बालकोट र बुढानीलकण्ठका रबर स्ट्याम्प आइजिपी
प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाको समयमा धेरैले शैलेशकुमार थापा क्षेत्रीलाई संगठन प्रमुख बनाउन लबिङ गर्दा भन्थे, 'उनी कुनै नेताप्रति हैन, संगठनप्रति लोयल छन्।'
थप तर्क आउँथ्यो, 'उनी लामो समय सचिवालयमा सहयोगीको रुपमा काम गरेकाले नेतृत्वभन्दा सहजीकरणको बानी बसेको छ। बोल्ड निर्णयमा हड्बडाउन सक्छन्। तर उत्कृष्ट काम गर्न नसके पनि निकृष्ट काम भने गर्दैनन्। संगठनलाई धेरै सपार्न नसके पनि बिगार्दैनन्।'
राजनीतिक दलका नेताहरुसँगको दूरी अनि प्रहरी संगठनमा काम गर्दाको आर्थिक अनुशासनको बानीले पनि लय बिगारेको संगठनलाई उनले अलिकता भए पनि लयमा ल्याउने आश धेरैमा देखिएको थियो।
तर, जाँदाजाँदै उनै क्षेत्रीले संगठनको लय मात्रै बिगारेनन् , भाताभुङ्ग बनाएर दलको पोल्टामा सुम्पिदिए संगठनका उपल्ला पदहरु।
अब उनको कार्यकाल धेरै बाँकी छैन। दलको स्वार्थमा नतमस्तक बनेवापत कुनै भित्री डिल नगरेको भए उनी २०७९ वैशाख १९ मा अनिवार्य अवकासमा जानेछन्।
त्यस्तै दुई महिना हाराहारीको कार्यकाल बाँकी छ। तर उनले जाँदाजाँदै पनि संगठनका सदस्यहरुको बृत्ति विकासमा न अडान लिन सके न सहजीकरण नै गर्न सफल भए।
जाँदाजाँदै उनै क्षेत्रीले संगठनको लय मात्रै बिगारेनन् मात्रै, भाताभुङ्ग बनाएर दलको पोल्टामा सुम्पिदिए संगठनका उपल्ला पदहरु।
नेताहरुबाट कमै प्रभावित हुन्छन् भन्ने उनीबारे जुन विश्लेषण सुनिएको थियो, ती सबै उल्टा रहेछन् भन्ने उनैले पुष्टि गर्दै आफ्नो कार्यकाललाई प्रहरी संगठनको बृत्ति विकासमा सबैभन्दा धेरै लय बिग्रिएको समयको रुपमा संगठनको इतिहासमा दर्ज गरे।
उनी प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएर प्रहरी प्रधान कार्यालय नक्सालमा त बसे। तर संगठन पहिले बालकोट र बालुवाटारले चलायो त अहिले बुढानीलकण्ठ र बालुवाटारले। उनी केवल रबर स्ट्याम्प आइजिपी मात्र देखिए। नेताहरुले आफू अनुकुल निर्देशन दिए। उनले इमान्दार सेवक भनेर खुरुखुरु आइजिपीको स्ट्याम्प हानेर वैधता दिए।
उनको कर्यकालमा सबैभन्दा धेरै भत्कियो बढुवा पद्धति। कसलाई किन बढुवा गर्ने अनि बढुवाको आधार के हो? उनको कार्यकालको पहिलो बढुवा बाहेक अन्य समयको बढुवाले कुनै आधार पुष्टि गर्न सक्दैन।
प्रहरी महानिरीक्षक भए लगत्तै एआइजी बढुवा सिफारिसताका उनले अडान लिएकै हुन्। नत्र अहिलेका एआइजी प्रद्युम्न कार्कीलाई एआइजी हुन गाह्रै थियो। भर्खर दर्ज्यानी चिह्न लगाएर पदबहाली गरेका प्रहरी महानिरीक्षकलाई शक्तिकेन्द्रसँग टक्कर लिनु जोखिम थियो। तर, उनले प्रारम्भमै जोखिम लिए।
'कार्कीलाई किन ?' भनेर निहुँ खोजेका तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीलाई सम्झाउन सके। सहजीकरणको अनुभव देखाए उनले। उनको कार्यकालको एआइजीमा पहिलो एआबढुवा त्यति धेरै गनगन गर्नुपर्ने स्थान राखिदिएनन्।
