एमसिसी सम्झौता विकासको कोसेढुंगा हुने गृहमन्त्रीको दाबी

एमसिसी सम्झौता विकासको कोसेढुंगा हुने गृहमन्त्रीको दाबी

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पास भएको एमसिसी विकास निर्माणका लागि कोसेढुंगा सावित हुने दाबी गरेका छन्। तिलोत्तमा स्थित शान्ती नमुना माध्यमिक विद्यालयको ६३ औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले एमसिसीको आर्थिक सहयोगबाट जलस्रोतको उपयोग गरी विद्युत उत्पादन गर्ने र यसको विक्रिबाट आर्थिक आर्जन गर्न सकिने बताए। 

उनले शान्ती सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताए। सुरक्षा मामिलामा खलल पुग्ने गतिविधिप्रति सरकार कठोर हुने भन्दै उनले नागरिकको सुरक्षाका लागि सरकार गम्भिर रहेको बताए।

सोही अवसरमा गृहमन्त्री खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे भवन, एचएम ल्यावको उद्घाटन गरेका थिए। यसैगरी मन्त्री खाँणले १६ कोठेभवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन समेत गरेको सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए। 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले राज्यबाट सामुदायिक विद्यालयले प्राप्त सहयोग नपाएको गुनासो गरे। यसैगरी तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरको शिक्षा विकासमा जनप्रतिनिधी आएपछि धेरै काम भएको भन्दै तिलोत्तमा नगरभित्रको शैक्षिक सुधारको संकेत अब देखा पर्न थालेको बताए।

कार्यक्रममा फत्तबहादुर-देउमती काउँचा स्मृति पत्रकारिता पुरष्कारबाट शिक्षा पत्रकार समुहका केन्द्रीय अध्यक्ष एवं बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ललाई सम्मान गरिएको थियो।
विद्यालयमा हाल करिव ४३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ५० जना शिक्षक कर्मचारी कार्यरत छन्। 

फागुन २४, २०७८ मंगलबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।