अभिनेता भुवनले जब शम्भुजितलाई आइडलमा तपाईँ भने

अभिनेता भुवनले जब शम्भुजितलाई आइडलमा तपाईँ भने

काठमाडौँ : अभिनेता भुवन केसीको कन्ट्रोभर्सीसँग जस्तो निकट सम्बन्ध छ उस्तै निकट सम्बन्ध छ गीत-सङ्गीतसँग पनि। सायद कमैलाई थाहा होला केसीको कला यात्रा भन्दा अगाडि गला यात्रा सुरु भएको हो।

उनी अभिनयमा आउनु अगाडि गायनमा थिए। अनि उनकै म्युजिक भिडियो केसी अनि शम्भुजित बास्कोटाका अनुसार नेपालको मात्र पहिलो हैन दक्षिण एसियाकै पहिलो रे!  हो, त्यसैमा उनले अभिनय गरेका थिए।

गायन गला भएरै त होला नेपाल आइडलको सिजन ४ मा उनी गेस्ट बनेर आए। गज्जब गाउनुभयो, बेष्ट अफ लक भनेर प्रतिक्रिया दिएर गए।

फिल्म चिसो एस्ट्रेको टिम फिल्म प्रमोसन गर्न आएका थिए। एपीवान टेलिभिजनका अध्यक्ष रामेश्वर थापा चैँ किन आए कुन्नि कार्यक्रममा ? उनकै टेलिभिजन मन लाग्यो आए। छाडौँ यो कुरा र लागौँ प्रस्तुतितिर।

आइडल अब टप पाँचमा आइसक्यो। टक्कर कडा छ भन्ने शुक्रबारको प्रस्तुतिमा पनि देखियो। लक्ष्मी अलि कमजोर देखिइन्। विश्वास बढी सुधारिएको देखिए। तर प्रतिस्पर्धा चैँ 'काटेकी टक्करै' छ। त्यही देखियो शुक्रवार। जजहरूको कमेन्टले पनि त्यस्तै देखाउँछ।

प्रसङ्ग भुवन केसीकै। उनी र शम्भुजित बास्कोटा निकै पुराना मित्र हुन्। लामै सहकार्य गरेका छन्। कार्यक्रममा भुवन आएपछि सञ्चालकले शम्भुजितलाई के भनेर बोलाउनुहुन्छ भनेर सोध्दा भुवनले भने' उहाँलाई म माया गरेर जीतबाबु भन्छु।'

यो कुरा शम्भुजितलाई पचेन। उनले भनिहाले'भुवन, माई डियर फ्रेन्ड ।तपाईँ नभन यार,अड लाग्यो।'

भुवनले भने' अफ कोर्स फर्मालिटीको लागि मात्र भनेको। नत्र हामी तिमी भनेर बोलाउँछौ। तँ-तँ र मँ-मँको साथी हौँ।'

यो पनि रमाइलै थियो। 

फागुन २८, २०७८ शनिबार ००:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।