५१ फिट अग्लो महादेवले पुम्दीकोटमा तान्दैछन् आन्तरिक पर्यटक

५१ फिट अग्लो महादेवले पुम्दीकोटमा तान्दैछन् आन्तरिक पर्यटक

पोखरा : कोरोना सङ्क्रमण घट्न थालेसँगै सरकारले लगाएको निषेधाज्ञा हटिसकेको छ। अहिले आन्तरिक घुमघाममा निस्किरहेका छन् पर्यटकहरू। पोखरामा पनि आन्तरिकसँगै बाह्य पर्यटकहरूको चहलपहल फर्कँदै छ। पोखरासँगै अहिले नयाँ गन्तव्यको रूपमा देखिएको छ पुम्दीकोट।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ४० करोड लागतमा ५२ फिट अग्लो शिवको मूर्ति सहितका अन्य संरचना बनेपछि अहिले पोखरा पुग्ने पर्यटकहरू पुम्दीकोट समेत पुग्न थालेका छन्। अगाडि महादेवको मूर्ति अनि पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल हेर्न पर्यटकहरू पुम्दीकोट जान थालेका हुन्।

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा बनिरहेको महादेव शिवको मूर्तिको काम भने अझै सकिएको छैन। निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पुम्दीकोटबाट हिमशृङखलासँगै फेवाताल र पोखरा क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले पहिला पनि पुम्दीकोटमा दिनहुँ पर्यटक पुग्ने गरेका थिए। त्यसमा महादेवको मूर्तिसँगै अन्य भौतिक संरचनाहरू समेत थपिएका छन्।

गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना मूर्ति निर्माण स्थलको ९५ प्रतिशत काम सकिएको महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए। पोखरा महानगरपालिका –२२ पुम्दीभुम्दीमा निर्माण गरिएको पूर्वाधार निर्माणमा हालसम्म २० करोड भन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए।

त्यस ठाउँमा मूर्तिका लागि स्थानीयहरूले महायज्ञ लगाएर ८ करोड रुपैयाँ सङ्कलन गरेका थिए। भारतीय कालिगडले मथुरामा बनाएको करिब ६ टन तौल बराबरको मूर्ति जडानसँगै यसलाई आकर्षक बनाउन अहिले दैनिक एक दर्जन बढी कामदार खटिएका छन्।

गत वर्ष झन्डै एक महिना लगाएर ५१ फिट अग्लो विशाल महादेवको मूर्ति जडान गरिएको थियो। महादेवको मूर्ति, भुवनेश्वर महादेवको मूर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन्।

२१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिव लिङ्ग बनाएर मूर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरी निर्माण गरिएको छ। मूर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुने छ।

स्थानीय उत्पादनको विक्री गर्नका लागि सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ। पसल नजिकै कलात्मक ढुङ्गे धाराहरू सहित बालबालिका खेल्ने स्थान बन्दै छ।

स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण हुने छन् । मूर्ति निर्माण समितिले प्रवेश स्थल अगाडीको स्थानमा पार्किङस्थल बनाउने योजना बनाएको छ।

उनले मूर्ति निर्माणसँगै आन्तरिक पर्यटक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल,रेस्टुरेन्ट लगायतका अन्य व्यापार व्यवसाय समेत बढेको बताए। ‘मूर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि व्यवसाय फस्टाएका छन्,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यवसाय गर्न चाहनेको सङ्ख्या बढिरहेको छ।’

मूर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग सङ्कलन गरिएको थियो । त्यसै गरी स्थानीयहरूले २० रोपनी जग्गा दान गरेका थिए । मूर्तिसहित संरचना निर्माणका लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ,  प्रदेश सरकारबाट ३ करोड ५० लाख र सङ्घीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो। 

फागुन २९, २०७८ आइतबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।