सपुतको 'पिर' ले रन्थनिए माओवादी युवा नेता, सामाजिक सञ्जालमा दिए धम्की
काठमाडौँ : परिवर्तनका लागि हतियार बोकेर ज्यान जोखिममा राखेकाहरूको अहिले अवस्था के छ? सार्वजनिक भइरहने पूर्व लडाकुका कथाहरू नै पर्याप्त छन् अवस्था देखाउन।
टाठा बाठाको हातमा रहेको शक्ति सोझासाझाको हातमा लैजान चलेको १० वर्षीय सशस्त्र द्वन्दले राजनीतिक परिवर्तन ल्याएको सत्य हो। तर परिवर्तनका लागि लडेका टाठा बाठा बाहेक अन्यको दैनिक जीवनमा परिवर्तन ल्याउन सकेन।
यो तितो सत्य खाडीदेखी गाउँका झाडी फाँडिरहेका पूर्व लडाकुको अवस्था अनि सहर केन्द्रित नेतृत्वको बदलिएको जीवनशैलीले नै देखाउँछ। त्यही यथार्थ सङ्गीतमार्फत पस्कँदा माओवादी केन्द्रका युवा नेताहरूले गायक प्रकाश सपुतलाई धन्यवाद दिनुपर्नेमा धम्की दिइरहेका छन्।
'पिर' नामक साङ्गीतिक कोसेली ल्याएका सपुतलाई अहिले अखिल क्रान्तिकारी अनि वाइसियलमा रहेका युवा नेतृत्वले धम्क्याइरहेका छन् सामाजिक सञ्जालमा। त्यसको अग्रपङतीमा देखिएकी छिन् युवा विद्यार्थी नेतृ पन्चा सिंह।
अखिल क्रान्तिकारीकिी अध्यक्ष सिंहले फेसबुकमा लेख्दै व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय रहेको बताएकी छिन्।
उनले सार्वजनिक माफी मागेर भिडियो तत्काल युटुवबाट नहटाइए गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिएकी छिन्।
उस्तै भाषाको स्टाटस राखेका छन् वाइसियल इन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा। उनले पनि माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई देह व्यापारमा लगेर गरिएको चित्रणप्रति आपत्ति जनाउँदै यसलाई दण्डनीय भनेका छन्।
सपुतकै शब्द तथा सङ्गीत रहेको गीतमा सशस्त्र द्वन्दकोक्रममा गोली लागेका एक जोडिले दैनिक जीवनमा भोगेका अभाव, बिदेसिन बाध्य भएको अनि सँगै लडाइमा लागेर सत्तामा पुगेकाले गरेको बेवास्तालाई दर्साइएको छ। उनीहरूले ती पाटा छाडेर पूर्व महिला छापामार जीवन चलाउन देहब्यापारमा लागेको दृश्यमा आपत्ति जनाएका छन्।
यी दुवै नेताले जसलाई अपमान भनेका छन् उनीहरूले काठमाडौँका केही अघोषित कोठी चहार्ने हो भने पक्कै कुनै न कुनै पूर्व छापामार पक्का भेट्नेछन्। कतै बार गर्लको रूपमा भेट्लान् कतै यौनकर्मीको रूपमा।
शुक्रवार गीत रिलिज भएपछि सामाजिक सञ्जालमा अधिकांशले सपुतको प्रशंसा गरेका छन्। अहिले यो युट्युबमा पहिलो नम्बरको ट्रेन्डिङमा छ।
म्युजिक भिडियोमा सपुतसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरेको अभिनय छ।
फागुन २८, २०७८ शनिबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।