सुशान्तदेखि ऋषिसम्म, यी बलिउड सेलिब्रिटी जसले आफ्नो अन्तिम फिल्म हेर्न पाएनन्
एजेन्सीः बलिउड स्टार सुशान्तसिंह राजपुतले आफ्नो अन्तिम फिल्म हेर्न पाएनन्। उनको फिल्म 'दिल बेचारा' २४ जुलाई २०२० मा रिलिज हुँदा उनको मृत्यु भएको एक महिना नाघिसकेको थियो।
हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'बाट प्रभावित दिल बेचाराको चौतर्फी तारिफ भयो। तर 'हिरो'ले नै हेर्न पाएनन्।
यस्तै नियति भोग्नुपर्यो श्रीदेवीले पनि। उनको मृत्यु सन् २०१७ मा भयो। र उनको अन्तिम फिल्म 'जिरो' रिलिज भयो- सन् २०१८ मा। जिरोमा श्रीदेवीको केमियो रोल रहेको थियो।
बलिउडका दिग्गज चरित्र अभिनेता ओम पुरीले पनि आफ्नो अन्तिम चलचित्र हेर्न पाएनन्। सन् २०१७ मै हृदयघातका कारण मृत्युवरण गर्न पुगेका ओम पुरीको अन्तिम फिल्म 'ट्युबलाइट' हो। उनको मृत्युको ५ महिनापछि फिल्म रिलिज भएको थियो।
बलिउडको पहिलो सुपरस्टार राजेश खन्नाले पनि यस्तै नियति भोगे। उनको अन्तिम फिल्म 'रियासत' सन् २०१४ जुलाई १८ मा रिलिज भएको थियो। तर उनको दुई वर्षअघि नै उनको पनि मृत्यु भइसकेको थियो।
अभिनेता रणवीर कपुरका पिता ऋषि कपुर बलिउडका 'चकलेटी हिरो'का नामले प्रख्यात थिए। दुई वर्षअघि उनको पनि मृत्यु भयो। तर यतिबेला उनको चलचित्र 'शर्माजी नमकीन' रिलिजको तयारीमा छ। ३१ मार्चमा चलचित्र अमेजन प्राइममा रिलिज हुनेछ। यसमा ऋषि कपुरसँगै जूही चावला पनि रहेकी छिन्।
तर आफ्नो अन्तिम चलचित्र हेर्ने सौभाग्य ऋषि कपुरलाई पनि मिलेन।
फागुन २६, २०७८ बिहीबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।