साउथ फिल्म 'राधेश्याम': पहिलो दिनको कमाइ रहेन उत्साहजनक

साउथ फिल्म 'राधेश्याम': पहिलो दिनको कमाइ रहेन उत्साहजनक

एजेन्सीः दक्षिण भारतीय चलचित्रको क्रेजले अहिले बलिउडलाई नै छायामा पार्दैछ। यही क्रममा आएको छ बाहुबली स्टार प्रभासको फिल्म- राधेश्याम।

धेरै आश गरिएको, बाहुबलीको क्रेज कायम राख्ने विश्वास गरिएको फिल्मले पहिलो दिनको कमाइबाट सबैलाई निराश बनाएको छ। दक्षिण भारतीय फिल्मले पहिलो दिन नै ५० करोड भारुमाथिको कारोबार गरिरहेको बेला राधेश्यामले बल्लबल्ल ३५ करोड भारु आसपासमा कमाइ गर्यो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार तेलुगु भाषामा चलचित्रले ३० करोड भारुको कमाइ गरेको छ भने हिन्दीमा जम्मा ५ करोड। 

साइन्स फिक्सन पिरियड ड्रामा जनराको फिल्मको बजेट पनि तीन सय ५० करोड भारु छ। फिल्ममा एड्भान्स भीएफएक्स प्रयोग भएको छ। त्यसको लागि मात्र निर्माताले ६० करोड भारु छुट्याए। तर यति लगानी उठाउन निर्मातालाई धौ-धौ पर्ने देखिएको छ।

भारतीय फिल्म समीक्षक केआरकेको भनाइलाई आधार मान्ने हो भने फिल्म राम्रै छ। उनका अनुसार फिल्म नचल्नुमा तीन मुख्य कारण छन्।

पहिलो हो- दर्शकले यसलाई 'डब' फिल्म ठान्नु। जुन होइन। दोस्रो कारण- यसको ट्रेलर एकदम खराब हुनु। र तेस्रो- निर्माताले फिल्मको प्रचारमा कुनै चासो नदेखाउनु।

तर पहिलो दिनको तुलनामा आज शनिबार फिल्मले राम्रो व्यापार गर्ने आश गरिएको छ।

 

फागुन २८, २०७८ शनिबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।