लोक सेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन सकियो

लोक सेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन सकियो

बुटवल : २ दिनसम्म रुपन्देहीको तिलोत्तमा जारी लोक सेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन सकिएको छ। सम्मेलनले ०७६ बैशाख १६ गते निर्धारण भएको लोक सेवा आयोग र प्रदेश  लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको मर्यादाक्रमलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय सहित सम्मेलन सकिएको हो। 

सरकारले मर्यादाक्रम सम्बन्धी कानूनमा नियुक्ति र वर्खास्तको प्रक्रियाका साथै वहन गर्नुपर्ने जिम्मेवारीलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय भएको आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए। 

त्यस्तै उनले प्रदेश लोकसेवा आयोगको परिक्षा दस्तुर पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेग संग तादाम्य हुने गरी एकरुपताका लागि पहल गर्ने समेत निर्णय भएको बताए। 

परिक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन हरेक आर्थिक बर्ष बार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोक सेवा आयोगहरुले एकै पटक प्रकाशन गर्ने पनि निर्णय सम्मेलनले गरेको छ। त्यस्तै संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानिय सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने विषयमा सम्बन्धीत कानुन वा लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था मिलाउन पहल गर्ने समेत उनले बताए।

कुनै लोक सेवाले कारबाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगले सञ्चालन गर्ने परिक्षामा आवेदन गर्न नपाउने विषयमा पनि ऐनमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ। उनले प्रदेश तथा स्थानीय तहहरुले प्रक्रिया विपरित बढुवा, तहबृद्धि गर्ने कार्यहरुलाई प्रदेश लोकसेवा आयोगले कानुन अनुसार रद्द तथा कारबाही अगाडी बढाउने निर्णय पनि सम्मेलनले गरेको छ।

त्यस्तै सम्मेलनले योग्य सक्षम र ईमान्दार जनशक्तिलाई सार्वजनिक सेवामा आकर्षित गर्ने गरी घोषणापत्र समेत बनाएको छ। घोषणा पत्रमा नविनतम  प्रविधिलाई प्राथमिकतामा राखी सार्वजनिक प्रशासनमा जनताको अपेक्षा अनुसार जनशक्ति भित्राउन प्रतिबद्ध हुने उल्लेख समेत छ।

सम्मेलनमा ७ वटै प्रदेश लोकसेवा आयोगका प्रमुखहरुको सहभागिता रहेको छ। सम्मेलनले हरेक बर्ष फागुनको २३ र २४ गते लोक सेवा आयोगको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ।
 

फागुन २४, २०७८ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।