कुलमानको काम सम्झँदै अभिनेत्री सुरक्षाले लेखिन्' ‘बादलहरू’

कुलमानको काम सम्झँदै अभिनेत्री सुरक्षाले लेखिन्' ‘बादलहरू’

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनीबाट प्रेरित म्युजिक भिडियो ‘बादलहरू’ सार्वजनिक भयो। घिसिङको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको, अभिनेत्री सुरक्षा पन्तले रचना गरेको अनि मानव सुवेदीको सङ्गीत रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायक राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवान उपस्थित थिए।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन सङ्घर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गरिएको छ। कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ।

सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्। गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको बताइन्।

भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनू जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ। उनले घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्त्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनेको जानकारी गराएकी थिइन्।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ जहाँ हाम्रो चरित्रले खेपेजस्तै अवरोध उहाँले खप्नु भएको थियो । एक अर्थमा भन्ने हो यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट हो’ सुरक्षाले भनिन्।

घिसिङले आफ्नै पेसालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए। उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्त्व बुझाउन धेरै सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुना कुनामा बिजुली पुर्याउन दत्तचित्त रहेको बताएका थिए।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायाङ्कन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन्।

फागुन २७, २०७८ शुक्रबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।