'द कश्मीर फाइल्स'को कमाइ बढेको बढेकै, सूर्यवंशीदेखि गंगुबाईसम्मलाई पार्यो पछाडि
एजेन्सीः 'द कश्मीर फाइल्स' फिल्मले कमाइ गर्छ भनेर निकै कम आकलन गरिएको थियो। त्यसमाथि बाहुबली स्टार प्रभासको 'राधेश्याम'सँग जुधेको फिल्मले स्क्रिन नै नपाउने हो कि भन्ने पनि चिन्ता थियो।
तर राधेश्यामको बारे नकारात्मक समीक्षा आउन थालेपछि, कश्मीर फाइल्सलाई फाइदा भयो। सुरुमा कसैले नपत्याएको फिल्मलाई समीक्षकहरू पनि निकै राम्रो भनेर लेख्न थाले। माउथ टु माउथ पब्लिसिटी भयो।
पहिलो दिन जम्मा ३ करोड ५५ लाख भारु कमाएको फिल्मले दोस्रो दिन ८ करोड ५० लाखको कमाइ गर्यो। तेस्रो दिनसम्म आइपुग्दा फिल्मको चौतर्फी प्रशंसा भइसकेको थियो। त्यसदिन १५ करोड १० लाखको कमाइ भयो। चौथो दिन पनि १५ करोडकै हाराहारीमा कमाइ गरेको फिल्मले पाँचौँ दिन १८ करोडको कमाइ गरेको छ।
कुल फिल्मले ६० करोड भारुको कमाइ गरिसकेको छ। योसँगै फिल्मले अक्षय कुमारको सूर्यवंशी, आलिया भट्टको गंगुबाई काठियावाडी र रणवीर सिंहको ८३ लाई पछि पारेको छ। रिलिजको पाँचौँ दिनमा सूर्यवंशीले जम्मा ११ करोड २२ लाख, गंगुबाईले १० करोड, ८३ले ६ करोड ७० लाख मात्र कमाइ गरेको थियो।
अब कश्मीर फाइल्स नेपालमा पनि रिलिज हुने भएको छ।
चैत ३, २०७८ बिहीबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।