मूर्ति चोरीका दोषीलाई मन्त्री बनाउँदा माओवादीलाई धक्का : सांसद विष्टले त्यागे पार्टी
सुर्खेत : मूर्ति चोरीको कसुरमा जिल्ला अदालत हुम्लाले दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तिराएका छिरिङ डम्डुल लामा ‘कार्चेन’ लाई मन्त्री बनाएपछि असन्तुष्ट प्रदेश सांसद ठम्मर विष्टले पार्टी छाडेका छन्।
सांसद समेत नरहेका कार्चेनलाई मन्त्री नियुक्त गर्ने चर्चा सुरु भए लगत्तै उनले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। आफ्नो कुराको सुनुवाइ नभएपछि उनले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आएकै दिन पार्टी र सांसद पद छोडेको घोषणा गरे।
माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका विष्टले शुक्रवार सांसद र पार्टी परित्याग गरेको घोषणा गरे। उनले कर्णाली प्रदेश सभा सचिवालयमा इमेल मार्फत राजीनामा समेत पठाइसकेका छन्।
सदस्य विष्टले माओवादी पार्टी विधि पद्धतिअनुसार नचलेको र चोरीको अभियोग लागेर जेल सजाय र जरिवाना तिराइएका गैर सांसदलाई मन्त्री बनाउने जस्ता गतिविधि केन्द्रीय नेतृत्वले गरेकाले पार्टी त्यागेको बताए।
एमसीसी पास गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेको उनको आरोप छ। कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरेको उनले उल्लेख गरेका छन्। प्रदेश सभा सचिवालयको इमेलमा राजीनामा आए पनि त्यो सही या गलत भन्ने कुरा अहिले नै एकिन गर्न नसकिने प्रदेश सभा सचिव जिवराज बुढाथोकीले बताए।
‘आज इमेल मार्फत उहाँको राजीनामा आएको छ भनेर सचिवालयका कर्मचारीले मलाई जानकारी गराएका थिए,’सचिव बुढाथोकीले भने, ‘इमेल मार्फत आएको कुरा आधिकारिक हो या होइन भन्ने खासै ठम्यान सकिँदैन। यो विषय अति नै संवेदनशील भएका कारण उहाँ आफै उपस्थित भएर सनाखत गरे मात्रै आधिकारी मानिने छ। यस विषयमा सचिवालयले पनि सत्य तथ्य जाँच गरिरहेको छ।’
आधिकारीकरुपमा सभामुख समक्ष राजीनामा दिएपछि मात्रै आधिकारी हुने उनको भनाई छ।
यता विष्टले आफूले सांसद पद र पार्टीबाटै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताए। उकेरासँग टेलिफोनमा कुरा गर्दै विष्टले भने ‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु। तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन।’
पार्टी अध्यक्ष सुर्खेतका आएको बेला साइत मिलाएरै राजीनामा दिएको उनले जानकारी दिए। विष्ट अहिले काठमाडौँमा छन्।
फागुन २७, २०७८ शुक्रबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।