तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट

तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ। मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता सङ्गठन नेपाल नगरपालिका सङ्घले सो पुरस्कार प्रदान गरेको हो।

आर्थिक वर्ष २०७७-०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ।

तिलोत्तमाले गत वर्ष सहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो। सङ्घले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ।

तिलोत्तमासँगै अन्य विधामा नीलकण्ठ, वालिङ, हरिवन, पुतलिबजार, इलाम र राप्ती नगरपालिका पनि पुरस्कृत भएका छन्। सङ्घले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ।

काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार-२०७८ स्वरूप कदर पत्र प्रदान गरे।

सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरवासीको योगदान रहेको बताए।

फागुन २९, २०७८ आइतबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।