पलविरुद्धको अभियोग पत्रको चिरफार : आठ प्रश्नले देखाएका तथ्य जसले पललाई कारागार पठाउन सक्छ

पलविरुद्धको अभियोग पत्रको चिरफार : आठ प्रश्नले देखाएका तथ्य जसले पललाई कारागार पठाउन सक्छ

काठमाडौँ : नाबालिग बलात्कारको अभियुक्त पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार दर्ता भएको अभियोग पत्रमा जाहेरी अनुसार करणी भएको स्थापित भएको दाबी गर्दै १२ देखि १४ वर्ष सजायको मागदावी गरिएको छ। अभियोग पत्रको अभियोग खण्डमा 'घटनास्थलको मुचुल्का, पीडितको बयान, अन्यको बयान, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, अडियो रेकर्ड र प्रतिवादी शाहको बयानका आधारमा भिडियो सुटिङको क्रममा शाहले १५ वर्ष ८ महिनाकी नाबालिगलाई विवाह गर्छु भनेर फकाएर पीडितको इच्छा विपरीत पटक पटक करणी गरेको स्थापित हुन आएको उल्लेख छ।

शाहमाथि लागेको अभियोग प्रमाणित गर्न अभियोग पत्रमा समेटिएको बयान र प्रमाणको विवरणसँगै अभियुक्त पल शाहले गरेको बयानबाटै अभियोगको माग दाबीलाई बलियो बनाएको देखिन्छ।

पीडितको तर्फबाट इलाका प्रहरी कार्यालय गैँडाकोटमा परेको जाहेरीमा तनहुँ, पोखरा र गैँडाकोटमा पटक-पटक बलात्कार गरेको दाबी गरिएको छ। अभियोग पत्रसँगै घटनासँग जोडिएकाहरूको बयानको महत्त्वपूर्ण बुँदा र सङ्कलन गरिएका प्रमाण पेस गरिन्छ। शाहको हकमा पनि १६ पन्नाको अभियोग पत्रमा पीडित र अभियुक्तको बयान, जाहेरी अगाडि नै घटनाबारे जानकारसँगको बयान र प्राप्त प्रमाणहरू राखिएको छ।

अभियोग पत्रमा राखिएका बयानका महत्त्वपूर्ण अंशहरूले शाहले बलात्कार गरेको पुष्टिका लागि पर्याप्त आधार खुलाएको देखिन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण प्रमाण नाबालिगको स्वास्थ्य परीक्षणको प्रमाण पत्र, नाबालिगसँग सहमतिका लागि भएको छलफलको अडियो त्यसमा भएका संवाद, नाबालिगको बयान महत्त्वपूर्ण देखिन्छ।

पीडित नाबालिग हो या हैन ?

अभियोग पत्रमा उल्लेख भए अनुसार पीडितको जन्म दर्ता प्रमाण पत्र अनुसार उनको जन्ममिती २०६२-०४-०३ हो। जुन दिन घटना भएको हो त्यो दिन उनको उमेर १५ वर्ष ८ महिना ४ दिन रहेको देखिन्छ। यसले उनको जन्म दर्ता काट्ने अर्को प्रमाण पेस नभएसम्म उनी नाबालिग हुन् भन्ने पुष्टि गर्छ। अन्य प्रमाण पेस भएमा पनि कानुनले उमेर हेर्ने मुख्य आधार जन्म दर्ता हैन। अन्य कागजपत्रमा उमेर फरक रहेमा किर्ते भएको मानिने जानकार एक कानुन व्यवसायीले जानकारी दिए।

पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन

नाबालिगको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ‘पीडित बालिकाको Hymen: 7, 5 0’clock position मा च्यातिएको भन्ने शारीरिक परीक्षणबाट देखिएको’ उल्लेख भएकाले समेत बालिकासँग यौन सम्बन्ध भइसकेको देखिन्छ।

घटनाको दिन एकै रिसोर्टमा बसेका हुन् ?

