दोषारोपणको श्रृंखलामा वास्तविक दोषी को ?

दोषारोपणको श्रृंखलामा वास्तविक दोषी को ?

नेपालीको सात दशक लामो अथक प्रयासबाट जारी भएको संविधान र राजनीतिक व्यवस्थाप्रति जनअपेक्षा बढी हुनु स्वभाविक नै हो। लामो समयको संक्रमणकाल र जनआन्दोलनको परिणाम स्वरुप जनताको अभिलाषाले सार्थकता पाएसँगै जनअपेक्षा बढ्नु पनि सान्दर्भिक देखिन्छ।

लोकतान्त्रिक मान्यतामा आधारित सार्वभौमसत्ता सम्पन्न नेपालीले तीन तहको सरकार पाएको र इतिहास रच्ने अवसर आएकोमा जनतामा उत्साह हुनु स्वभाविक थियो। विगतमा सामन्त, निरङ्कुश शासन, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जित विभेद र उत्पीडन अन्त्य गर्दे समतामूलक समाजको निर्माणका लागि नेपालको संविधान निर्माण गरेकोले जनचाहना, अपेक्षा बढ्नु कुनै अनौठो कुरा होइन पनि। 

संविधानले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अपेक्षा गरेको छ। प्रतिस्पर्धात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिकासँगै कानुनी राज्यको अवधारणा स्पष्ट गरेको छ। सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुगेको मात्र होइन सिंहदरबारको भष्टाचार पनि गाउँ-गाउँमा पुगेकोमा जनता हैरान भएका छन्। 

आफ्नो आङको भैंसी नदेख्ने र अर्काको आङको जुम्रो देख्ने त नेपालीको नानीदेखिको बानी नै हो। सरकार तथा कुनै पनि कर्मचारीले केही सोच र योजना अगाडि बढाउन पाएको छैन, त अविश्वास र अवरोध गरिहाल्ने परिपाटी बसिसकेको छ।

हामीले बिगतदेखि कुनै पनि सरकारलाई सकारात्मक रुपले सोच्ने, हेर्ने, कार्यकर्तालाई सोही अनुरुप प्रशिक्षित गर्ने, नागरिकहरू सचेतना बढाउने र सहजीकरण गर्ने कुनै मनोविज्ञान काम गरेनौं। तर दोषरोपणको खेलमा सदैव सहभागी भैरह्यौं। 

आज नेपालको विकास किन भएन, कसरी नेपालको समृद्धि हासिल हुनसक्छ भन्ने विषयमा समय-समयमा बहस हुने गरेको पनि छन्। यस विषयमा सबैको भिन्न-भिन्न तर्क हुने गरेको छ। नेपालको विकास नहुनुमा शासन व्यवस्था र राजनीतिक दल तथा तिनका नेतृत्व वर्गलाई दोष दिने गरिन्छ।

राजनीतिक नेतृत्व भने विकास नहुनुमा यहाँको कर्मचारीतन्त्रलाई दोष दिन्छन्। कोही राजनीतिक अस्थिरता, गरिबी र पछौटेपन, भौगोलिक विकटता, भ्रष्टाचार आदिले गर्दा विकास नभएको भन्छन् भने कोही हामीमा विकासको प्यास नै छैन र काम गर्ने संस्कृति नै छैन, कसरी मुलुकको विकास हुन्छ भन्न पछि पर्दैनन्। कसैले सतीले सरापेकोले नेपालको विकास नभएको भन्न छाडेका छैनन्। 

काम गर्न इच्छा शक्ति नभएकाले काम हुन नसकेको हो भन्ने पनि प्रशस्तै भेटिन्छन्। हामी ठूला-ठूला कुरा गर्छौं, काम भने सिन्को पनि भाँच्दैनौं। कुनै कुरा पनि हामी समयमा सुरू गर्न सक्दैनौं। ढिलो पुग्ने, ढिलो कार्यक्रम गर्ने र दर्शकले पट्यार मानिसक्दा पनि दुई शब्द बोल्ने भन्दै घण्टौं बोलिरहने हाम्रो आदत बनिसकेको छ।

विकासमा पनि यसको असर परिरहेको छ भन्नेहरुको पनि कमी छैन। हामीमा आफूले गरेको कुरा मात्र ठिक भन्ने प्रवृति हावी छ भने गरेको काम ठिक कि बेठिक भयो वा छ भनी पृष्ठपोषण लिने चलन छैन। हामी जिम्मेवारी निर्वाह गर्नुभन्दा पन्छाउनतर्फ बढ़ी उद्यत हुन्छौं।

