बुटवलको गौशलाः संरचना नबन्दै उद्घाटनको हतारो, छाडा चौपाया सबै सडकमा

बुटवलको गौशलाः संरचना नबन्दै उद्घाटनको हतारो, छाडा चौपाया सबै सडकमा

बुटवलः निकै तामझामका साथ गत कात्तिक १८  गते लक्ष्मीपूजाका दिन  बुटवलमा नन्दिनी गौशालाको उद्घाटन गरियो। शिवनगर सामुदायिक वन क्षेत्रमा मुक्तिनाथ धामका पिठाधीश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पाँच वटा गाईलाई पञ्चकन्याद्वारा प्रवेश गराएर गौशालाको शुभारम्भ गरेका थिए।

अहिले गौशाला सुरु भएको ४ महिना पुग्न थालेको छ। तर अहिले पनि गौशाला पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

सडकका छाडा चौपायलाई राख्ने भनिएको गौशालामा अहिलेसम्म संरचना नै पूरा निर्माण भएका छैनन्। संरचना पूरा नगरी उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी गौशाला उद्घाटनमा हतार गर्दा अहिले पनि छाडा चौपाय सडकमै छन्।

शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण घिमिरेले बिरामी पशु राख्ने सेड र पशु आहारा राख्ने सेड नहुँदा गौशालामा सबै चौपाया ल्याउन नसकिएको बताए। उनले संरचना निर्माणपछि मात्र बजारमा भएका सबै पशुहरूलाई ल्याइने बताए। 

उक्त गौशालामा बुटवल उपमहानगरपालिकाले आठ बिघा क्षेत्रफलमा फिनिसिन, सेड, गोठाला बस्ने भवन र पानीको प्रबन्ध उद्घाटनकै समयमा गरेको थियो।

उपमहानगरपालिकाका इञ्जिनियर योगेश चापागाईँ गौशालामा निर्माण हुन बाँकी संरचनाको लागत अनुमानका साथै नापजाँच भइसकेकाले अब छिट्टै निर्माणको काम सुरु हुने बताउँछन्। 

उनका अनुसार बिरामी पशु राख्ने सेड र पशु आहारा राख्ने सेडका लागि ४१ लाख अनुमानित लागत तयार भएको छ। हाल गौशालामा जम्मा ५० वटा मात्र चौपाय रहेका छन्।

शिवनगर सामुदायिक वनले गौ संरक्षण बापत वार्षिक उपमहानगरबाट रकम प्राप्त गर्नेछ। वनका अध्यक्ष घिमिरेले पशु आहारा बापत उपमहानगरपालिकाबाट वार्षिक १८ लाख रुपैयाँ दिने सहमति भएको बताए। 

‘पशु आहाराको पैसा दिएपछि हामीले सडकमा भएका सबै चौपाय यहाँ राख्नेछौ’, उनले भने।

बुटवल उपमहानगरपालिकाका वातावरण तथा अनुगमन महाशाखाका प्रमुख भुवाप्रसाद लुईँटेलले सेड निर्माण आवश्यकताका आधारमा थप गर्दै लैजान थालेको बताए। 

उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख विष्णु खनालले सेड निर्माणका लागि बजेट छुट्टिएको र बजेट पास हुने प्रक्रियामा रहेको बताए।

फागुन २६, २०७८ बिहीबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।