नाबालिग बलात्कार प्रकरण: पल शाहविरुद्ध आजै वा आइतबारसम्म मुद्दा दर्ता हुनसक्ने
तनहुँः नाबालिग बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध गैंडाकोट प्रहरीको अनुसन्धान सकिएको छ। गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका शाहसँग प्रहरीले बयान सकाएर पुनः तनहुँ पठाएको छ।
तनहुँमा प्रहरी हिरासतमै रहेका बखत शाहविरुद्ध नवलपरासीमा भिडियो छायांकनका क्रममा बलात्कार गरेको भन्दै गैंडाकोटमा समेत उजुरी परेको थियो। त्यसपछि तनहुँ प्रहरीले चैत ४ गतेसम्मको म्याद लिए पनि उनलाई त्यहाँ झिकाइएर बयान लिइएको थियो।
अनुसन्धान पूरा गरेपछि जिल्ला प्रहरी कार्यलय नवलपरासीपूर्व (नवलपुर)ले प्रस्तावित राय-सुझाव सरकारी वकिल कार्यालयमा पठाएको डीएसपी दिलीपकुमार गिरीले बताए।
उनले भने, ‘हामीले शाहसँग बयान सकाएर प्रतिवेदन सरकारी वकिललाई बुझाएका छौं। उहाँहरूले आवश्यक अध्ययन गर्नुहोला। प्रहरीले तयार पारेका फाइल अध्ययनपछि सरकारी वकिलबाट अदालतमा मुद्दा दर्ता हुन्छ। उहाँहरूले फाइल अध्ययन गरिसकेपछि आज वा आइतबारसम्म मुद्दा दर्ता गर्नुहुन्छ होला।’
सरकारी वकिल कार्यालय नवलपुरले बिहीबार वा आइतबारसम्म जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
गैंडाकोट प्रहरीका सामु पलले आफूले त्यहाँ नाबालिगको बलात्कार नगरेको बयान दिएका थिए। शाहले तनहुँ प्रहरीसमक्ष पनि नाबालिगको कोठामा छिरे पनि उनीसँग शारीरिक सम्पर्क नभएको बयान दिएका थिए।
ईलाका प्रहरी कार्यालय गैंडाकोटले बलात्कार आरोपित पललाई सरकारी वकिलसमक्ष राखेर बयान लिएको थियो।
यता जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको समय भोलि सकिँदैछ।
तनहुँ प्रहरीले पललाई पक्राउ गरेपछि पहिलो पटक अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यसपछि १२ दिन थप गरिएको समयमा उनलाई नवलपुर लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्का नवलपुरबाट ल्याएर पलमाथि पुनः अनुसन्धान गरिरहेको बताउँछन्। उनले भने, ‘नवलपुरबाट शाहलाई ल्याएपछि हामीले थप अनुसन्धान गरिरहेका छौं। अदालबाट थपिएको म्यादसम्म अनुसन्धान सकिएको अवस्थामा अदालतमा मुद्दा दर्ता हुन्छ। यदि, अनुसन्धान सकिएन भने, पुनः म्याद थप गरेर अनुसन्धान गर्छौं।’
चैत ३, २०७८ बिहीबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।