हामी राष्ट्रियताको कुरा गरिरहन्छौं, तर आफ्नो देशको सामान किन्नुभन्दा विदेशको सामान किन्न, पोशाक लगाउन र भाषा बोल्नमा गौरव गर्दछौं र शान मान्छौं। हामीले जतिसुकै विकासको ठूलो कुरा गरे पनि नेपाल केही समय अघिसम्म खाद्यान्न निर्यात गर्ने मुलुकबाट धान-चामलदेखि आलु प्याजसम्म आयात गर्ने राष्ट्रमा रुपान्तरित हुन पुगेका छ।

जलविद्युतको धनी मुलुक भनेर गर्व गर्छौं, विधुतमा आत्मनिर्भर हुन अझै कठिन छ। अहिले पनि सबैको पहुँचमा विधुत पुग्न सकेको छैन। राष्ट्रिय आयमा उद्योग क्षेत्रको योगदान बनुको सट्टा निरन्तर घट्दै गएको छ। किसानका छोराछोरी भन्नमा ग्लानी गर्दछौं र कृषकको स्तर वृद्धि हुने काममा लगनशील भएर काम गर्न सकेको अवस्था छैन।

वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको विप्रेषणबाट मात्रै नेपाली अर्थतन्त्रमा रक्तसञ्चार भएको छ। विप्रेषण नहुने हो भने नेपालको अर्थतन्त्र धराशायी हुने विन्दुमा पुगिसकेको छ तर तिनीहरुलाई दलालदेखि सम्बन्धित रोजगार कम्पनीबाट र आउँदा-जाँदा विमानस्थलमा समेत सकस भोग्नु परेको छ। सरकारी डाटामा अझै करिब १८.७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् भनिन्छ। विश्व बैंकको मापदण्डलाई आधार मान्ने हो भने यो संख्या अझै पनि ३२ प्रतिशतभन्दा बढी देखिन्छ। 

हाम्रो छिमेकी राष्ट्रहरु चीन र भारतले आर्थिक विकासमा ठूलो फड्को मारिसकेका छन्, तर हामी सबै भएर पनि गरिब बन्नुपरेको छ। स्रोत, साधनको समुचित प्रयोग गरी फाइदा लिन सकेका त छैनौं नै एक अर्कामा दोषरोपण गर्नमा व्यस्त छौ। आज चीन संसारको पहिलो ठूलो अर्थतन्त्र हुने दिशामा तीव्र गतिमा अगाडि बढिरहेको छ। 

त्यस्तै, स्वराज प्राप्त गरेको छोटो अवधिमै भारत विश्वको महत्वपूर्ण आर्थिक शक्ति बन्न सक्यो र उसले आफूलाई विकासको तीव्र गतिमा दौडाइरहेको छ। दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा खसालिएको आणविक बमबाट थिलथिलो भएको जापानले २० वर्षमै आफनो अर्थतन्त्र पुनर्निर्माण गर्न सफल भयो। महाथिरले २० वर्षमा मलेसियाको अभूतपूर्व विकास गरेर चमत्कार देखाइसकेका छन।

सन् १९६५ सम्म गरीब, कमजोर सिंगापुर आज एसियाको प्रतिष्ठित मुलुक बनेको छ। सिंगापुरको विकासमा ली क्वानले अतुलनीय योगदान पुर्याए। अथक प्रयत्नसँगै काम गरे सफल हुन सकिनेरहेछ भन्ने कुराको यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। इमान्दार र दृढ इच्छाशक्ति भएको व्यक्तिले देशको नेतृत्व सम्हालेमा मुलुकको विकास हुनेरहेछ भन्ने कुरा उल्लिखित दृष्टान्तबाट स्पष्ट हुन्छ। तर हामी कहाँ सबै भएर पनि गरिब, पछौटेपन कायम छ। यसमा दोषी को, अब खोज्न ढिला भएन र?

आयात बढदो छ, हाम्रो परिनिर्भरता दिनानुदिन बढिरहेको छ। वैदेशिक सहयोग नभए विकासको गति ठप्प हुने अवस्थामा हामी पुगेका छौं। नेपालको विकास नहुनुमा हामीले एक अर्कामा दोषारोपण गरे तापनि कोही दोषी छ भने हामी सबै दोषी छौं।  सरकार, कर्मचारीतन्त्र र जनता सबै दोषी छौं। हाम्रो कार्य प्रणाली, हाम्रो संस्कार दोषी छ। नेता, नीति, नेतृत्वसँगै हामी सबैले सोच र व्यवहारमा सुधार गर्न जरुरी छ। 