त्यसपछिका हरेक सरुवा होस् या बढुवामा उनको लय बिग्रिँदै गयो। त्यो क्रम जाँदाजाँदै पनि कायमै रह्यो। अब कार्यकाल दुई महिना मात्र बाँकी छ। यो समय एक खालको सेरेमोनियल हो। अवकासका लागि मानसिक र प्रशासनिक रुपमा तयार हुने समय यही हो। निवासमा रहेका कपडा पट्टाउने समयमा भएको डिआइजीबाट एआजीको बढुवा सिफारिसमा मसी चोप्दा उनले पहिलो पटक राखेको अडान सबै धुलो बनाए।
उनको कर्यकालमा सबैभन्दा धेरै भत्कियो बढुवा पद्धति। कसलाई किन बढुवा गर्ने अनि बढुवाको आधार के हो? उनको कार्यकालको पहिलो बढुवा बाहेक अन्य समयको बढुवाले कुनै आधार पुष्टि गर्न सक्दैन।
उनले 'यस्तो त हुन्न' भनेको भए यति छोटो अवधिका लागि सरकारले पक्कै उनीमाथि कारबाही अगाडि बढाउने सम्भावना थिएन। चुनावको मुखमा कसले लिने यो रिक्स? न त नेता रिसाएर नै उनको कार्यकालमा कुनै ठूलो प्रभाव पर्थ्यो।
'म दुई महिनाको आइजिपी हुँ, अब बिग्रिँन दिन्न' भनेर अडान मात्र लिएको भए वैशाख २० पछि अर्को आइजिपीले बढुवा सिफारिस निकाल्थे वा उनले भनेको कार्यान्वयन हुन्थ्यो। यत्ति गर्न सकेको भए मंगलबार बेलुकाको सूची पक्का बदलिने थियो। रिसाउँदै हस्ताक्षर गर्नुपर्यो नि भनेर लाज ढाक्ने असफल प्रयास गर्नुपर्ने नै थिए। बसन्तकुमार पन्त, धिरजप्रताप सिंह अनि रविन्द्रसिंह धानुनको नाम मात्र समेटिने थिएन सूचीमा।
तर मंगलबार बेलुका घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्तकुमार लामा, उत्तमराज सुवेदीहरुका लागि उनले आफ्नो अनुहार दिङदिङ लाग्ने बनाए।
पन्तलाई मात्र नटिपेको भए सिनियर भए पनि डेढ महिनाका लागि एआइजी बनाउन चाहेनछन् भन्ने देखिन्थ्यो। तर डेढ महिना अवधि बाँकी रहेका पन्तलाई एआइजीको दर्ज्यानी चिह्न लगाउन राजी हुँदा उनले वरिष्ठतामा अगाडि रहेका घनश्याम, सुधो प्रहरी अधिकृत प्रकाशजंग अनि दिएको काम खुरुखुरु गर्ने ईश्वबाबुलाई पाखा लगाउँदै उनीहरुको स्यालुट कसरी ग्रहण गर्ने होला भन्ने वास्तै गरेनन्।
एसएसपीबाट डिआइजी बढुवा अनी पटक-पटक एआइजीको एक-एक दरबन्दी थप्दै बढुवा गर्दै गर्दा धिरजप्रतापमाथि अगाडिबाटै अन्याय भएकै हो। उनी अहिले बढुवा सिफारिसमा पर्नु हिजो गरिएका पापको प्रायश्चित मान्न सकियो। तर, धानुकको नाम एआइजी बढुवाको सिफारिसमा मुद्रण हुँदै गर्दा उनले उत्तमराज सुवेदी लगायतले 'कसरी सर?' भनेर सोधे भने के जवाफ दिने भनेर वास्ता गरेको देखिएन।
प्रहरी संगठनमा प्रहरी महानिरीक्षकले जे चाह्यो त्यो मात्र हुन्छ भन्ने छैन। बिचौलियादेखि दलालसम्मको तीर छेक्न सक्नुपर्छ। राजनीतिक स्वार्थ त हुने नै भए। प्रशासनिक प्रेसर पनि उस्तै हुन्छ नै। त्यही छेकेर संगठनले पाएको दायित्व पूरा गर्दै संगठन र संगठनको सदस्यको हितमा काम गर्न सक्छन् भनेर त नेतृत्वको कुर्सीमा राख्ने हो। उनले 'म किन आइजिपी हुने भनेर लबिङ गर्दा भनेको पनि यही त होला !
