'मृत्युको मार्ग' भनिने सिद्धबाबामा सुरुङ्ग बनाउन चिनियाँ कम्पनीसँग सम्झौता, ९ महिनापछि निर्माण सुरु हुने
बुटवलः पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ। सुरुङ्ग मार्ग निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी 'चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ'सँग गत साता सम्झौता भएसँगै निर्माणको प्रक्रिया अघि बढेको हो।
यद्यपि, सिद्धबाबा सुरुङ्गमार्ग निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले सुरुङ्ग छेड्ने काम भने कम्तीमा ९ महिनापछि सुरु गर्नेछ। त्यसअघि उसले सुरुङ्गमार्गको कम्प्लिट डिजाइन र वातावरणीय अध्ययन गर्नेछ।
सडक विभागका योजना महाशाखाका प्रमुख शिव नेपालले गत साता ठेक्का सम्झौता भएको र चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन (ईआईए) र सुरुङ्गको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको बताए।
अब कम्पनीले सुरुङ्गमार्ग बन्ने स्थानमा विद्युतका लागि पावर स्टेशन, साइट निरीक्षण, निर्माण सामग्री राख्ने स्थान बनाउनेछ। त्यसपछि मात्र सुरुङ्ग खन्ने काम सुरु हुने उनले बताए।
२०७२ सालदेखि नै चर्चा हुन थालेको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग निर्माणका लागि गत जेठ ९ मा ग्लोबल टेन्डर आह्वान भएको थियो।
त्यसमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनी छानिएको थियो। कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गरेको थियो।
सुरुङ्ग माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको हालको करिब ५ किलोमिटर दूरीलाई छोट्याउने गरी एक हजार एक सय २६ मिटर लम्बाइको हुनेछ। सुरुङ्ग निर्माण थालिएको पाँच वर्षमा आयोजना सम्पन्न गरी नेपाल सरकारलाई बुझाउनुपर्नेछ।
सुरुङ्गमार्ग निर्माणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ०७७ मङ्सिरमै १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए।
लामो समयसम्म चर्चामा रहेको सिद्धबाबामा सुरुङ्गमार्ग बन्ने प्रक्रिया अघि बढेसँगै पाल्पासहित पहाडी जिल्लाहरू गुल्मी, स्याङजाका जनतालाई बुटवल आउन अब जोखिमको यात्रा गर्नुपर्ने छैन।
मृत्यु मार्गको रूपमा चिनिएको सिद्धबाबामा हिउँद वा बर्खा जुनसुकै बेला पनि पहिरो जाने गर्दछ।
कमजोर चट्टानका कारण धुले पहिरो जाँदा यस क्षेत्रमा बर्षेनी कयौँले ज्यान गुमाइरहेका छन्। यसअघि पहिरो नियन्त्रणका लागि केही प्रयासहरू समेत गरिएको थियो।
सिद्धबाबा क्षेत्रमा जाली लगाएर ढुंगा रोक्ने काम गरिए पनि प्रभावकारी भने भएको थिएन। त्यस क्षेत्रमा सुरुङ्गमार्ग बन्नुपूर्व सुरुङ्गमार्गको पूर्वसम्भाव्यता गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशन (एसडीसी) ले गरेको थियो।
नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले अघिल्लो वर्ष सुरुङ्गको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो। उक्त कम्पनीले सो क्षेत्रमा स्यान्डस्टोन र मडस्टोन खालको चट्टान भेटिएको बताएको थियो।
सुरुङ्गमार्ग बने पनि आधा जोखिम कायमै
माथिल्लो सिद्धबाबाबाट मात्र सुरुङ्ग बन्ने भएपछि तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबाको करिब १ किलोमिटर क्षेत्रमा भने जोखिम कायमै हुने भएको छ।
रुपन्देहीको चिडियाखोलामा पर्ने तल्लो सिद्धबाबामा लामो समयदेखि धेरैको ज्यान गएको थियो। लेदोसहित झर्ने पहिरोले ०६५ सम्म त्यहाँ दुःख दिएको थियो। हाल भने त्यहाँ रुखबिरुवा उम्रिएका छन्।
तल्लो सिद्धबाबामा पहिरो जान रोकिएपछि त्यहाँदेखि दोभान हेडबक्ससम्म निरन्तर पहिरो जान थाल्यो। ठूला चट्टानसहितको पहिरो अहिले पनि जाने गरेको छ।
बर्खामा माथिबाट हिले पहिरो र हिउँदमा सुख्खा पहिरो अहिले पनि जाने गर्दछ।
अहिले सुरुङ्गमार्ग तिनाउ गाउँपालिका वडा नं. ३ स्थित उपल्लो सिद्धबाबा मन्दिर नजिकबाट हुनेछ। यसरी सुरुङ्गमार्ग निर्माण भए पनि आधा जोखिम भने कायमै रहनेछ।
चैत ४, २०७८ शुक्रबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।