिएको छ। एक करोड २१ लाख तीन हजार ७०४ रुपैयाँ प्राप्त भइसकेको नगरपालिकाको दाबी गरेको छ।

बसपार्कको भाडा उठाउनमा केही समस्या भए पनि केही समयपछि यसको समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुवेदीले बताए। ‘सिटी बसपार्कको नियमित भाडा उठाउन अहिले नगरपालिकालाई समस्या भएको छ,’प्रमुख सुवेदीले भने, ‘हामीले नियमित चिठी कन्स्ट्रक्सनलाई पठाइरहेका छौं। कोभिडको समयको ४-५ महिनाको मात्रै भाडा उठाउन बाँकी छ। सम्झौता अनुसार भाडा नदिएपछि अब हामी कानुनी बाटोमा जान थालेका छौं।’ तोकिएको अवधिभित्र रकम नतिरे कानुनी सम्झौता नै तोडिने उनको भनाइ छ। 

फागुन २५ गते नगरपालिकाले पत्र नै काटेर भाडा र जरिवाना बापतको रकम बुझाउन तीन दिनको म्याद दिएको थियो। तर, अहिलेसम्म ठेकेदार कम्पनी सम्पर्क नआएको उनले बताए। 

यसले गर्दा ठेकेदार कम्पनीलाई नगरपालिकाले दिएको नासो आफैँलाई पासो भएको छ। नगरपालिका स्रोतका अनुसार सम्झौता गरे बमोजिम मासिक रुपमा भाडा नतिरेका कारण जरिवाना मात्रै २२ करोड ६५ लाख ३० हजार ३३२ रुपैयाँ पुगेको छ। अब संचालकले नगरपालिकालाई करिब २४ करोड बुझाउनुपर्ने छ।

कन्स्ट्रक्सनले बसपार्क सञ्चालन गरेबापत वीरेन्द्र नगरपालिकालाई मासिक ३१ लाख १५ हजार ५३२ रुपैयाँ बुझाउनुपर्छ। सम्झौतामा कन्स्ट्रक्सनले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्ने उल्लेख छ। त्यसको १५ दिनपछि दैनिक एक प्रतिशत, ३० दिनपछि दुई प्रतिशत र दुई महिनासम्म पनि भाडा तिर्न नसेकेमा हरेक दिन पाँच प्रतिशतका दरले जरिवाना दिनुपर्ने सम्झौतामा उल्लेख छ।

अहिले सिटी बसपार्कमा व्यावसायिक प्रयोजनका लागि ५४ वटा सटर छन्। ती सटरबाट बसपार्क संचालनको ठेक्का पाएको पिआर कन्स्ट्रक्सनले मासिक रुपमा भाडा असुल्दै आएको छ। व्यवसायीबाट भाडा लिए पनि सचालकले नगरपालिकालाई भने बुझाएको छैन्। कन्स्ट्रक्सनले सटरको आकार र स्थानअनुसार २० हजार, २५ हजार, ३८ हजारदेखि ५० हजारसम्म भाडा असुल्दै आएको छ।

यसबाहेक ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङ स्थल लगायतका संरचनाबाट पनि कन्स्ट्रक्सनले नियमित रुपमा भाडा उठाउने गरेको छ। २०७५ सालमा निर्माण सम्पन्न भएको सिटी बसपार्कको विवाद नगरपालिका हुँदै अदालतसम्म पुगेपछि दुई वर्षपछि मात्रै सञ्चालनमा आएको थियो। ७ करोड ४४ लाख रुपैयाँको लागतमा बनेको सिटी बसपार्क करिब ४ हजार ५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ।

चैत ४, २०७८ शुक्रबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।