प्रहरी महानिरिक्षक अडिने हो भने दबाबले मात्र काम पनि हुन्न। त्यो त उनले प्रद्युम्न कार्कीलाई डिआइजीमै छाड्न आएको दबाब थेगेर आफैंले समेत सफल परीक्षण गरेका नै हुन्।
त्यसमा पनि जाँदा-जाँदैका प्रहरी महानिरीक्षकले चाहेमा आफ्नो कार्यकालमा भत्किएका केही लयहरु ट्र्याकमा ल्याउन सक्थे। सपार्न नसक्लान् तर बिगार्नबाट रोक्न त सक्थे।
अवकासकालको राजनीतिक नियुक्तिको लोभ नगर्ने भए आइजिपीले गृहमन्त्री हैन, प्रधानमन्त्रीलाई तिरिमिरी खेलाउन सक्छन्। गृहमन्त्रीले हुन्नभन्दा हेमबहादुर गुरुङले साढे चार सय प्रहरी निरीक्षकको सरुवा निकालेर तिरिमिरी बनाएको इतिहास उनले बिर्सिएछन्।
उनको कार्यकालको यो नै पहिलो ब्लन्डर हैन। बढुवामा यस्ता टन्नै ब्लन्डर छन्। पहिलो ब्लन्डर विश्वराज पोखरेलको एकल एआइजी बढुवा। दोस्रो शहकुल थापालाई संगठनको आइजीपी बनाउन भक्तपुर समूहले खेलेको खेलमा सहमत भएर एआइजीको एकल दरबन्दी थप्न र त्यसैमा थापालाई नै बढुवा सिफारिस गर्न राजी हुनु थियो।
एसपीसम्मको सरुवाको अधिकार बोकेर बसेका प्रहरी महानिरीक्षकले प्रहरी जवानको सरुवा गर्ने हैसियत कायम गर्न सकेनन् आफ्नो कार्यकालमा। एमाले नेतृत्वको सरकारमा त चिप्लिरहेका थिए उनी, नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनेपछि त लत्रिए नै।
थापाको एकल बढुवाको स्वार्थ उनको ब्याचमा रहेका धिरजप्रताप, उत्तमराज लगायतका अब्बल प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षको रेसबाट पर धकेल्नु बाहेक अर्को कुनै थिएन।
थापाको कार्यक्षमता अनि दक्षताबारे त उनी पक्कै जानकारै हुनुपर्छ सिनियर प्रहरी अधिकृत भएको नाताले। महेश बस्नेत लगायतकाको सपना पूरा गराउन उनी राजी भए र ब्याचमा सबैभन्दा कमजोर थापालाई एआइजीको दर्ज्यानी चिह्न लगाए। गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणकी साथी भएकै योग्यताको आधारमा पूजा सिंह एसएसपीबाट डिआइजीमा बढुवा भइन्। 'मैले त हुन्न भनेको नि' भने पनि यसमा पनि उनी राजी भएकै हुन्। नत्र बढुवा कहाँ सम्भव थियो र !
यी त बढुवाका फेहरिस्त न हुन्। सरुवाका घनचक्करहरु धेरै छन् यस्ता। एसपीसम्मको सरुवाको अधिकार बोकेर बसेका प्रहरी महानिरीक्षकले प्रहरी जवानको सरुवा गर्ने हैसियत कायम गर्न सकेनन्। एमाले नेतृत्वको सरकारमा त चिप्लिरहेका थिए नै उनी तर नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनेपछि त लत्रिए नै।
आफ्नो कार्यकालमा प्रहरी संगठनका सदस्यहरुमा न्याय भयो भन्ने सामान्य सन्देश समेत दिन सकेनन्। जाबो एकाउन्टेन्टहरुको समेत सरुवा निकाल्न नसक्ने निरीह प्रहरी महानिरीक्षक बने उनी। अब त्यही दुई महिना हाराहारी त हो उनको कार्यकाल। यो त भक्तपुर र नक्साल गर्दैमा बितिहाल्छ नि।
चैत २, २०७८ बुधबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।