गाउँ फर्कँदै नेता : एक्लै कि गठबन्धन ? रणनीति बनाउँदै नेतृत्व

गाउँ फर्कँदै नेता : एक्लै कि गठबन्धन ? रणनीति बनाउँदै नेतृत्व

काठमाडौँ वैशाख ३० गतेको लागि तय भएको स्थानीय चुनावको मिति नजिकिँदै जाँदा प्रमुख दलहरू चुनावी रणनीतिमा बनाउँदै गाउँ पस्न थालेका छन्। सत्तारुढ नेपाली कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी निर्णय सहित अभियान घोषणा गरिसकेका छन्। प्रमुख प्रतिपक्षी एमालेले सातै प्रदेशमा प्रशिक्षण सकेर चुनाव केन्द्रित अभियान सञ्चालन गर्दैछ। जनता समाजवादी र लोकतान्त्रिक समाजवादी सहित केही पार्टी गृहकार्यमा छन्।

कांग्रेसले चुनाव लक्षित गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ। उसले फागुन २९ देखि सुरु हुने एक महिने अभियानको लागि २७ गतेभित्रै जिल्ला गइसक्न पार्टी नेताहरूलाई निर्देशन दिएको छ। अभियान सके लगत्तै उम्मेदवार छान्ने र घरदैलो गर्ने कांग्रेको तयारी छ।

‘जिल्ला तह, ७ वटै प्रदेश, क्षेत्रीय समिति, प्रदेश निर्वाचन समिति, गाउँ पालिका अनि नगरपालिका र वडा हुँदै अहिले टोल समिति व्यापक निर्माण हुँदै छ। समग्र संरचनाहरूलाई पूर्ण रूपमा परिचालन गर्ने र हरेक घरमा हामी पुग्ने छौँ।’ कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने।

प्रतिपक्षी एमालेले सातै प्रदेशमा चुनाव लक्षित अगुवा कार्यकर्ता भेला गरिसकेको छ। चुनाव केन्द्रित गर्दै उसले जिल्ला स्तरीय कार्यकर्ता भेला गरेर पार्टी अध्यक्ष केपी ओली नै पार्टीको पक्षमा माहौल बनाउन देश दौडाहामा छन्।

‘जागरणका कामहरू गर्नका लागि हामीले घोषणापत्र तयारीको चरणमा प्रवेश गर्न लागेका छौँ। रणनीतिको लागि हामी छलफलमा छौँ, एमाले सचिव पृथ्वी सुब्बा गुरुङले उकेरासँग भने। कार्यकर्ता अभिमुखीकरण जिल्ला तहमा सम्पन्न गरिसकेको उसले पालिकास्तरमा जाने तयारी गरिरहेको छ।

माओवादी केन्द्रले पार्टीमा रहेको अमेरिकी सहयोग परियोजना सम्झौताको विवाद थाँती राखेर कार्य विभाजन सहित नेताहरूलाई खटाइसकेको छ। नेताहरू चुनाव केन्द्रित भइसकेका छन्।

‘सम्पूर्ण ध्यान आगामी चुनाव केन्द्रित गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै अघि बढ्छौँ। पार्टीलाई बलियो बनाउने र त्यसको लागि के-के उपाय अवलम्बन गर्न सकिन्छ त्यसतर्फ हाम्रो ध्यान जान्छ,’ माओवादी नेता कृष्णबहादुर महराले उकेरासँग भने।

सत्ता साझेदार दल एकीकृत समाजवादी पनि चुनावी प्रचारमा होमिएको छ। उसले वडा तहसम्म कमिटीहरू बनाउन आफ्नो ध्यान लगाएको छ। सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ। स्थानीय तहको चुनावको लागि दर्ता भएका ८० वटा दलहरूले चुनावी रणनीति बनाउँदै छन्।

‘चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको छ। अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जान्छौँ,’ एकीकृतका उपमहासचिव गङ्गालाल तुलाधरले भने।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरू पनि चुनाव केन्द्रित रणनीति बनाउन सक्रिय छन्। तर रणनीति बनाइसकेका छैनन्। उनीहरू अहिले आन्तरिक गृहकार्यमा व्यस्त देखिएका छन्। बुधवारै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने ७९ वटा दलको नाम तय गरिसकेको छ।

एक्लै कि गठबन्धन ?

बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण  गर्न पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अहिले सरकारमा रहेका दलको गठबन्धन कायमै राखेर जाने सङ्केत गरे।

पार्टीभित्र यस विषयमा एकमत छैन। तर उनी गठबन्धनकै कारण आफू प्रधानमन्त्री बन्न सकेको र आगामी कार्यकालमा समेत सरकारको नेतृत्व गर्न एक्लै चुनावमा सहभागी भएर सम्भव नहुने भन्दै गठबन्धनको विपक्षमा रहेका नेता र कार्यकर्तालाई बुझाउने प्रयासमा लागेका छन्।

उनले बिहीबार प्रस्टै गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न नमिल्ने बताए। अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले पनि एक्लै बहुमत ल्याउन नसक्ने देउवाको तर्क थियो। उनले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको भन्दै कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनमा गठबन्धन कायम गरेर जानेबारे छलफल हुने बताए।

उता माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनै पक्षमा छन्। पछिल्लो समय जनता समाजवादी पार्टी गठबन्धनबारे मौन नै छ। राष्ट्रिय जनमोर्चा एमसिसी पारित भएपछि रिसाए पनि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

उता प्रमुख प्रतिपक्षी दल एमालेले गठबन्धन बनाउनेतिर ध्यान दिएको छैन। उसको प्रयास वर्तमान सत्ता गठबन्धन भत्काउनेमै बढी केन्द्रित देखिएको छ। गठबन्धन कायम रहेको अवस्थामा उसले पनि लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूसँग स्थान हेरेर गठबन्धन गर्न सक्ने देखिन्छ।

फागुन २६, २०७८ बिहीबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।