अभिनेता हमाल काठमाडौँको मेयरको उम्मेदवार बन्लान् त !

अभिनेता हमाल काठमाडौँको मेयरको उम्मेदवार बन्लान् त !

काठमाडौँ : अभिनेता राजेश हमालले काठमाडौँको शौन्दर्यकरणप्रति चिन्ता व्यक्त गर्दै आफैँ एक पटक काठमाडौँको मेयर बन्नुपर्छ कि क्या हो भने। उनले आफ्नै युट्युब च्यानल राजेश हमाल अफिसियलमा भ्लगको प्रोमो राखेका छन् जहाँ उनले काठमाडौँको शौन्दर्यकरणप्रति चिन्ता व्यक्त गरेका छन्।

गाडीमा काठमाडौँ घुम्दै गरेका हमालले' अ डे विथ राजेश हमाल' नामक भ्लगको ट्रेलरमा भन्छन्' एकचोटी यो काठमाडौँ सहरको मेयर बन्नुपर्छ कि क्या हो!' उनले भनेका छन्' भाषणमा भनिरहेका हुन्छन्। सोच नपुगेर हो कि, डङ्ग नपुगेर हो कि। सहरलाई ब्युटीफाई गर्ने कुरामा कसैको ध्यान पुगेन।'

जब निर्वाचनको माहौल आउँछ हमालबारे चासो बढ्छ नै। कलाकारहरू राजनीतिकप्रति झुकाव राख्दै आएका छन्। अभिनेत्री करिष्मा मानन्धरले त एमालेमा सहभागी हुनेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर बिहीबारै छलफल गरेका छन्। र्यापर बालेनले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

उता कास्कीका लेखक गणेश पौडेलले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेर स्वतन्त्र उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन अटेरी अभियानै चलाइरहेका छन्।

स्थानीय तहको निर्वाचनको तयारीमा दलहरू तातिरहेको बेलामा हमालले मेयरमा उम्मेदवार बन्नुपर्छ कि भन्दा उनीप्रति पनि चासो भने बढाएको छ। तर विवाद त्यति नरुचाउने हमाल राजनीतिमा आउनेमा भने शङ्कै छ।

फागुन २६, २०७८ बिहीबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।