गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध रहेको गृहमन्त्रीको दाबी

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध रहेको गृहमन्त्रीको दाबी

बुटवल : आगामी निर्वाचनमा सत्ता गठबन्धन एकै भएर जान्छन् या नयाँ गठबन्धन बन्छ भन्नेमा अन्योल बढिरहेको बेला कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले मुलुक अप्ठेरो अवस्थामा रहेको बेलामा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने कांग्रेसको चाहना रहेको दाबी गरे।
खाँण पार्टी सभापति शेरबहादुर देउवा समूहका नेता हुन्। देउवा समूह गठबन्धन एक हुनुपर्ने पक्षमा रहे पनि शेखर कोइराला समूह भने एक्लै चुनावमा जानुपर्ने पक्षमा देखिएको छ। गठबन्धनका अन्य दलका नेताहरू कांग्रेसले गठबन्धन नचाहे एमालेसँग पनि गठबन्धन हुनसक्ने बताउन थालेका छन्।
खाँणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने  दाबी समेत गरे।
अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग सम्झौता (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको भन्दै एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्विकारिएको बताए।
मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्याउने उनले बताए।

चैत ३, २०७८ बिहीबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।