अहिले यी र यस्तै दोषारोपणलाई माथिल्लो स्तरबाट नै चिर्न जरुरी देखिन्छ। असल, नैतिकवान् र उत्तरदायी सरकार र कर्मचारीतन्त्रको रूपान्तरणका जिम्मेवारीबाट पन्छिने होइन हात तथा काँधमा सुधारको सुत्र बोक्न तयार हुने, इतिहासमा नाम लेखाउन इच्छुक कर्तव्यपरायण उच्च राजनीतिज्ञ तथा  प्रशासनिक नेतृत्व बन्न आवश्यक छ।

जनताको आशा र अपेक्षानुरुप  उच्च राजनीतिक तह, प्रशासनिक नेतृत्वले शासकीय सुधार सहितको विकासमा गहिरो अभिरुचि राख्न र अमिट छाप छोड्न  आवश्यक छ। पार्टी, राजनीतिज्ञ, प्रशासकले आफूलाई बारम्बार प्रहार भइरहेका विषयलाई मध्यनजर गर्दे लागेका आरोपहरू चिर्दै असल र नैतिकतायुक्त प्रणालीको रूपमा विकास गर्नुको विकल्प देखिँदैन। वर्तमान राजनीतिक परिवर्तनलाई सस्थागत गर्न हाम्रा विचार र चिन्तनमा समयानुकुल परिवर्तन ल्याउन जरुरी छ तब मात्र देश विकास सम्भव हुनेछ। 
 
भौगोलिक विविधता, स्थानीय आवश्यकता, विशिष्टता अनुरुप विकास र शासन प्रबन्ध आफैंले गर्ने स्वतन्त्रता हामी छ तर पनि परनिर्भरताको सिकार हुनु परेको छ। कुनै निश्चित भौगोलिक क्षेत्रका जनताले आफ्ना जनताको चाहनालाई आत्मसात गरी गठन हुने सरकार लोकतान्त्रिक समावेशी, जवाफदेही, पारदर्शी, प्रभावकारी र परिणाममुखि शासनसँगै विकास र समृद्धि ल्याउनु किन पछि परेको छ?

वर्तमानमा समृद्धिको आवश्यकता भइरहे तापनि राजनीतिक संक्रमण समाप्ति भएको अनुभूति अहिले पनि जनताले गर्न पाएका छैनन्। राज्यको ध्यान आर्थिक तथा सामाजिक विकासमा केन्द्रित गरिएको भनिए तापनि नेपाली अर्थतन्त्रमा अनेकौ विकराल समस्याहरू विद्यमान छन्।

ती समस्यामा मुख्यतया: ह्रासोन्मुख कृषि, पढेकाले हलो र थलो छोडन विवश हुनु, बौद्धिक र श्रम पलायन, पूर्वाधारको कमी, घरेलु उद्योगको ह्रास, उपभोक्तावादी सोच र आयातित वस्तुमा निर्भरता बढ्नु, आवश्यक वित्तीय सेवाको अभाव, गुणस्तरीय तथा सिपयुक्त शिक्षाको कमी, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, महँगी, भ्रष्टाचार, उपभोक्ताहरू ठगिनु, उपभोक्ताहरूमा विचलन आउनु आदि रहेका छन्।

यस्तै बाढी, पहिरो, भूक्षय, भूकम्प, वन विनास आदिले गर्दा धन जन तथा वातावरणीय समस्या थपिएका छन्। हरेक क्षेत्रमा  सिन्डीकेटको प्रभाव अहिले पनि परिरहेको छ, घट्दो सदाचार र बढदो भ्रष्टाचारले सताइरहेको छ।

अहिले जनप्रतिधि र कर्मचारीहरूका बीचमा विवाद छ। कर्मचारीहरुमध्ये पनि स्थानीय, प्रदेश र संघका कर्मचारीहरुबीचमा विवाद देखिन्छ। श्रोत-साधन र करमा विविधता, स्वार्थपूर्ण कार्य, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारीहरूका बीचमा सामाजिक सद्भावको कमी रहेको छ। एकअर्कामा दोषारोपण भइरहेको छ। 

कर्मचारीहरु भौतिक संरचना, श्रोत र साधनको अभाव खड्किएको, स्पष्ट कानुनको अभाव रहेको, अनावश्यक राजनीतिक दवाबको समस्या रहेको बताउँछन्। उता जनप्रतिनिधिहरूले प्रविधि लगायतमा ज्ञानको अभाव, योग्य, सक्षम, दक्ष प्राविधिक ज्ञान र सिप भएका कर्मचारीहरूको अभाव, सूचना प्रविधिको अभाव रहेको बताउँछन्। 

