गर्मीमा हेपाटाइटिसको जोखिम बढ्दो, गर्भावस्थामा सङ्क्रमण भए २५ प्रतिशतसम्मको मृत्यु

गर्मीमा हेपाटाइटिसको जोखिम बढ्दो, गर्भावस्थामा सङ्क्रमण भए २५ प्रतिशतसम्मको मृत्यु

काठमाडौंः देशभर विस्तारै गर्मी बढिरहँदा विभिन्न रोगहरूको सङ्क्रमण बढ्ने खतरा पनि उत्तिकै छ। विशेषगरी गर्मी मौसममा जाडो मौसमको तुलनामा हेपाटाइटिसको सङ्क्रमण बढी हुनेगर्छ। 

गर्मीमा जथाभावी खानपिन गर्नाले जन्डिसको जोखिम पनि बढी हुन्छ।

चिकित्सकहरूका अनुसार गर्भवती भएको दोस्रो त्रैमासिक (६ महिना) र तेस्रो त्राइमासिक (नौ महिना) मा हेपाटाइटिसको जोखिम बढी हुन्छ। हेपाटाइटिसलाई सामान्य भाषामा ‘जन्डिस’ भनेर चिनिन्छ। 

दोस्रो र तेस्रो त्रैमासिकमा हेपाटाइटिस भएको खण्डमा गर्भपतन नै हुनसक्ने पनि चिकित्सक बताउँछन्। यस्तै गर्भावस्थामा हेपाटाइटिस भएमा कलेजो बिग्रिएर गर्भवती महिलाको मृत्यु समेत हुने सक्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट सञ्योजक डा. शेरबहादुर पुन बताउँछन्। 

डा. पुनका अनुसार गर्भवती भएको तेस्रो त्रैमासिकमा हेपाटाइटिस ‘ई’ भएको खण्डमा करिब २५ प्रतिशत महिलाको मृत्यु हुनसक्छ।

प्रसूति गृहका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी पनि गर्भावस्थामा हेपाटाइटिस ‘ई’ भएको खण्डमा गर्भपतन हुने र महिलाको मृत्युको समेत जोखिम हुने बताउँछन्।

गर्भवतीमा हेपाटाईटिस ‘ई’ भएको खण्डमा कलेजो सुन्निने तथा कमजोर हुने उनले बताए। सङ्क्रमण भएको फलफुल, सागसब्जी तथा पानीको माध्यमबाट गर्भवतीमा हेपाटाइटिस ‘ई’ सर्ने जोखिम हुने डा. अधिकारी बताउँछन्। 

त्यसैले गर्भवती महिलाले विशेष सतर्कता अपनाउन र दूषित पानी, बासी तथा सडेगलेको खाना नखान चिकित्सकको सुझाव छ।

डा. अधिकारीका अनुसार गर्भवती भएको अवस्थामा शरीर कमजोर हुने भएकाले यस्तो अवस्थामा विभिन्न रोगको बढी जोखिम हुन्छ। 

पाँच किसिमका हेपाटाइटिस
सामान्यतया ‘ए’,‘बी’,‘सी’,‘डी’ र ‘ई’ गरी पाँच किसिमका हेपाटाइटिस हुन्छन्। जसमध्ये ‘ए’ र ‘ई’ हेपाटाइटिस दूषित पानीको माध्यमबाट सर्ने पुनले बताए। त्यसैले गर्मीमा ‘ए’ र ‘ई’ कै सङ्क्रमण बढी देखिन्छ।

‘बी’ र ‘सी’ हेपाटाइटिस रगतबाट सर्छन्। पुन भन्छन्, ‘सङ्क्रमितको रगत तथा सङ्क्रमण भएको तरल पदार्थ शरीरमा प्रवेश गर्यो भने हेपाटाइटिस सर्ने जोखिम हुन्छ।’

सङ्क्रमितको रगत, सुई तथा अन्य माध्यमबाट हेपाटाइटिस सर्ने जोखिम हुन्छ। हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमण भएको खण्डमा समस्या बढ्दै जाँदा कलेजोले काम नगरी क्यान्सरको समेत जोखिम हुन्छ। 

‘ए’ हेपाटाइटिस सामान्यतया चार हप्तादेखि ६ हप्तासम्ममा आफैँ ठीक हुने पुन बताउँछन्।

उनका अनुसार सामान्यतया हेपाटाइटिस ‘ए’ र ‘ई’ आफैँ ठीक हुने भए पनि ‘बी’ र ‘सी’ का लागि भने विशेष किसिमका औषधि हुन्छन्। 

हेपटाइटिस ‘बी’ निर्मूल नहुने भए पनि भाइरस नियन्त्रण भने गर्न सकिन्छ। तर हेपटाइटिस ‘बी’ युवाअवस्थामा भएको खण्डमा भने आफैँ हराउने सम्भावना पनि धेरै हुने चिकित्सक बताउँछन्। 

‘बी’बाहेक सामान्यतया सबै हेपाटाइटिस निको हुने डा. पुनले बताए।

आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली जन्डिसको उपचारका लागि आयुर्वेदिक औषधि सुरक्षित भएकोले गर्भवतीले आयुर्वेदिक औषधि सेवन गर्नसक्ने बताउँछन्। 

