रुसले प्रसूति र बाल अस्पतालमा हमला गरेपछि युक्रेनका राष्ट्रपतिले भने- 'नरसंहारको प्रमाण'
एजेन्सीः रुसले हालै युक्रेनको एक प्रसूति तथा बाल अस्पतालमा हवाई हमला गरेको छ। मरियपोलको सो अस्पतालमा हमला गर्दा १७ जना घाइते भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलाको निन्दा गर्दै भग्नावशेषमा मानिसहरू च्यापिएको बताएका छन्। यस्तै उनले सो हमलालाई 'युद्ध अपराध'को संज्ञा पनि दिएका छन्।
जेलेन्स्कीले अस्पतालभित्रैबाट एक भिडियो पनि सार्वजनिक गरेका छन्। जहाँ अस्पतालमा भएको क्षति प्रष्ट देखिन्छ। युक्रेनी अधिकारीहरूका अनुसार अस्पतालका कर्मचारी र बिरामीहरू घाइते भएका छन्।
सो हमला युद्धविरामको बेला भएको हुँदा युक्रेनले यतिबेला जमेर रुसको आलोचना गरिरहेको छ।
भिडियोमार्फत जेलेन्स्कीले रुसको युद्ध अपराधविरुद्ध सबै जुटेर विरोध गर्नुपर्ने बताएका छन्। उनले प्रश्न गरेका छन्- 'रुस कस्तो मुलुक हो जो प्रसूति र बाल अस्पतालबाट त्रसित छ र तिनलाई ध्वस्त पार्छ?'
यस्तै उनले अस्पतालमाथिको हमलालाई युक्रेनी जनताको नरसंहार हुने प्रमाणको रूपमा रहेको बताएका छन्।
फागुन २६, २०७८ बिहीबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।