'राजा मरेको समाचार छाप्दा हात-खुट्टा लुला भए'
२०३४ सालमा जब कुलेखानीको ड्याम निर्माण सुरु भयो, मकवानपुरबासीको रोजगारीको थलो बन्यो कुलेखानी परियोजना। परियोजनाका हाकिम थिए, हिमालयकुमार सिंह। नेपाल सरकारका उपसचिव सिंहकै नेतृत्वमा परियोजनाको काम थालिएको थियो।
चित्लाङ, हालको थाहा नगरपालिका- ८ का १३ वर्षीय केदारप्रसाद लामिछानेले कुलेखानीको ड्याम मकवानपुरका स्थानीयको रोजीरोटीको सहारा बनिरहेको नजिकबाट देखिरहेका थिए।
तीन दाजु-भाइमध्ये माइला केदार परिवारलाई आर्थिक रुपमा केही सहज होस् भनेर ड्यामा मजदूरी गर्न गए।
त्यतिबेला आज जस्तो बालश्रमका कुरा उठ्दैनथ्यो। आर्थिक रुपमा भार कम कसरी गर्ने भन्नेमा धेरै नेपालीको सोच रहन्थ्यो। उत्पादन कम हुँदा अत्यावश्यक सामग्री किन्न पनि ऋण नै लिनुपर्ने अवस्था धेरैको थियो। सोही अवस्थाको एक प्रतिबिम्व थियो केदारको परिवार।
ड्याममा गाउँलेहरुसँगै केदारले बालुवा बोके, माटो खने। करिब एक वर्ष जस्तो काम गरेपछि उनी विकल्प खोज्न थाले। विकल्प खोज्न सघाउने काम चाहिँ तीन वर्षअघि उनी भारत भागेको घटनाले गर्यो।
१० वर्षको उमेरमै केदार साथी-भाइको लहलहैमा पैसा कमाउन भन्दै भारत गएका थिए। पैसा कमाउन त्यति सजिलो थिएन। उनी केही समयमै भारतबाट घर फर्किए। तर उपाय खोजियो भने पैसा कमाइन्छ भन्ने बोध भने उनलाई भयो भारत बस्दा।
०००
२०३५ सालमा १४ वर्षको उमेरमा उनी तीन हजार रुपैयाँ बोकेर काठमाडौं छिरे। त्यही तीन हजारले उनले ठमेलस्थित सरस्वती क्याम्पस अगाडि पुस्तक पसल खोले।
केदारलाई काठमाडौंमा दह्रो सहारा बनेर उभिए उनै कुलेखानी परियोजनाका हाकिम हिमालयकुमार सिंह।
कुलेखानीमा बालुवा, ढुंगा, माटो बोकिरहँदा हाकिम सिंहसँग केदारको चिनाजानी भएको रहेछ। काठाडौंमा परिवारका कोही पनि थिएनन्। चिनेका उनै हाकिम भए। सिंहले पनि घरमा बाहुन केटो राख्दा दैनिकीमा सहज हुने ठाने।
मिहिनेती, सोझो गाउँले केटोलाई काठमाडौंमा आफ्ना सपना पूरा गर्न सहज थिएन, त्यो पनि निम्नवर्गबाट। केदार ६ वर्षसम्म पुजारी भएर सिंहको घरमा बसे।
‘६ वर्ष म सिंहको घरमा नै बसे। ठमेलमा पुस्तक पसल गर्थें,’ केदार भन्छन्, ‘पहिले-पहिले त्यति गाह्रो थिएन जागिर खान। साना कर्मचारीको पनि भनसुन लाग्थ्यो। मैले सिंहलाई भनिरहेको पनि थिएँ।’
सिंहले केदारको कुरा सुन्न ६ वर्ष लगाए। २९ सय रुपैयाँबाट सुरु गरेको सरस्वती क्याम्पसअघिको पुस्तक पसलबाट केदारले बिदा लिने भए। उनी व्यवसायीबाट सरकारी जागिरे बने।
व्यवसायबाटभन्दा पनि सरकारी जागिरबाट आर्थिक उन्नति गर्न सकिन्छ भन्ने आमनेपाली धरणा आज पनि छ। केदारको समयमा त यो धारणा निकै बलशाली थियो।
०००
केदारले २०४१ साल चैतमा गोरखापत्र संस्थानको कार्यालय सहयोगीका रुपमा नियुक्ति लिए। पाँच वर्षसम्म गोरखापत्रका चिठीहरु ओहोर-दोहोर गराए। अन्य कागजपत्र पनि उनकै हातबाट नै हाकिमहरुको हात-हातमा पुग्यो।
केदार प्रशासन सहयोगीबाट कम्प्युटर शाखामा सारिए। त्यहाँ उनलाई हाइसुख नै भयो।
‘काम खासै हुँदैनथ्यो। कम्प्युटर चलाउन जान्ने होइन म। कसैले तार बिग्रियो, ल्याइदे भने ल्याइदिने, धुलो टाँसिए पुछ्दिने यस्तै काम भयो,’ केदारले भने।
