आइडलको टप फाइभमा अटाइनन् सुमेन, लक्ष्मी एक्ली महिला प्रतिस्पर्धी
काठमाडौँ : सुमेन पाख्रिनको प्रस्तुति केही एपिसोडदेखि खस्किएको थियो नेपाल आइडलमा। उनको तुलनामा अन्य प्रतियोगीले निकै राम्रो गइरहेका थिए।
बिहीबार भने उनले मज्जाले गाएकी थिइन् निशान भट्टराईसँग 'अल्लि वर आउँ माया' भन्दै।
कार्यक्रममा आइडलका पुराना प्रतियोगी जो अहिले नेपाली साङ्गीतिक क्षेत्रमा जमिरहेका छन् उनीहरू आएका थिए सिजन ४ का प्रतियोगीसँग गाउन।
पवन गिरी र नाम्ग्याल तामाङ, प्रविन भेटवाल र लक्ष्मी पौडेल, विश्वास उप्रेती र विक्रम बराल, अस्मिता अधिकारी र भूपेन्द्र थापा मगर, प्रताप दास र रञ्जित नेपाली अनि सुमेन पाख्रिन र निशान भट्टराईले जोडी भएर गाएका थिए।
बटम थ्रिमा परे नाम्ग्याल, विश्वास र सुमेन। भोटको आधारमा बटम टु मा परे विश्वास र सुमेन र सुमेन आउट भइन्। योसँगै उनको आइडल यात्रा पनि सकियो। तर टप ६ मा पर्नु पनि कम उपलब्धि भने हैन। उनलाई नेपाली दर्शक/श्रोताले चिनिसके। तर साङ्गीतिक यात्रा अलि लामै बनाउन उनले थप मिहेनत गर्नुपर्ने भने देखिन्छ।
भोटको आधारमा छानिने भएकाले सिजन ४ को नतिजा यही आउँछ भन्न गाह्रो छ। तर प्रस्तुति हेर्ने हो भने लक्ष्मी, विश्वास अनि रञ्जितको टक्कर अलि कडै देखिन्छ।
फागुन २६, २०७८ बिहीबार २३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।