सिद्धार्थ बहुमुखी क्याम्पस कलंकीका विद्यार्थीलाई अभिमुखीकरण तालिम 

सिद्धार्थ बहुमुखी क्याम्पस कलंकीका विद्यार्थीलाई अभिमुखीकरण तालिम 

काठमाडौँ : सिद्धार्थ बहुमुखी क्याम्पस कलंकीका विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने विषयका सम्बन्धमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। 

मंगलबार सञ्चालित एक दिने उक्त अभिमुखीकरण सम्बन्धी कार्यक्रममा समाजसेवा, मनोविज्ञान तथा व्यवस्थापनका क्षेत्रमा अब्बल विज्ञहरूले विद्यार्थीलाई प्रशिक्षित गराएका थिए। कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले निरन्तर प्रयास गर्ने हो भने विद्यार्थी तथा समाजका जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिका लागि पनि सफलता हासिल गर्न कठिन नहुने बताए। 

औपचारिकरुपमा कक्षा आठसम्मको मात्रै पढाइ पुरा गरेका दाहालले उक्त समाजमार्फत बाटामा कठिन अवस्थामा रहेका वृद्ध-वृद्धालाई उपचार गरी सम्बन्धित परिवारमा पुनर्मिलन, सडक दुर्घटनामा परेर घाइते भएका कुकुर, बिराला, गाई, बाच्छा, पेरवाहरुको उपचार तथा उद्धार तथा विविध प्रकारको समस्या परेका नागरिकलाई खाना खुवाउनेदेखि पालनपोषण लगायतका काम गर्दै आएका छन्। 

कार्यक्रममा कलेजका अध्यक्ष गोविन्द घिमिरेले विद्यार्थीलाई पढाइसँगै समाजका लागि आवश्यक पर्ने ज्ञान र सीप बाँड्न सक्ने सीप प्रदान गर्ने प्रतिबद्धता जनाए। उक्त कलेजबाट उत्पादित विद्यार्थीमध्ये न्यूनतम दश प्रतिशतलाई संस्थाले रोजगारीमा पदस्थापन गराउने उनले प्रतिबद्धता जनाए। 

कलेजका प्राचार्य शिवराम रिजालले फरक क्षमता र रुचि भएका विद्यार्थीको स्वभाव अनुसार पढाउने बताए। लोक सेवा आयोग तथा अन्य सरकारी क्षेत्रमा रोजगारीमा जान चाहने विद्यार्थीका लागि क्याम्पसमै अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने पनि उनले सो अवसरमा जानकारी गराए। 

चैत १, २०७८ मंगलबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।