पूर्वलडाकुले दुखद् जीवन बिताएको स्वीकार्दै प्रचण्डले भने, 'गर्व गर्नेहरू पनि छन्, माओवादीले बर्बाद बनाए भन्नेहरू पनि छन्'

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवादित बनेको गायक प्रकाश सपूतको गीत 'पिर'माथि आफ्नो धारणा राखेका छन्। उनले माओवादी विद्रोहप्रति गर्व गर्ने र विरोध गर्ने दुवै पक्ष भएकाले यस विषयमा कोही पनि उत्तेजित हुन नपर्ने बताएका छन्।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीका पूर्वलडाकुहरू अझै पनि विचलित नभएको र आफूलाई अप्ठ्यारो परेको खण्डमा जस्तोसुकै त्याग गर्न तयार रहेको पनि बताएका थिए। उनले पूर्वलडाकुहरू दुखद् जीवन बिताउन बाध्य भएको स्वीकार्दै भने, 'म चाहे कतारमा जाँदा होस् या मलेसिया जाँदा होस् सयौँ-सयौँको सङ्ख्यामा जनयुद्धमा सहभागी लडाकुहरू त्यहाँ दुखपूर्ण जीवन बिताएका छन्। मैले जतिलाई भेटेँ त्यहाँ त्यस्तो दुःख गरेर पनि मलाई भन्नुहुन्थ्यो- कमरेड फेरि पनि तपाईंलाई अप्ठ्यारो पर्यो भने भन्नुस् जस्तो पनि त्याग गर्न तयार छौँ। हामी बिग्रेका छैनौँ। हामी विचलित छैनौँ।'
उनले पूर्वलडाकुको दूर्दशा देखाइएको प्रकाश सपूतको हालै सार्वजनिक गीतबारे पनि कोही उत्तेजित हुन नपर्ने बताएका छन्। विद्रोहका समयमा राज्यका पक्षबाट पनि दमन र अत्याचार भएको बताउँदै उनले भने, 'तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविकरूपमा लिनुपर्छ। अहिले मात्र होइन सयौँ वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ।'
प्रचण्डका अनुसार माओवादी पार्टीले शान्ति प्रक्रियामा आएर उत्पीडित वर्गले केही न केही हकअधिकार पाए भनेर गर्व गरेको बसेको पक्ष पनि रहेका र बर्बाद पारे भनेर विरोध गर्ने पक्ष पनि रहेका छन्।
यस्तै पूर्वलडाकु महिलाहरूलाई यौन व्यवसायमा लागेको देखाइएको बारे पनि उनले भने, 'महिलाका हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन्।'
फागुन ३०, २०७८ सोमबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।