अस्पताल जाँदा पीसीआर गर्नै पर्ने बाध्यता हट्यो
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ। कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने मन्त्रालयले जनाएको हो।
मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनुनपर्ने बताएको छ। तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ सूचनामा उल्लेख छ।
मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय तोकेको छ।
चैत ४, २०७८ शुक्रबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।