सातै प्रदेशमा तुरुन्त आयुर्वेद अस्पताल सञ्चालन गर्न माग

सातै प्रदेशमा तुरुन्त आयुर्वेद अस्पताल सञ्चालन गर्न माग

काठमाडौंः नेपाल आयुर्वेद चिकित्सक संघले सातै प्रदेशमा संघीय तथा प्रादेशिक आयुर्वेद अस्पतालहरू तुरुन्त सञ्चालन गर्नुपर्ने लगायतका १९ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। संघले बिहीबार प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा नरदेवी आर्युर्वेद चिकित्सालयलाई तत्काल तीन सय बेडमा स्तरोन्नती गरी विशेषज्ञ सेवा प्रदान गराउन पनि माग गरिएको छ। 

संघको तर्फबाट अध्यक्ष डा. प्रकाश ज्ञवाली, महासचिव डा. मनोजकुमार चौधरीलगायतले प्रधानमन्त्रीको कार्यालयमा सो ज्ञापन पत्र बुझाएको डा. ज्ञवालीले जानकारी दिए।

१० वर्ष वा सोभन्दामाथि एउटै तहमा कार्यरत चिकित्सकलाई स्वतः बढुवा हुने व्यवस्था मिलाउनुपर्ने, आयुर्वेद क्षेत्रको सुधार तथा कर्मचारीको समस्याका विषय समाधान हुनुपर्ने, स्नातकोत्तर तहमा अध्ययनका लागि आयुर्वेद क्याम्पस कीर्तिपुरमा कोटा वृद्धि गर्नुपर्ने तथा अविलम्ब राष्ट्रिय आयुर्वेद प्रतिष्ठान गठन गर्नुपर्ने संघले माग अघि सारेको छ।

नेपालमा हाल स्नातकोत्तर तहमा दुई जनाको मात्र कोटा भएकाले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुनुपरेको ज्ञवाली बताउँछन्।

त्यसैगरी नेपाल आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएका सरकारी र निजी चिकित्सकलाई कार्यक्षेत्रमा खटिनुपूर्व स्वास्थ्य बीमा, दुर्घटना बीमा र दीर्घकालीन रोगको उपचार सम्बन्धी बीमा अनिवार्य रूपमा गर्नुपर्ने संघको माग छ।

सिंहदरबार वैद्यखानालाई स्तरोन्नति गरी उच्चस्तरीय आयुर्वेद औषधि उत्पादन गर्न हालकोे गठन आदेश बाधक रहेकाले उक्त गठन आदेश खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी नियुक्त गर्ने व्यवस्था गर्न संघले माग गरेको छ।

त्यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आयुर्वेद अध्ययन अनुसन्धानको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न पनि हालको गठन आदेश नै बाधक रहेकाले उक्त गठन आदेश खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी नियुक्त गर्नुपर्ने माग संघको छ।

यस्तै राष्ट्रिय पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठलाई तत्काल ‘ओ एण्ड एम’ गरी सञ्चालन गर्नुपर्ने संघको माग छ।

फागुन २७, २०७८ शुक्रबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।