गठबन्धनबाट मधेशलाई मुक्त गरौंः प्रभु साह

गठबन्धनबाट मधेशलाई मुक्त गरौंः प्रभु साह

उनले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको आरोप लगाए। पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महँगी र अपराध बढेको जिकिर गर्दै गठबन्धनलाई बिदाइ गर्नुपर्ने बताए । गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरू रोक्ने काम गरिरहेको उनले बताए। 

लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप छ। आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेबापत मन्त्री पद दिने, भ्रष्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाइ गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, तपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ। दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउँछ। तर हाम्रो देशमा जनविरोधी तत्त्वहरू सम्मिलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ । सरकार बनाए वापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन् । अदालतले सघाएसम्म ठिक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ ।जहिलेदेखि गठबन्धन सरकार आएको छ देशमा लोकतान्त्रिक मान्यताको हत्या भएको छ, गठबन्धन नाङ्गै नाच नाचिरहेको छ।

तपाईहरुले भर्खरै देख्नुभयो गठबन्धनका एउटा ठग फोरमको एक जना मेयर रंगेहात घुस लिइरहेको अवस्थामा समातियो। तर गठबन्धनले भ्रष्टाचारीलाई नछोडे आन्दोलन गर्ने धम्की दिइरहेको छ। यस्तो त आचरण छ गठबन्धनको यसबाट के अपेक्षा गर्ने ? उनले थपे गठबन्धन आएदेखि भ्रष्टाचार बढेको छ, अपराध बढेको छ, लुट-आतंक बढेको छ । यस ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्छ, देशलाई मुक्त गर्नुपर्छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रौतहट इन्चार्ज उपेन्द्र साह, सह–इन्चार्ज उद्धव रेग्मी, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरूको सहभागिता रहेको थियो।

फागुन ३०, २०७८ सोमबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।