प्रहरीले अनुसन्धान सुरु गरेसँगै दमौलीबाट भागे कथित अभियन्ता र युट्युवर, आरोपी भेट्ने पातलिए

प्रहरीले अनुसन्धान सुरु गरेसँगै दमौलीबाट भागे कथित अभियन्ता र युट्युवर, आरोपी भेट्ने पातलिए

तनहुँ : नाबालिग गायिकाको बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नायक पल शाह (पूर्ण विक्रम) को पक्षमा माहौल बनाउन दमौली पुगेका कथित अभियन्ता, युट्युबवर र भेट्न जाने कलाकार काठमाडौँ फर्किएसँगै दमौलीमा रहेको प्रहरी कार्यालय अहिले सुनसान छ। न बाहिर भिडभाड छ न नाराबाजी। युट्युबमा झुलुक्क अनुहार देखाउने लोभमा नारा लगाउन भिडमा मिसिएका केही स्थानीय पनि आफ्नै काममा फर्किएपछि अहिले प्रहरीलाई अनुसन्धानको प्रक्रिया अगाडि बढाउन कुनै अवरोध छैन।

प्रहरी कार्यालय अगाडिको भिडको कारण बयानका लागि बोलाएकाहरूलाई पनि लुकाएर प्रहरीले पछिल्लो गेटबाट भित्र लैजाने गरेको थियो। अब त्यो झन्झट पनि रहेन। अनुसन्धानलाई प्रभावित पार्ने गरी युटयूव च्यानलबाट विभिन्न सामग्री प्रसारण भएको भन्दै गृह मन्त्रालय र साइबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएपछि युट्युबले तनहुँ छाडिसकेका छन्। यता काठमाडौँमा साइबर अनुसन्धान ब्युरो अनुसन्धानमा खटिएको छ।

आरोपितलाई चोख्याउने गरी नाबालिग विरुद्ध विभिन्न सामाग्री युट्युब च्यानलबाट प्रसारित भएकोमा आक्रोश बढ्न थालेसँगै प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। उनीहरूका गतिविधि विरुद्ध मानव अधिकार आयोगले पनि अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको थियो। प्रहरीको साइबर ब्युरोले युट्युब भिडियो र टिकटक पोस्टमाथि निगरानी गरिरहेको जानकारी दिँदै त्यस्ता क्रियाकलाप गरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको थियो।

अनावश्यक भिड जम्मा पारेर दमौलीका शान्ति सुरक्षालाई चुनौती दिइरहेका पलका समर्थक र युट्यूबरहरु बाहिरिएपछि दुई दिन देखि दमौली शान्त भएको स्थानीय सचिन श्रेष्ठले जानकारी दिए। उनले भने' देशको कानुनलाई नै चुनौती दिइरहेका युट्यूबर र समर्थक बाहिरिएपछि अहिले दमौली शान्त छ। अनावश्यक भिड जम्मा गरेर नाराबाजीले  अशान्त बजार शान्त छ।'

पछिल्लो समय सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने कार्यमा संलग्न १६ युट्युब च्यानलमाथि प्रेस काउन्सिलले अनुसन्धान गरेर कारबाही अघि बढाउन साइबर ब्युरोलाई सिफारिस गरिसकेको छ। अभिनेत्री रेखा थापाले केही युट्युवरविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

बलात्कारको मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। फागुन १५ गते पक्राउ परेका शाहलाई अदालतबाट अनुसन्धानका लागि पहिलो पटक ७ दिन म्याद थप गरिएको थियो।

आइतबार दोस्रो पटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ। १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिकिएका शाहले पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।

 उनले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । बालिकाको जाहेरी अनुसार तनहुँ प्रहरीले घरधनी प्रदीप थापा र उनकी पत्नीसँग आइतबार बयान लिएको छ ।प्रहरी समक्ष दिएको बयानमा थापा दम्पतीले त्यस दिन शाह र बालिका सँगै बसेको बताएका छन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदीप थापा दम्पतीले बयान दिइसकेका छन्। कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसंग पनि प्रहरीले बयान लिएको  । उनीहरूले दमौलीमा आएर बयान दिएका छन्। पलका सहयोगी, अभिनेत्री पूजा शर्मा अनि कास्की पुगेर नाबालिगलाई फकाएर उजुरी दर्ता गर्न नदिएका २ पत्रकार पनि पोलिएकाले उनीहरूसँग समेत प्रहरीले बयान लिने तयारी गरेको छ।

बयानसँगै आवश्यक प्रमाण सङ्कलन गर्ने काम गरिरहेको छ। तर,आरोपित पल शाहले भने अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा आरोप अस्वीकार गरेका छन्।

पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजुरी परेको छ। बलात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाह लग्ने तयारी समेत गरेको छ। जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई पक्राउ गर्न छुट्टै पक्राउ अनुमति जारी गरेको छ।

फागुन २३, २०७८ सोमबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।