तर, ‘रस’ बाहेकको आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने उनको सुझाव छ। जडिबुटीजन्य औषधिको सेवन गर्दा चिकित्सकको सल्लाहमा सेवन गर्नुपर्ने डा. ज्ञवालीको सुझाव छ।

रोगको लक्षणका रूपमा जन्डिस
जन्डिस आफैँमा रोग नभई कुनै रोगको लक्षण भएको चिकित्सक बताउँछन्। विभिन्न किसिमका रोगको लक्षणका रूपमा जन्डिस देखापर्ने डा. पुन बताउँछन्। 

पुनका अनुसार हेपाटाइटिस भएको खण्डमा शरीरको विभिन्न अंग पहेँलो देखापर्छ। ‘हेपाटाइटिसको लक्षणको रूपमा विशेषगरी आँखाको सेतो भागमा पहेँलो देखिन्छ,’ उनी भन्छन्, 'शरीरका अन्य भागमा पनि पहेँलो देखापर्छ। तर आँखा सेतो हुने भएकोले पनि आँखामा चाँडै पहेँलो देखापर्छ।' 

यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, पेट दुख्ने, शरीर चिलाउने जस्ता जन्डिसका लक्षण हुन्। जन्डिस भएको अवस्थामा दिसा कमेरो माटो जस्तो सेतो हुने, कोकाकोलाजस्तो धमिलो रंगको पिसाब आउने जस्ता लक्षण देखिन्छन्। 

त्यसैगरी हल्का ज्वरो आउँछ। यस्तो अवस्थामा स्वास्थ्य जाँच गराउन चिकित्सकको सुझाव छ। चिकित्सकको मतअनुसार भाइरस तथा अन्य विभिन्न स्वास्थ्य समस्याका कारणले जन्डिस देखापर्छ। 

डा. पुन शरीरको कुनै अंगमा पुगेर पित्त रोकिएको तथा पित्त बग्ने बाटो बन्द भएको खण्डमा हेपाटाइटिस हुन सक्ने बताउँछन्। शरीरभित्र भएका विभिन्न रोगका कारण शरीरबाहिर निस्कने पित्तमा विभिन्न किसिमले रोकावट निम्तिएको खण्डमा हेपाटाइटिसका लक्षण देखापर्ने डा. पुन बताउँछन्।

चिकित्सकको मतअनुसार हेपाटाइटिस भएको अवस्थामा कलेजो बिग्रने तथा कलेजोको काम गर्ने क्षमतामा ह्रास आउँछ। 

दिसा-पिसाबको माध्यमबाट शरीरबाहिर जानुपर्ने वस्तु अवरोध भएर रगतभित्र फैलँदा हेपाटाइटिसको समस्या निम्तने डा. पुनले बताए। 

उनले भने, ‘सङ्क्रमितको दिसाबाट हेपाटाइटिस सर्नसक्छ।’ सङ्क्रमितको दिसा मिसिएको लागेको पानी तथा खाद्यपदार्थ अन्य व्यक्तिले सेवन गर्दा हेपाटाएटिस ‘ई’ सर्ने जोखिम हुन्छ।

गर्मीमा किन बढी जन्डिस?
गर्मीमा पानी बढी पिइन्छ। र डा. पुनका अनुसार हामीले पिउने पानी दूषित भएको खण्डमा हेपाटाइटिस 'ई’ को समस्या देखिन्छ। 

हेपाटाइटिस सङ्क्रमित बिरामीको दिसा पानीमा मिसिएको हुनसक्छ। त्यसैले पानी उमालेर मात्रै पिउन चिकित्सकको सुझाव छ। 

प्रशस्त मात्रामा पानी पिउनुपर्छ। विशेषगरी गर्मी मौसममा जाडो मौसमको तुलनामा हेपाटाइटिस सङ्क्रमितको सङ्ख्या बढी हुने भएकाले यो मौसममा जथाभावी खानपिन गर्नाले जन्डिसको पनि जोखिम बढी हुन्छ। 

बासी तेलमा पकाएका खानपानले हेपाटाइटिसको जोखिम हुने भएकाले जथाभावी खानपान गर्नुहुँदैन। ताजा र सफा खानपानले हेपाटाइटिस र जन्डिसबाट बच्न सकिन्छ।

पहेँला पदार्थ खान हुन्न भन्ने आधार छैन
जन्डिस भएको अवस्थामा बेसार खान हुँदैन भन्ने भ्रम छ। तर पहेँला खाद्यपदार्थ खानै नहुने भन्ने वैज्ञानिक आधार नभएको डा. पुन बताउँछन्। 

उनी भन्छन्,‘हेपाटाइटिस भएको समयमा पहेँला खाद्यपदार्थ खान हुँदैन भन्ने वैज्ञानिक आधार पाइँदैन। सन्तुलित रूपमा भने खानपान गर्नुपर्छ।' 

तर, रक्सी सेवन जस्ता कारणले कलेजोमा खराबी भएर जन्डिस देखिने भएकाले रक्सी सेवन नगर्न चिकित्सकको सुझाव छ। 

त्यसैगरी हेपाटाइटिस भएको अवस्थामा चिकित्सकको सुझाव तथा परामर्शबिना औषधि सेवन नगर्न डा. पुनको सुझाव छ। 

हेपाटाइटिस भएको अवस्थामा झोलिलो तथा पोषिलो खाद्यपदार्थ खानुपर्ने हुन्छ। गर्मीमा विशेष सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

फागुन २६, २०७८ बिहीबार ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।