मजदुरको हत्या गरेर फरार गुरुङलाई १६ बर्षपछि बहराइनबाट ल्याइयो

मजदुरको हत्या गरेर फरार गुरुङलाई १६ बर्षपछि बहराइनबाट ल्याइयो

पोखरा : पोखरामा एक मजदुरको हत्या गरेर फरार भएका अशोक गुरुङलाई १६ बर्षपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

सुनसरीबाट मजदुरी गर्न १६ वर्ष अघि पोखरा आएका २० वर्षीय राजन राईको हत्या गरेर फरार भएका गुरुङलाई इन्टरपोल मार्फत पक्राउ गरी बहराइनबाट मङ्गलवार नेपाल ल्याइएको थियो।

आरोपित गुरुङलाई जिल्ला अदालत कास्कीबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। 

पोखराको लेखनाथस्थित मजदुरी गर्ने राइको कास्की सातमुहानेका गुरुङले हत्या गरेपछि बहराइन पुगेका थिए। अभियुक्त गुरुङले २०६३ वैशाख २९ गते बेलुकी कुटपिट गरी सख्त घाइते बनाएका मजदुर राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो।

प्रहरीको अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका आरोपी गुरुङ वैदेशिक रोजगारीको लागि बहराइन पुगेको खुलेपछि पक्राउ गर्नकालागि कास्की प्रहरीको अनुरोधमा प्रहरीले इन्टरपोल मार्फत २०७८ मङ्सिर २७ मा ‘रेड कर्नर नोटिस’ जारी गरिएको थियो।
रेड कर्नर नोटिस जारी भए लगत्तै पुस १ गते बहराइनमा पक्राउ परेका गुरुङलाई इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते बहराइन प्रहरीको सहयोगमा मङ्गलवार काठमाण्डौं ल्याएको थियो ।

फागुन २५, २०७८ बुधबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।