अब २ हजारमै भ्रूणमा वंशाणुगत रोगबारे जानकारी पाउन सकिने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरु

अब २ हजारमै भ्रूणमा वंशाणुगत रोगबारे जानकारी पाउन सकिने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरु

काठमाडौँ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक गर्भमा रहेको भ्रूणको अवस्था पत्ता लगाउने जाँच सुरु भएको छ। वंशाणु तथा क्रोमोजोम भएका समस्याका कारण गर्भको भ्रूणको अवस्था कस्तो छ भन्ने पत्ता लगाउने जाँच फागुन पहिलो साताबाट सुरु भएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए।

सूचना अधिकारी गुप्ताले भने,‘गर्भमा रहेको भ्रूणको स्वास्थ्य अवस्था पत्ता लगाउन प्रिनेटल अन्यूप्लोइडी  रिस्क एसेस्मेन्ट जाँच सुरु गरेका छौँ।’

गुप्ताका अनुसार सरकारले सिमेन्स कम्पनीको ‘इम्युलाईट २००० एक्सपी सिस्टम’को मेशिन खरिद गरेपछि प्रयोगशालामा सो जाँचको सुरु भएको हो। जुन मेशिनले गर्भमा रहेको भ्रूणको वंशाणुगत तथा क्रोमोजोमजन्य रोग छ की छैन भन्ने पत्ता लगाउँछ।

प्रयोगशालाका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. फाहद आलमले एक जना गर्भवती महिलाको यस्तो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइसकेको जानकारी दिए। परीक्षणको नतिजामा ती महिलाको गर्भको भ्रूण सामान्य अवस्थामा नै रहेका पत्ता लागेको आलमले बताए।

उनले भने,‘एक जना महिलाको परीक्षण गरिएको थियो। उहाँको गर्भको भ्रूणमा रोगको जोखिम देखिएन।’

भ्रूणको के–के पत्ता लाग्छ?

प्रयोगशालाका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. आलमका अनुसार इम्युलाईट मेशिनले विशेष गरी गर्भमा रहेको भ्रूणको टाउकाको राम्रो विकास भए-नभएको तथा बनावट मिले नमिलेको पत्ता लगाउन सकिन्छ। भ्रूणको मस्तिष्कको विकासको अवस्था पत्ता लगाउन सकिन्छ। भ्रूणको खप्परको राम्रो विकास भए÷नभएको तथा डाउनसिन्ड्रोम लगायत रोगको पहिचान गर्न सकिने डा. आलमले बताए।

त्यसै गरी यस्तो जाँचले मेरुदण्डको राम्रो विकास भए-नभएको पत्ता लगाउन सकिन्छ। भ्रूणको शरीर बाहिर मेरुदण्ड निस्किएको हुन सक्छ। यस्तो समस्या पत्ता लगाउन सकिने आलमले जानकारी दिए।

गर्भको भ्रूणमा डाउनसिन्ड्रोम जस्तो समस्या हुनुलाई चिकित्सकीय भाषामा ‘ट्राइजोमी २१’ भनिन्छ भने मेरुदण्डको समस्या हुनुलाई ‘न्युरल ट्युब डिफेक्ट’ भनिन्छ। डा.आलमले भने,‘इम्युलाईट मेशिनले भ्रूणको ट्राइजोमी २१ र न्युरल ट्युब डिफेक्ट पत्ता लगाउन मद्दत गर्छ।’

यसरी हुन्छ परीक्षण

इम्युलाईट मेशिनको सहायताले गर्भमा रहेको भ्रूणको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन विशेष गरी तीन वटा विधि अपनाइन्छ। ती विधि हुन्,–गर्भवतीको व्यक्तिगत विवरण, अल्ट्रासाउन्ड रिपोर्ट र इम्युलाईट मेसिनमार्फत जाँच गरिएको रगतको रिपोर्ट। जुन जाँचलाई ‘प्रिनेटल अन्यूप्लोइडी  रिस्क एसेस्मेन्ट’ भनिन्छ।

डा. आलमका अनुसार गर्भमा रहेको भ्रूणको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन इम्युलाईट मेशिनले जाँच गर्नु पूर्व गर्भवतीको व्यक्तिगत तथा स्वास्थ्य लगायतको विवरण बारेमा बुझिन्छ। त्यसपछि हालसालै गरेको गर्भावस्थाको जाँच तथा भिडियो एक्स–रे (युएसजी) रिपोर्ट हेरिन्छ।

जसले भ्रूणमा हुन सक्ने सम्भावित रोग भए नभएको धेरै हदसम्म थाहा पाउन सकिन्छ। गर्भवतीको व्यक्तिगत विवरण र भिडियो एक्स-रे रिपोर्टको अध्ययनपछि गर्भवतीको रगत सङ्कलन गरिन्छ। गर्भवतीको रगत लिइसकेपछि इम्युलाइट मेशिनमा ‘प्रिनेटल अन्यूप्लोइडी  रिस्क एसेस्मेन्ट’ जाँच सुरु हुन्छ।

