खजुराबाट प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने प्रदेश सरकारको तयारी, सांसद र स्थानीय तह असन्तुष्ट

खजुराबाट प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने प्रदेश सरकारको तयारी, सांसद र स्थानीय तह असन्तुष्ट

बुटवल : पूर्ववर्ती सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व विद्यालयलाई अन्यत्र सार्न सरकार सक्रिय भएपछि विवाद बढेको छ। तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलेको पालामा खजुरामा विश्वविद्यालय खोल्ने निर्णयसँगै बजेट समेत छुटाएको थियो। गठबन्धन बदलिएसँगै कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि विश्वविद्यालय अन्तै सार्ने तयारी भइरहेको छ।

लुम्बिनी प्रदेश योजना आयोगले विश्वविद्यालयलाई दाङ वा कपिलवस्तु  लैजाने तयारी गरेको छ। बाँकेको खजुरामा स्थापना गर्ने गरी पूर्ववर्ती मन्त्रिपरिषद्ले निर्णय समेत गरिसकेको छ। तर अहिले प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुरा अनुपयुक्त भएको भन्दै विश्वविद्यालय अन्यत्र सार्ने योजना अगाडि बढाएका छन्। उनलाई मुख्यमन्त्री केसीको समेत साथ छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि बाँके खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने गरी बजेट विनियोजन भइसकेको अवस्थामा विश्वविद्यालय अन्यत्र सार्ने योजना अघि बढेपछि पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद आरती गौतम सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्।

सांसद गौतमले लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरेर सरकारको नीति कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने निर्णय सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र मुख्यमन्त्रीलाई बुझाइएको बताइन्।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपती सहितको टोली मुख्यमन्त्रीलाई भेट्न समय लिएर बाँकेबाट आएका थिए। मुख्यमन्त्री कपिलवस्तुको कार्यक्रममा पुगेको बेलामा उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रदेश योजना आयोगका उपाध्यक्षले अघिल्लो साता पत्रकार सम्मेलन गरेर प्रदेश विश्वविश्वबिद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको देवचुली वा कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको खुलाएका थिए।

विश्वविद्यालयका लागि सय बिगाहा जग्गा सिफारिस सहित जग्गा छुट्टाउने काम समेत गरिसकेको खजुरा गाउँपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाइसकेको छ। सत्ता गठबन्धन भित्रका दलहरूले समेत बैठक गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजाने प्रयास नगर्न चेतावनी दिँदै मुख्यमन्त्री र योजना आयोगको षडयन्त्र कुनै हालतमा पूरा हुन नदिने बताए।

लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा स्थापना गर्न खजुरा गाउँपालिका सहित बाँके जिल्ला समन्वय समितिबाट आवश्यक गृहकार्य पूरा गरिसकेको जनाइएको छ। खजुरा गाउँपालिकाले सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता पत्र जिल्ला समन्वय समितिमा पठाइसकेको छ भने बाँके जिल्ला समन्वय समिति जिल्ला सभाले खजुरा गाउँपालिकाद्वारा पठाइएको उक्त प्रस्ताव अनुमोदन गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पठाएको छ। सोही सिफारिसका आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममा पारित गरी आव ०७६-०७७ मा ३ करोड, ०७७-०७८ मा ७ करोड र चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरेको छ।

प्रदेशसभाबाट पास भएको सरकारको कार्यक्रममा खजुरामा प्रदेश विश्व विद्यालय स्थापना गर्ने घोषणालाई योजना आयोगले परिवर्तन गर्न नमिल्ने बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी(नमुना)ले बताइन्।

चैत १, २०७८ मंगलबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।