लुम्बिनीमा भौगोलिक सूचना प्रणाली लागु भयो
बुटवल : लुम्बिनी प्रदेश सरकारले तथ्याङ्क अद्यावधि गर्न भौगोलिक सूचना प्रणाली लागु गरेको छ।मातहतका कार्यालयले सूचना सार्वजनिक गर्दा तथ्याङ्कमा एकरूपता नभएपछि नयाँ प्रणाली लागु गरेको हो। सङ्घीय संरचनामा जानुअघि जे तथ्याङ्क थिए सरकारले त्यसैका आधारमा काम गर्दै आएको थियो।
प्रदेशको कृषि विकास निर्देशनालयले भौगोलिक सूचना प्रणाली लागु गरेको हो। अब भौगोलिक रूपमा सन्दर्भ गरिएको जानकारीको विश्लेषण र प्रदर्शन हुनेछ। सूक्ष्म अध्ययन र सही तथ्यांककालागि भौगोलिक सूचना प्रणालीको प्रयोग हुने कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका नापी अधिकृत विष्णु डाँगीले बताए।
निर्देशनालयले आफ्ना मातहतका कार्यालयका कर्मचारीलाई भौगोलिक सूचना प्रणाली बारे तीन दिने क्षमता अभिवृद्धि तालिम समेत दिइसकेको छ।
प्राविधिकहरू प्रदेशका १२ वटै जिल्लामा रहेका कृषि र पशुपन्छीतर्फ सम्बन्धित क्षेत्रमै पुगेर तथ्याङ्क अद्यावधि गर्नेछन्। ठिक भए नभएको जिपिएसको माध्यमबाट प्रमाणित गरी सही तथ्याङ्क सार्वजनिक हुने बताइएको छ।
बाली संरक्षण प्रयोगशाला, खजुरा, बाँकेकी बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले, प्रयोगशालाले रोग किराको विवरण राख्न सहज हुने बताइन्। आधिकारिक तथ्याङ्क आउने हुँदा त्यसैका आधारमा काम गर्दा प्रभावकारी हुने उनको विश्वास छ।
प्रशिक्षण तालिम पश्चात् कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन गैरेले कार्यक्षेत्रमा गएर सुरुमै सही र प्रमाणित सूचना निकाल्न भौगोलिक सूचना प्रणाली लागू गर्ने बताए।
चैत २, २०७८ बुधबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।