‘कम्फर्टेबल जोन’को लागि प्रचण्डको बार्गेनिङ

‘कम्फर्टेबल जोन’को लागि प्रचण्डको बार्गेनिङ

काठमाडौं : निर्वाचनपछि पनि सत्ता गठबन्धनको आवश्यकता देखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनका लागि बार्गेनिङ गर्न थालेका छन्।

उनी एकातिर पार्टी कार्यकर्तालाई अरुको भर नपर्न र आफ्नै खुट्टामा उभिन भनिरहेका छन् भने अर्कातिर कांग्रेसले साथ नदिए निर्वाचनमा एमालेसँग पनि तालमेल हुनसक्ने सङ्केत गरिरहेका छन्।

बुधबार माओवादीको उपत्यका विशेष प्रदेश समिति/सम्पर्क समन्वय विशेष प्रदेश समिति/प्रवास समन्वय समितिको वैचारिक-राजनीतिक प्रशिक्षणको सम्बोधनका क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म गठबन्धन नरहने संकेत गरे।

आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन-मरणको लडाइँ भएको पनि उनले बताए। ‘आगामी निर्वाचनमा गठबन्धनबाट जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिनूस्’, उनले कार्यकर्तालाई भने, ‘आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको लडाइँ भएर आउँदैछ। हाम्रा लागि ‘लाइफ एन्ड डेथ’को सवाल भएको छ। जसलाई हामीले जित्नै पर्नेछ।’

कांग्रेसतिर संकेत गर्दै प्रचण्डले भाग छाडिदिन्छ र खाउँला भन्ने आशा नगर्न भने। ‘आगामी निर्वाचनमा गठबन्धन हुन्छ, उनीहरुले छाड्छन् र खाउँला भन्ने छाड्नूस्’, उनले भने, ’हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा उभिएर आफ्नै तागत र बलमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास हामीलाई चाहिएको छ।’ प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने अवस्था आइरहेको कुरा आफूले सबै भौगोलिक सहितका समितिलाई बताएको भन्न भ्याए। 

बिहीबार बुटवल पुगेका प्रचण्डले कांग्रेसले साथ नदिए चुनावी तालमेलको परिस्थिति बदलिने बताए। उनले कांग्रेसका कतिपय नेताहरूले निर्वाचनमा एक्लै जानुपर्ने तर्क गरेको प्रसंग सुनाउँदै कांग्रेसले साथ नदिए निर्वाचनमा एमालेसँग पनि तालमेल हुनसक्ने सङ्केत उनले गरेका हुन्। 

‘प्रतिगमनका विरुद्ध जसरी हामी एक भयौँ, त्यहीअनुसार चुनावमा पनि गठबन्धन जोगाएर एक भएर जाने भन्नेमा छौँ। प्रधानमन्त्री देउवाजी पनि यसमा सहमत हुनुहुन्छ। तर कतिपय नेताले लखेट्न प्रयत्न पनि गर्नुभएको छ’, उनले भने।

उनले गठबन्धन निर्वाचनसम्म रहने वा नरहने कांग्रेसको व्यवहारमा भरपर्ने समेत बताए। ‘राजनीतिमा असम्भव भन्ने केही छैन, राजनीति सम्भावनाको खेल पनि हो’, प्रचण्डको भनाइ थियो।

आफूहरू अन्तिम समयसम्म हालको गठबन्धन बचाउने पक्षमा नै रहेको बताउँदै उनले कांग्रेसले साथ नदिएको खण्डमा संकटको निकास दिन तितो-मिठो भए पनि सहज छलफलबाट निकासका लागि अरू दलसँग छलफल गर्ने समेत बताए।

बुधबार लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता वर्षमान पुनले एमालेसँग पनि चुनावी तालमेलको ढोका खुला रहेको बताए। ‘सत्ता गठबन्धन बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द गरेका छैनौँ।’

माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको पनि उनले जिकिर गरेका छन्। ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने। 

माओवादी नेताको भनाइमा अध्यक्ष प्रचण्डको भनाइ ‘सेफ ल्याण्डिङ’को लागि हो। चुनावी गठबन्धन नबने पनि चुनावको लागि तयार रहने प्रचण्डको सन्देश हो।

‘गठबन्धन गर्ने भन्ने हाम्रो आम नीति हो र चाहेको कुरा हो। तर गठबन्धन होला र चुनाव लडौंला भनेर बस्ने अनि गठबन्धन भएन भने के गर्ने? अरुलाई गठबन्धनमा बाध्य तुल्याउन सकिँदैन,’ माओवादी नेता हितबहादुर तामाङले उकेरासँग भने।

सत्ता साझेदार दल कांग्रेसमा चुनावी गठबन्धनको बारेमा एकमत छैन। सो कुरा माओवादी पंक्तिले नजिकबाट नियालिरहेको छ। ‘एक्लै लड्दा हामी जित्न सक्छौं, गठबन्धनमा भाग लगाउँदा हाम्रो भागमा थोरै पर्छ भन्ने कुरा उनीहरुभित्र पनि उठिरहेको छ, गठबन्धनको बारेमा एकमत छैन। गठबन्धन भएन भने त आफ्नै खुट्टामा टेक्नुपर्यो नि,’ नेता तामाङले भने।

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर प्रचण्डले कूटनीतिक रुपमा अन्य पार्टीलाई सन्देश दिएको हुनसक्ने बताउँछन्। 'कुरा एकातर्फ गरिन्छ, तर सन्देश अन्ततिर दिइन्छ राजनीतिमा। उहाँले प्रमुख प्रतिपक्षी दलसँग पनि कुरा गर्नुभयो। कांग्रेसको दुई धारलाई पनि देखिरहनुभएको छ,' उनले भने, 'समाजवादीलाई पनि देखिरहनुभएको छ। त्यसैका आधारबाट भित्र भएका कुरालाई कूटनीतिक सन्देश पनि दिन चाहेको हुनसक्छ। 

अन्य पार्टीसँग भइरहेका संवाद प्रचण्डको अनुकुल नभएकाले माहोल बनाउन र कार्यकर्तालाई आत्मविश्वास दिन प्रचण्डका कुरा आएको हुनसक्ने पिटरले बताए। ‘ट्र्याक टु डिप्लोमेसी' भनिन्छ यसलाई। मिडियाबाट बोलेर दिइन्छ, कार्यकर्तामाझ बोलेर दिइन्छ। सन्देश दिने तरिकाहरु विभिन्न हुन्छन्। त्यो भित्रका संवादहरु जे-जे भइरहेका छन्, त्यो स्वस्थ भइरहेका छैनन् र उहाँको हित अनुकुल नभएको पनि हुनसक्छ,’ विश्लेषक पिटरले भने।

संघीयता, धर्म निरपेक्षता, समानुपातिक अवस्था माओवादीले ल्याएको तर, अर्कैले अपहरण गर्यो भन्ने बुझाए भएकाले आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने आत्मबल प्रचण्डले कार्यकर्तालाई दिएको हुनसक्ने पिटरको भनाइ छ।

चैत ३, २०७८ बिहीबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।