दुवै एकै रिसोर्टमा बसेको शाहले समेत स्वीकार गरेका छन्। शाहसँगै रिसोर्ट सञ्चालकको बयान, दुर्गेश थापाको बयान, क्यामराम्यान अर्जुनप्रसाद तिवारीको बयान, निर्देशक काजिश श्रेष्ठको बयान र रिसोर्टको गेस्ट लग बुकले समेत सात गते उनीहरू एकै रिसोर्टमा बसेको पुष्टि गरेको छ।

पलले रक्सी खाएको हो या हैन ?

शाहको पक्षमा रहेका र विपक्षमा देखिएका, होटलको वेटर अनि शाह आफैँले पनि घटनाको दिन रक्सी खाएको स्वीकार गरेका छन्। नाबालिगले आफूमाथि बलात्कार भएको दाबी गरेको समय र शाह आफ्नो कोठामा गएको समय समेत पुष्टि हुने प्रमाणहरू देखिन्छन् अभियोग पत्रमा।

पल र नाबालिग एकै समय कोठामा गए कि फरक फरक ?

पलसहितको बयानबाट घटनाको दिन शाह रक्सी खाएर बसेको र पीडित पहिल्यै सुत्न कोठामा गएको देखिन्छ। पीडितको बयानसँगै क्यामरामेन, दुर्गेश थापा लगायतकाले बयानबाट पनि यो कुरा पुष्टि हुन्छ। पलले समेत बयानमा पीडित पहिल्यै आफ्नो कोठामा सुत्न गएको र पछि आफू रक्सी खाएर सुत्न गएको स्विकारेका छन्। यसले पलभन्दा अगाडि नै पीडित आफ्नो कोठामा सुत्न गएको देखिन्छ।

पल रक्सी खाएर नाबालिगको कोठामा गएका हुन् ?

पल नाबालिगको कोठामा गएकोबारे पीडितले मात्र दाबी गरेकी छैनन्। पलले समेत रक्सी खाएर पीडित सुतेको कोठामा मध्यरात जाने गरेको देखिन्छ। बयानमा उनले घटनाको दिन नभई घटना भएको दाबी गरिएको दोस्रो दिन पीडित सुतेको कोठामा मध्यरात रक्सी खाएर गएको सकारेका छन्।

उनले बयानमा ' जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालककी छोरीसँग सुतेको कुरा थाहा पाएकाले तिमिलाई एक्लै सुत्न डर लागेको त छैन ल राम्रोसित सुत भनेर आफ्नो कोठामा आएर सुतेको' सकारेका छन्। तर यो पुष्टि हुने प्रमाण उनको दाबी बाहेक दोस्रो छैन। तर पीडितको बयानलाई उनले कोठामा गएको सकारेकाले यो पनि बलियो प्रमाण हुने देखिन्छ।

विवाह गर्छु किन भनेको ?

बयानमा शाहले म्युजिक भिडियोको सुटिङ सकेर काठमाडौँ फर्किएपछि प्रमोसनमा दुवैले सँगै अन्तर्वार्ताहरू दिने गरेको, पीडितले स्टुडियोहरूमा दुवैको सम्बन्धबारे कुरा काट्न थालेको भनेको, विवाह गर्न दबाब दिएको र २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति गरेको तर प्रेम सम्बन्ध भने नभएको दाबी गरेका छन्।

यसमा शाहको बयान र उनको तर्क एक आपसमा काटिएका छन्। दुवैको सम्बन्धका विषयमा कुरा काटेकै आधारमा कोही विवाहका लागि राजी हुन्छ ? यदि दुवैको प्रेम सम्बन्धै थिएन भने त झन् नाबालिगसँग पहिला कानुन अनुसार विवाह गर्न मिल्ने उमेर पुग अनि विवाह गरौँला भनेर कसैले भन्छन् र ?

उनले बयानमा प्रशस्त शङ्का उब्जाउने स्थान छाडेका छन्। अदालतमा बहसको क्रममा यसको विश्वसनीय उत्तर दिन उनका कानुनी सहयोगीलाई सहज हुने देखिदैन। 

अडियो कसको हो ?