११ देखि १४ हप्ता सम्मको गर्भको भ्रूणको यस्तो जाँचलाई ‘डबल मार्कर टेस्ट’ भनिन्छ। जसमा ‘पीएपीपी–ए’ र ‘टोटल बी–एचसीजी’ जाँच पर्छन्।

त्यसै गरी १५ देखि २० हप्ताको गर्भको भ्रूणको जाँचलाई ‘ट्रिपल मार्कर टेस्ट’ भनिन्छ। जसमा ‘एएफपी, बी–एचसीजी’ र ‘अनकन्जुगेटेड इस्ट्रियोल’ जाँच पर्छन्।

यी दुवै किसिमका जाँचले गर्भावस्थामा रहेको भ्रूणको अवस्था पत्ता लाग्ने डा. आलम बताउँछन्। जुन जाँच गर्भवतीको रक्त परीक्षणबाट हुन्छ। यो एक किसिमको ‘स्कृनिङ जाँच’ हो।

गर्भवतीको स्वास्थ्यलगायतको व्यक्तिगत विवरण, भिडियो एक्स–रेको रिपोर्ट र रगतको जाँचको रिपोर्टलाई इम्युलाइट मेसिनको सफ्टवेयरमा राखिन्छ। निश्चित प्रक्रिया अपनाएपछि जाँचको प्रक्रिया सकिन्छ। त्यसपछि इम्युलाइट मेसिनको सफ्टवेयरमार्फत वंशाणु तथा क्रोमोजोमका कारण गर्भको भ्रूणमा कुनै रोगको समस्या छ वा छैन भन्ने जोखिम पत्ता लाग्ने डा. आलमले जानकारी दिए। उनले भने,‘यस्तो जाँचपछि वंशाणु र क्रोमोजोमको समस्याबाट भ्रूणमा हुने रोगको जोखिम धेरै वा कम छ भन्ने थाहा हुन्छ।’

गर्भमा रहेको भ्रूणमा रोगको जोखिम धेरै देखिएको खण्डमा डाउनसिन्ड्रोम जस्ता वंशाणु तथा क्रोमोजोमको समस्या हो÷हैन भन्ने यकिन गर्न थप परीक्षण आवश्यक हुन्छ। यस्तो यकिन गर्ने ल्याब परीक्षणलाई ‘क्यारियो टाइपिङ’ जाँच भनिने डा. आलम बताउँछन्।

‘साइड इफेक्ट छैन, सस्तो छ’

इम्युलाइट मेसिनको सहायताले ‘प्रिनेटल अन्यूप्लोइडी  रिस्क एसेस्मेन्ट’ जाँच गर्नु सुरक्षित भएको डा. आलम बताउँछन्। उनले भने,‘यो गर्भवतीको रगतबाट जाँच गरिने भएकाले सुरक्षित छ। कुनै पनि साइड इफेक्ट हुँदैन।’

त्यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘प्रिनेटल अन्यूप्लोइडी  रिस्क एसेस्मेन्ट’ जाँच गर्दा सस्तो र रिपोर्ट पनि छिटो आउने सूचना अधिकारी गुप्ता बताउँछन्। उनी भन्छन्,‘सामान्यतया यो जाँचको १५ सयदेखि दुई हजार खर्च लाग्छ। तीन दिनमा रिपोर्ट दिन सकिन्छ।’

यस्तो जाँच गर्नाले भ्रूणको स्वास्थ्य अवस्था थाहा हुने भएकाले थप जाँच गर्नुपर्ने वा नपर्ने बारे यकिन गर्न सकिने आलम बताउँछन्।  त्यति मात्रै हैन गर्भको भ्रूणमा जटिल किसिमको स्वास्थ्य समस्या भए त्यस्तो बच्चा जन्माउने वा नजन्माउने भन्ने बारे पनि गर्भवती तथा चिकित्सकलाई निर्णय लिन सहज हुन्छ।

श्रीमान्–श्रीमतीमध्ये कसैमा वंशाणु रोगको समस्या भए भ्रूणको स्वास्थ्य अवस्था थाहा पाउन पनि यस्तो जाँच उपयोगी हुने डा. आलमले जानकारी दिए। तर, गर्भमा रहेका भ्रूणको अवस्थाको ‘प्रिनेटल अन्यूप्लोइडी रिस्क एसेस्मेन्ट’ जाँचको सत प्रतिशत नतिजा भरपर्दो हुन्छ नै भन्ने यकिन हुँदैन। डा. आलमका अनुसार ‘डबल मार्कर टेस्ट’को नतिजा करिब ९० प्रतिशत भरपर्दो हुन्छ भने ‘ट्रिपल मार्कर टेस्ट’ को नतिजा करिब ८० प्रतिशत भरपर्दो हुन्छ।

चैत १, २०७८ मंगलबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।