प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले भने : प्रमुख अतिथि(केपी ओली) ले विश्व पत्रकारितालाई नै प्रशिक्षण दिनुभयो
पोखरा : एमाले निकट प्रेस चौतारी नेपालको महाधिवेशनमा सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कार्यक्रमका प्रमुख अतिथि (केपी शर्मा ओली) ले नेपालको पत्रकारीताका लागि मात्रै नभई विश्व पत्रकारितालाई नै प्रशिक्षण दिएको बताएका छन्।
नेपालको पत्रकारिताको अनुगमन गर्ने दायित्व बोकेका अध्यक्ष बस्नेतले प्रमुख अतिथिले नै प्रशिक्षण दिइसकेकाले आफ्ना धेरै धारणा नभएको बताएका थिए। उनले नेपाली पत्रकारितामा रहेका विकृतिहरू हटाउनुपर्ने बताएका थिए।
'अरूलाई प्रश्न गर्ने पेसामा रहेका हामीले हाम्रो काम पनि फर्केर हेर्नुपर्छ। बार्गेनिङ गर्ने, कोठामा प्लानिङ गरेर विभिन्न मिडियामा एकै समाचार आउने गरेको छ,' उनले भने।
प्रेस काउन्सिल नेपालको अध्यक्षको हैसियतमा कार्यक्रममा शुभकामना दिन मञ्चमा उभिएका उनले पटक-पटक हाम्रो सङ्गठन भनेर प्रेस चौतारीलाई सम्बोधन गरेका थिए। उनले हाम्रो सङ्गठनका संस्थापक भन्दै पत्रकार नेताहरूलाई सम्बोधन गरेका थिए।
उनले कार्यक्रममा हालै सरकारले संशोधन गरेको राष्ट्रिय प्रसारण नियमावलीबारे प्रेस काउन्सिल नेपाललाई जानकारी नै नदिएको भन्दै आपत्ति जनाए।
फागुन २७, २०७८ शुक्रबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।