बलात्कारका प्रत्यक्षदर्शी हुँदैनन्। अधिकांश घटनामा अकाट्य प्रमाण जुटाउन गाह्रो हुन्छ। तर पल प्रकरणमा नाबालिग पीडित र अभियुक्त शाहबिच सम्बन्ध थियो भन्ने बलियो प्रमाण अडियो छ। अडियो मा पलले प्रेम सम्बन्ध मात्रै हैन यौन सम्बन्ध भएको पनि स्विकारेका छन्। उनले आफ्नो प्रेमिका भएकाले विवाह गर्न नसक्ने भनेका छन्। विवाह गर्दा नाबालिग खुसी भए पनि आफू खुसी नहुनेसम्म बोलेका छन्।

२ मिनेट ३५ सेकेन्डको अडियो मा उनले बोलेको यो अंश अभियोग पत्रमा प्रमाणका रूपमा उल्लेख छ :

यसमा चाहिँ के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन। किनभने उ प्रेगनेन्ट भएको भए मैले गर्दा प्रेगनेन्ट भएको भए समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो। बिहे गर्ने वा स्विकार्ने कि नस्विकार्ने ? अब गर्लफ्रेन्ड ब्वाइफ्रेन्डमा अरूको बाहिर हेर्नुस् अब अहिले यही छ कान्छी। गर्लफ्रेन्ड ब्वाइफ्रेन्डमा अन्डरस्ट्यान्डिङमा भयो होला। हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ विवाह गर्नै पर्छ?

उनले बयानमा यो अडियो आफ्नो नभएको दाबी गर्न सकेका छैनन्। उनले अडियो मा भएको स्वर आफ्नै भएको तर केही स्वर चैँ हैन कि जस्तो लागेको दाबी गरेका छन्। अडियो मा केही छेडखानी भएको हो या सग्लो अडियो हो त्यो प्रहरीमा रहेको प्रविधिले सहजै पत्ता लगाउन सक्छ नै। त्यसमा उनले स्वीकार नगरेको हकमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेको भोइस एनलाइजरले सार्वजनिक गरिएको अडियो र पछि शाहको अडियो लिएर ती दुवै एकै व्यक्ति को हो हैन पुष्टि गर्न सक्छ।

अब के हुन्छ ?

यी अभियोग पत्रमा देखिएका तथ्यहरू भए। अभियोग पत्रमा उल्लेख प्रमाणहरूको सूची हेर्दा बयानको अडियो र भिडियो रेकर्ड समेत गरेको देखिन्छ। अभियोग पत्र दर्तापछि अदालतमा सबै पक्षको बयान सकाएर थुनछेकको बहस सुरु हुन्छ।

अधिकांश घटनामा प्रहरीमा दिएको बयान अदालतमा पुग्दा बदलिन्छ। 'मैले बोलेकै हैन, प्रहरीले धम्क्याएर बोल्न लगाएको जस्ता दाबीहरू अभियुक्तहरूबाट आउने गर्छन्। अब अदालतमा पलले बयान फेर्छन् या अनुसन्धान अधिकारी समक्ष दिएको बयानमा कायम रहन्छन् त्यो अदालती प्रक्रिया सुरु भएपछि खुल्ने नै छ।

यो एक अदालतमा मात्र चलेको मुद्दा भएको भए आजबाट बयान सुरु हुन सक्थ्यो। तर नवलपुरभन्दा अगाडि तनहुँमा अनुसन्धान जारी छ। तनहुँको अनुसन्धान सकिएकै छैन। शुक्रवार थप पाँच दिनको म्याद थपिएको छ। अब यो बिचमा प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव पठाएपछि सरकारी वकिलले नवलपुरमा जस्तै अभियोग पत्र बनाएर दर्ता गरेपछि यो केस प्रहरीबाट औपचारिक रूपमा अदालतमा पुगेछ।

यता तनहुँमा थुनछेक बहस सकिएपछि नवलपुरमा अदालती प्रक्रिया अगाडि बढ्न सक्छ वा जिल्ला अदालत नवलपुरले जिल्ला अदालत तनहुँमै दुवै केसको प्रक्रिया अगाडि बढ्ने गरी फाइल पठाउन सक्छ।

चैत ४, २०७८ शुक्रबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।