कृष्ण हमाल मृत्यु प्रकरण: छानबिन समितिको म्याद थप, दोषी उम्कनेमा आफन्तको चिन्ता
सुर्खेत : फागुन २० गते कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणबारे सत्य तथ्य बुझ्नका लागि गठन गरिएको छानबिन समितिको एक हप्ता म्याद थपिएको छ।
फागुन २१ गते बनेको छानबिन समितिले एक हप्ताभित्र घटनाको वास्तविकता प्रशासन समक्ष ल्याउनुपर्ने भन्दै सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा, उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तम प्रसाद शर्मा र कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंह समितिका सदस्य छन्। तर, समितिका सदस्य बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तम प्रसाद शर्मा बारको केन्द्रीय उपाध्यक्षको उम्मेदवार भएर काठमाडौँ गएका कारण छानबिन समितिले थप एक हप्ता म्याद मागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
उनले क्षतिपूर्तिका लागि गृह मन्त्रालयका सचिवसँग कुरा भइरहेको र आरोपितलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।
‘उत्तम प्रसाद शर्मा बारको उपाध्यक्षमा उम्मेदवार भएका कारण उहाँ काठमाडौँ जानुपर्ने भएकोले थप एक हप्ता म्याद थपिएको छ,’प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘१० लाख क्षतिपूर्तिका लागि गृह सचिवसंग पनि कुरा भइरहेको छ र आरोपितमाथि पनि आवश्यक अनुसन्धान भइरहेको छ। दोषीलाई कारबाही गर्न प्रशासनले कुनै पनि कसर बाँकी राख्ने छैन।’
छानबिन समितिले पनि एक हप्ताभित्र घटनाको निष्कर्ष निकाल्ने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ। पहिले तोकिएको जिम्मेवारी अनुसार उक्त छानबिन समितिले फागुन २८ गतेभित्र प्रशासन समक्ष घटनाको सत्य तथ्य विवरण बुझाई सक्नुपर्ने हो। तर, समितिका पदाधिकारीको व्यक्तिगत समस्याका कारण म्याद थपिँदा दोषीले उन्मुक्त पाउने होकी भन्ने चिन्ता आफन्तले गरेका छन्।
‘पहिला एक हप्ताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउँछौँ भनेको समितिले म्याद थपेको देख्दा हामीलाई विभिन्न संका उपसंका जागिरहेका छन्,’ कृष्णका आफन्त सत्य शाहीले भने, ‘म्याद थपेर कतै दोषीलाई बचाउने खेल त होइन्।’ यदी समयमा नै दोषीले कारबाही र पीडितका परिवारलाई न्याय र क्षतिपूर्तिको व्यवस्था नभए फेरि सशक्त आन्दोलन गर्ने शाहीले चेतावनी दिएका छन्। उनलाई कुटपिट गरेर हत्या गरिएको भन्दै कृष्णका आफन्तले सुब्बाकुना प्रहरी पोस्ट सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेर सिं धामीविरुद्ध किटानी जाहेरी दिएका थिए।
फागुन २१ गते शुक्रवार नेपालगञ्जबाट भे१क९२२ नम्बरको ट्रकमा कपडा पसलको सामग्री लगेर कालिकोट जाँदै गरेका हमालसहित तीन जनालाई मापसे सेवन गरेको भन्दै सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज धामीले पक्राउ गरी कुटपिट गरेका थिए।
बिहानीपख हमाल मृत अवस्थामा भेटिएपछि प्रहरीले उपचार गर्न लैजाऊ भन्दै चालकसँग सोही ट्रकमा सुर्खेत अस्पताल पठाएको थियो। अस्पताल पुग्नुभन्दा पहिला नै हमालको मृत्यु भइसकेको अस्पतालले जनाएको थियो।
प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले वीरेन्द्रनगरमा आन्दोलन समेत गरेका थिए। सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था गर्ने प्रतिबद्धता प्रशासनले जनाएपछि कृष्णको शव आफन्तले बुझेर दाहसंस्कार गरेका थिए।
चैत २, २०७८ बुधबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।