कर्मचारीहरुले राजनीतिज्ञहरुमा व्यवस्थापकीय समस्या रहेको राय, सल्लाह, सुझाव लिनेभन्दा सोर्स-फोर्स, नातावाद, कृपावाद हावी भएको, विस्तृत गृहकार्य नगरी निर्णय गर्ने, केन्द्रीकृत मानसिकता नहटेको बताउँछन्। आवश्यकता, भौगोलिक अवस्था र राष्ट्रिय एकता अनुरुप निर्णय नगरी पहुँच, दबाब, चाकडी, चुक्ली र चाप्लुसीका आधारमा निर्णय गर्नुले एकरुपता नहुनु, भ्रष्टाचारमा वृद्धि हुन, सुशासनमा धक्का लागेको मात्र छैन विकास र समृद्धिमा असर पारेकोले अहिलेको समस्या आएको बताउँछन्। 

राष्ट्रिय गौरवका योजनामा न्यून उपलब्धि, आर्थिक विकास हुनु आजको गम्भीर समस्या हो। यो समृद्धिको बाधक हो। विकासलाई सकारात्मक परिवर्तन र उत्पादक शक्ति तथा उत्पादनबीचको द्वन्द्वात्मक अन्तर सम्बन्धलाई बुझिन्छ।

समृद्धिलाई बहुआयामिक अवधारणाबाट हेर्न जरुरी छ जुन उत्पादन र उत्पादकत्वको अभिवृद्धि, समन्यायिक वितरण, श्रोत-साधन र पर्यावरणीय दिगोपना, मानवीय खुसी अर्थात सन्तुष्टिसँग जोडिनुपर्छ। देशको शासन व्यवस्थामा परिवर्तन गरी सिंहदरबारको अधिकार स्थानीय निकायमा ल्याउने काम भयो। तर पनि ढिलासुस्ती र भ्रष्टाचार रोकिएन जनतालाई सुशासन तथा सार्वजनिक सेवाको प्रत्याभूति दिई प्रभावकारिता कायम गर्न तथा स्थानीय सरकारहरु सुशासनको कसीमा जाँचिन सकेका छैनन। त्यसैले विकास निर्माणमा तथा स्थानीय सेवा प्रदानमा पारदर्शिता र चुस्तताप्रति प्रतिबद्ध भई स्थानीय सरकार प्रत्यक्ष रूपमा सेवाग्राहीको मन जित्न सकेको देखिँदैन।

सार्वजनिक रुपमा कामकाज गर्ने निकायले सेवा प्रदायकले सेवा दिँदा आफ्नो स्वार्थ नहेरी सेवा दिन स्थानीय सरकार, जनताका लागि सेवा गर्न पारदर्शीता र चुस्ततामा प्रतिबद्धता भई जीवन्त हुनैपर्छ तब मात्र सुशासन भई समृद्ध नेपालको परिकल्पना पूरा हुनेछ।

विश्वव्यापीकरणका कारण मुलुकमा परेको आर्थिक एवं सामाजिक अभाव आदिले गर्दा न्यून वृद्धिको अवस्थाबाट नेपाली अर्थतन्त्र गुज्रिरहेकोले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गरी विकास गर्न जरुरी देखिन्छ।

राजनीतिज्ञ, निजामती एवं अन्य कर्मचारीहरू स्वच्छ तथा सक्षम भएमा मात्र समृद्धि र सुशासन सम्भव भएकोले कोरोनाले शिथिल अर्थतन्त्रलाई क्रियाशील वनाउन पछिल्लो राजनीतिक परिवर्तनले स्थापित गरेको नागरिक अधिकारसँगै सामाजिक न्याय सहितको आर्थिक विकास गरेर समृद्ध समाज निर्माण कार्यमा सबै सरकार, सम्वद्ध निकाय र राज्यबीच आपसी समन्वय, जवाफदेहीता, पारदर्शीता र प्रभावकारीता सहित देशको माटो सुहाँउदो मोडेल र शासनको अभ्यासले मात्र परिणाममुखि समृद्धिको आकांक्षा पूरा हुनसक्छ

त्यसैले  अर्थतन्त्रका चुनौतीहरूको व्यवस्थापन गर्दै हामीले हाम्रा नीति तथा कार्यक्रमहरूलाई तरिकाले कार्यान्वयनमा ल्याई समृद्धि, सार्थकता र दिगो विकास गर्नमा ध्यान जान ढिला नहोस्। 

(पन्त धवलागिरि बहुमुखी क्याम्पस बागलुङको समाजशास्त्र तथा मानवशास्त्र विभागमा कार्यरत छन्।)

फागुन २८, २०७८ शनिबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।