आठ महिनादेखि हुम्लाको तीन वडामा छैन विद्युत् सेवा
हुम्लाः जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडामा आठ महिनायता विद्युत् सेवा अवरुद्ध छ। करिब तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।
साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन।
ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्। उक्त विद्युत् आयोजनाको नहरमा ठाउँठाउँमा जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।
चैत १, २०७८ मंगलबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।