रसुवापछि नुवाकोट जिल्ला पनि कोरोनामुक्त
नुवाकोटः आइतबारदेखि नुवाकोट जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको छ। सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिकाका दुई व्यक्ति आइतबार सङ्क्रमणमुक्त भएसँगै जिल्ला पनि कोरोनामुक्त भएको हो।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनका अनुसार जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएका छन्। यस्तै नयाँ सङ्क्रमित थप नभएको पनि उनले बताए।
स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीका अनुसार जिल्लामा कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा भने मृत्युदर शून्य रह्यो। हालसम्म जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ।
कोरोनाको पहिलो लहरमा एक हजार एक सय ४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार दुई सय ४५ र तेस्रो लहरमा नौ सय ७३ थप भएका थिए। हालसम्म सङ्क्रमित हुने कुल सङ्ख्या जिल्लामा नौ हजार तीन सय ६३ पुगेपछि जिल्ला सङ्क्रमणमुक्त बनेको हो।
जिल्लामा कोरोना रोकथामका लागि त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आईसीयू र एचडीयूसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो। जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब पाँच सय आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए। त्यो अहिले पनि कायम नै राखिएको छ।
यसअघि रसुवा जिल्ला पनि कोरोना सङ्क्रमणमुक्त भइसकेको छ।
फागुन ३०, २०७८ सोमबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।