उनी सात वर्षसम्म गोरखापत्रका कम्प्युटर हिफाजतमा खटिए।
३७ वर्षदेखि निरन्तर गोरखापत्रका विभिन्न शाखामा काम गरेका केदार चार वर्ष हुलाक टिकट टाँस्न वितरण शाखामा पनि कार्यरत भए।
उनले देशका हरेक जिल्लामा जाने गोरखापत्र प्रकाशनबाट निस्कने म्यागनिज, पत्रिकाहरु खामबन्दी गरे।
केदारले ती प्रकाशित सामग्रीहरु तातै खामबन्दी गरे पनि धेरै चिसा भएपछि मात्र जिल्ला-जिल्लामा पुग्थे। ती सामग्री पुग्न नाम चलेकै ठाउँहरुमा तीनदेखि चार दिन कम्तीमा पनि लाग्थ्यो।
उनी भन्छन्, ‘पूर्वमा सामग्री पठाउन सिजिलो थियो। एक/दुई दिनमै पुग्थ्यो। पश्चिममा पठाउन गाह्रो। यातायातको असुविधाले पत्रिका सुर्खेत पुग्न नै कम्तीमा चार दिन लाग्थ्यो। त्यहाँबाट अन्त पुग्न अझ कति दिन लाग्थ्यो होला।’
केदारले पठाएका ताजा सामग्री एक महिनासम्ममा पनि देशका अन्तर-कुन्तर पुग्दैनथे। तर पनि उनी पठाइरहन्थे। यो उनको जागिर थियो।
४१० रुपैयाँमा जागिरे बनेका केदार प्रशासन सहयोगी, कम्प्युटर शाखा, वितरण शाखा हुँदै छपाइ शाखामा पुगे।
जीवनको २७ वर्ष उनले गोरखापत्र छापे। केदारले गोरखापत्रमा छापेका सामग्रीको असरले कतिका जीवन फेरिए होलान्। कतिका सुख बढे होलान्। कतिका दु:ख थपिए होलान्।
उनी सोच्छन्, ‘सुखदेखि दु:खसम्मका समाचार छापियो। राजा मरेकोदेखि प्रजा आपतमा परेकोसम्म समाचार छापियो। हामीले प्रेसमा गरेको मिहिनेतले धेरै पढ्न योग्य सामग्री छापिए।’
सिसा पिनेर पत्रिका छाप्ने जमानामा काम गरेका केदारले ४० हजार प्रतिघण्टाका दरले छाप्न सक्ने मेसिनसम्म चलाए। आधुनिक मेसिनले छपाइमा काम गर्नेलाई दुई/तीन घण्टा मात्र मिहिनेत गरे पुग्ने बनाएको छ। मसी हाल्न, कागज हाल्न र कागज च्यातियो कि भनेर ख्याल गर्न सके पत्रिका छपाइको काम खासै गाह्रो नहुने बताउँछन् केदार।
८ वर्षअघि गोरखापत्रले खरिद गरेको आधुनिक मेसिनले केदारहरुलाई केही राहत दियो।
‘सिसा पगालेर पत्रिका छाप्नु पर्थ्यो। पगालेको सिसा बट्टामा राखी, प्लेट बनाउने ठाउँमा राखेपछि छपाइको काम सुरु हुन्थ्यो। पत्रिका छाप्न मेसिनमा भिजाएको कपडा हाल्नुपर्थ्यो। हातमा ठेलैठेला हुन्थ्यो काम गर्दा,’ केदार भन्छन्, ‘गाउँमा खेतीपाती गर्दा पनि त्यति ठेला उठ्दैन होला, जति पुरानो मेसिन चलाउँदा उठ्थ्यो।’
मेसिन बिग्रिरहने समस्या त छँदै थियो, कागज तोडिएला भन्ने पिर अर्कोतिर हुन्थ्यो। कागजमा अनावश्यक काला धब्बा देखिएलान् भनेर सजग भइरहनुपर्ने। केदारले २७ वर्ष राति काम गरे। र, देश-दुनियाँलाई खबर बाँडे।
देश-दुनियाँलाई खबर बाँडिरहँदा गोरखापत्रको कमाइले मात्र परिवार पाल्न गाह्रो भइरहेको थियो उनलाई। त्यही समय गोरखापत्रको एकलौटी राज तोड्दै नयाँ-नयाँ पत्रिकाहरु बजारमा आउन थाले। यही मेसोमा केदार गोरखापत्रसँगै कान्तिपुरमा पनि आवद्ध भए।
‘कान्तिपुरको सुरुको पत्रिका छाप्न त पाइनँ। तर एक महिनापछिबाट १० वर्षसम्म मैले कान्तिपुर पत्रिका छापें,’ केदार भन्छन्, ‘त्यही बेला मेरो जीवनमा नसोचेको घटना भयो।’
