तनहुँको हिरासतमा रहेका पलको पर्खाइमा छ गैँडाकोट प्रहरी

तनहुँको हिरासतमा रहेका पलको पर्खाइमा छ गैँडाकोट प्रहरी

काठमाडौँ : नाबालिगको बलात्कार गरेको जाहेरीका आधारमा आठ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् अभिनेता पल शाह। उनै पलको प्रतीक्षामा छ अर्को प्रहरी कार्यालय'जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी।

तनहुँमा मात्रै हैन इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत नाबालिगका परिवारले पलविरुद्ध बलात्कारमा जाहेरीमा दिएका छन्। गीतको म्युजिक भिडियोको सुटिङको बेलामा गैँडाकोट रिपोर्टमा शाहले पटक-पटक बलात्कार गरेको दाबी सहित जाहेरी दर्ता भइसकेको छ।

पीडित एकै अनि आरोपी पनि एकै भए पनि भिन्दै जिल्लामा जाहेरी दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँले झैँ जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ। पीडित र पीडकको बयानदेखि लिएर घटनास्थलको मुचुल्का र साक्षीसम्मको बयान हुन्छ उता नवलपरासीमा पनि।

तर यता तनहुँमै पलविरुद्ध अनुसन्धान जारी रहेकाले नवलपरासीको प्रहरीले पललाई लगेर आवश्यक प्रक्रिया अगाडि बढाउन पाएको छैन।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी डिएसपी दिलीप कुमार गिरीले शाह विरुद्ध बलात्कारको उजुरी परेकाले तनहुँको अनुसन्धानलाई असर नगर्ने गरी उपयुक्त समयमा तनहुँ प्रहरी र सरकारी वकिलसँगको समन्वयमा नवलपरासी झिकाएर अनुसन्धान गर्ने बताए।

प्रहरीले अनुसन्धान सुरु गरेसँगै दमौलीबाट भागे कथित अभियन्ता र युट्युवर, आरोपी भेट्ने पातलिए

एकै पीडित र एकै आरोपी हुँदा पनि किन अलग अलग अनुसन्धान भन्ने जिज्ञासामा एक जानकार प्रहरीले पीडक र पीडित एकै भए पनि मतियारहरू अलग हुनसक्ने र प्रमाणको प्रकार अलग हुनसक्ने अलग-अलग अनुसन्धान गर्नुपर्ने भएकाले अलग अनुसन्धान गरिएको उनले बताए।

कसरी अगाडि बढ्छ मुद्दा ?

पीडित एकै अनि आरोपी पनि एकै भए पनि भिन्न जिल्लामा घटना भएकाले तनहुँसँगै नवलपरासी जिल्लामा समेत अलग्गै अनुसन्धान अगाडि बढ्नेछ। बयान लगायतका अनुसन्धानका सबै प्रक्रिया अलग-अलग हुनेछ। तनहुँ प्रहरीले जिल्ला महान्यायाधिवक्ता कार्यालय तनहुँमा प्रस्तावित राय सुझाव बुझाउने छ भने उता नवलपरासीले जिल्ला न्यायाधीवक्ताको कार्यालय नवलपरासीमै।

त्यसपछि अलग-अलग जिल्ला अदालतमा मुद्दा पुगेपछि अदालतले चाहेमा अलगै सुनुवाइ सुरु गर्न पनि सक्छ दुवै मुद्दालाई एकै जिल्ला अदालतमा राखेर हेर्न आदेश दिन पनि सक्छ।

फागुन २३, २०७८ सोमबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।