प्रकाश सपुतको पिर विरुद्ध माओवादीका चार सङ्गठन एकै ठाउँ, कारबाहीको माग

प्रकाश सपुतको पिर विरुद्ध माओवादीका चार सङ्गठन एकै ठाउँ, कारबाहीको माग

काठमाडौँ : माओवादी द्वन्द्वका लडाकुको अवस्था केन्द्रित गीत ल्याएका प्रकाश सपूत विरुद्ध माओवादी केन्द्रका चार सङ्गठन एकै ठाउँ उभिएका छन्।

जनक्रान्ति तथा घाइते योद्धा, महिला सङ्घ, जन सांस्कृतिक र माओवादी निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर समेत एकै ठाउँ उभिएर गीत युट्युबबाट हटाउन माग गरेका छन्।

संयुक्त विज्ञप्तिमा भिडियो 'पीर'ले चित्रण गरेको विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै दश वर्षे महान् जनयुद्धमा जनमुक्ति सेनाहरूले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्रुपीकरण गर्न खोजिएको दाबी गरिएको छ। म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन माग गरेका छन्।

दश वर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरूको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्युजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरूलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरू देखाइएको विज्ञप्तिमा दाबी छ। शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको भन्दै महिलाहरूको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढङ्गले प्रस्तुत गरिएको दाबी छ।

समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासङ्गिक दृश्य र संवाद राखेर आफू चर्चामा आउने बदनियत राखेको दाबी गर्दै विज्ञप्तिमा जनयोद्धाहरूलाई जीविकाको कारण देखाई देह व्यापारमा लागेको देखाउनु निकै भ्रामक र दुराशयपूर्ण रहेको दाबी छ।

'सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मुलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि वेदपूर्ण छ,' विज्ञप्तिमा उल्लेख छ।

भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देह व्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु जोड्नु अत्यन्तै दुःखद र आपत्तिजनक भन्दै नितान्त पूर्वाग्रही फुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न माग समेत गरिएको छ।
'म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय  गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रूपमा अपराध स्वीकार गरी माफी माग्न आग्रह गर्दछौँ,' विज्ञप्तिमा छ।
विज्ञप्तिमा दीपेन्द्र कुमार पुन, अमृता थापामगर, मातृका पोखरेल र विष्णु सापकोटाको हस्ताक्षर छ।

फागुन २९, २०७८ आइतबार २२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।