सुर्खेत विमानस्थलका लागि वैकल्पिक स्थान खोजिँदै
सुर्खेतः सुर्खेत विमानस्थलका लागि वैकल्पिक स्थान खोज्न थालिएको छ। हालको विमानस्थललाई विस्तार गर्दा व्यक्तिगत जग्गा, सरकारी संरचना र विद्यालयका संरचना लगायतको समस्या आउने भएका कारण नयाँ ठाउँको खोजी गरिएको हो।
विमानस्थलको उत्तर–दक्षिण मोहडातर्फ विस्तार गर्दा मुआब्जा लगायतका समस्या देखिएपछि वैकल्पिक ठाउँको खोजी गर्न कर्णाली प्रदेश सरकारले चासो देखाएको छ। वैकल्पिक विमानस्थलका लागि हालसम्म भेरीगंगा नगरपालिकाको छिन्चुस्थित मदानेचौर र भेरी नदी पुलनजिकैको वीरेन्द्रनगरको लाटीकोइलीस्थित नेपाल ट्रस्टका नाममा रहेको ३४ बिघा जग्गा सम्भावित स्थलको रूपमा चर्चामा रहेको मुख्यमन्त्री कार्यालयका सचिव भरतकुमार शर्माले बताए।
हाल सञ्चालनमा आएको विमानस्थलको रनवे १२ सय मिटर मात्रै छ। विमानस्थलमा तीन सय ५५ मिटर रनवे थप्न मुआब्जा र जग्गा सम्याउन आठ अर्ब ४१ करोड रुपैयाँको प्रस्ताव गरी केही बजेट समेत संघीय सरकारले पठाएको थियो।
मापदण्डअनुसार नै विस्तार र सञ्चालनमा ल्याउन नयाँ विमानस्थल बनाउनुभन्दा बढी खर्च लाग्ने र त्यसको सञ्चालन गर्न करिब आठ वर्ष समय लाग्ने भएका कारण पनि विकल्प खोजिएको सचिव शर्माले जानकारी दिए।
गत वर्षको असोज १६ मा सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको थियो। सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गराउन सम्झौता भएको थियो।
सम्झौतामा विमानस्थलको धावनमार्गको लम्बाइ १५ सय मिटरसम्म विस्तार तथा स्तरोन्नति गरी प्रदेशस्तरीय 'हब' विमानस्थलको रूपमा विकास गर्न दुवै पक्ष मन्जुर रहेको उल्लेख छ। जसअनुसार जग्गाको मुआब्जा वितरण गर्दा हुने खर्चको ५०–५० प्रतिशत रकम प्रदेश सरकार र प्राधिकरणले व्यहोर्ने सम्झौता गरिएको थियो।
तर त्यसरी विमानस्थल विस्तार गर्दा आफूहरूको उठिबास हुने भन्दै स्थानीयले निरन्तर दबाब दिएपछि विमानस्थल विस्तारमा समस्या देखिएको हो।
सुर्खेत विमानस्थल विस्तार गर्दा ३० बिघा जग्गा अधिग्रहण हुने र अमर ज्योति माविसहित अमरदीप क्याम्पस, हस्तवीर आधारभूत विद्यालय, तीन वटा निजी विद्यालय, स्वास्थ्यचौकी, सहकारी र मानव सेवा आश्रमजस्ता सार्वजनिक संरचनासहित पाँच सय घरपरिवार विस्थापित हुने अनुमान छ।
अहिले ४२ सिटेभन्दा ठूला जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन सकेका छैनन्। चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारले ५०–५० करोड गरी एक अर्ब रुपैयाँ विनियोजन गरेका छन्।
फागुन २५, २०७८ बुधबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।