मनोहरा खोला किनारमा रहेको कान्तिपुरको छपाइ कारखानामा जाँदै गर्दा केदारलाई शाही औषधि लिमिटेडको गाडीले ठक्कर दियो। उनी घाइते भए। अदालतमा मुद्दा समेत चल्यो।
२५ वर्षअघि भएको उक्त घटनाको निसानी आज पनि छ उनीसँग। उनका पाखुरामा राखिएको स्टिल आजसम्म पनि निकालिएको छैन। त्यसबेला अस्पतालमा केदारले १ लाख ५५ हजार रुपैयाँ तिर्नुर्यो। कान्तिपुरले ७० हजार रुपैयाँ बेहोर्यो। शाही औषधि लिमिटेडले केदारकै गल्ती देखाएर मुद्दामा चलखेल गरेको उनको आरोप छ।
‘न्याय बिकेपछि कसको के लाग्छ र?,’ केदार भन्छन्, ‘औषधि लिमिटेड त सरकारी, सरकारमा पहुँच पनि। प्रहरीलाई पैसा खुवाएर मुद्दा मिलाए। मलाई उपचार खर्च भनेर जम्मा पाँच हजार रुपैयाँ दिए।’
०००
कान्तिपुरपछि केदार समाचारपत्रसँग जोडिए। गोरखापत्रमा त छँदै थिए। समाचारपत्रमा उनले ८ वर्ष काम गरे। त्यहीबीच २०५८ सालमा राजदरबारमा ठूलो घटना भयो। केदार सम्झिन्छन्, ‘म समाचारपत्रमा थिएँ। पत्रिका छाप्ने सुर हुँदै थियो। राजदरबारमा हत्याकाण्ड मच्चियो भन्ने खबर आयो। त्यो दिन हात-खुट्टा लुला भए। मन भारी बनाएर राजा मरेको खबर छापें।’
कुनै पनि कुराको विनास हुनु सहज प्रक्रिया हो भन्ने लाग्दैन केदारलाई। 'राजा भनेका राजा नै हुन्। त्यसैले त राजा मरेको खबर सुन्दा मेरा हात-खुट्टा लुला भए नि,' केदार सुनाउँछन्।
राजा वीरेन्द्रको वंश नाश भएको खबर समाचारपत्रमा गोरखापत्रभन्दा पहिल्यै आएको थियो रे। राजा मरेको खबर छाप्ने उनी र समाचारपत्र नै पहिलो होला भन्ने अनुमान गर्छन् केदार।
‘यत्रो वर्ष पत्रिका छापियो। अब त हातले पनि राम्रोसँग काम गर्दैन। आधुनिक मेसिन भए पनि कागजका भारी रोलहरु गुडाउन नसक्ने भएँ,’ केदार भन्छन्, ‘धेरैलाई धेरै कुरा पढाइयो। अब त्यही पढ्ने कुरालाई चिटिक्क मिलाउने ठाउँमा सरुवा भएको छु।’
केदार एक महिनादेखि गोरखापत्रको ब्यान्डिङ शाखामा छन्। त्यहाँ उनी युवा मञ्च, मधुपर्क लगायत गोरखापत्रका सहप्रकाशनलाई पुस्तकको रुप दिन्छन्।
उमेरका कारण अवकाश लिने सोचमा रहेका केदार गोरखापत्रका बारेमा सबै कुरा खोतल्न चाहँदैनन्। यतिका वर्ष काम गरेको संस्थाबाट स-सम्मान बिदा हुनु छ उनलाई।
केदारले धेरै प्रकारका समाचार छापेका छन्। अब बाँकी रहेका केही वर्ष छापिएर आएका पत्रपत्रिकालाई निश्चित आकार दिन खटिने छन्।
०००
सामान्य परिवारबाट उठेका केदारको हाल काठमाडौंमा घर छ। दुई सन्तानका पिता उनले सन्तानलाई बढाए, पढाए। उनी यही जीवनमा खुसी छन्। तर लामो समय एकै पेसा गरेका केदार आफूजस्ता भुइँमान्छेलाई समाजले नसम्झिए पनि पत्रिकारिताले सम्झियोस् भन्ने चाहना राख्छन्।
‘पत्रकार नभएर पनि पत्रकार बनेको मान्छे हुँ म,’ केदार ठट्टाको शैलीमा भन्छन्, ‘हामीले गर्दा धेरै मान्छेले उज्यालो देखे। तर हामी पर्दा पछाडि नै रह्यौं। कोही बेला त आफ्नो मिहिनेतको कतै कदर नभएको हो कि भन्ने लाग्दो रहेछ।’
यसो भनिरहँदा केदारलाई पर्दा अगाडि आउने रुचि छ भन्ने होइन। तर पनि केदारहरु नेपाली पत्रकारिताका धन्यवादका पात्र हुन् भन्ने चाहिँ हाम्रो पत्रिकारिताले भुल्नु हुदैन। अन्त्यमा, केदार यत्ति सम्झाउन चाहन्छन्।
फागुन २३, २०७८ सोमबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।