सुन्न र बोल्न नसक्नेहरूको आवाज बनेका गौरव: संसद्, प्रहरीदेखि अदालतमा पनि गर्छन् दोभाषेको काम

सुन्न र बोल्न नसक्नेहरूको आवाज बनेका गौरव: संसद्, प्रहरीदेखि अदालतमा पनि गर्छन् दोभाषेको काम

सुर्खेतः कोरोना महामारीको दोस्रो लहर चल्दै थियो। स्थिति नाजुक भएपछि सरकारले लकडाउन घोषणा गर्यो।

कालिकोट महावै गाउँपालिका– १ का २३ वर्षीय गौरव शाही त्यतिबेला सुर्खेतको वीरेन्द्रनगरमा बस्थे, सिद्ध बहिरा स्कुलनजिकै।

हुन त उनी आईटी (इन्फर्मेशन टेक्नोलोजी)मा स्नातक गरिरहेका छन्। तर लकडाउन भएपछि फुर्सदिला भए।

त्यति नै बेला सिद्ध बहिरा स्कुलका एक शिक्षकले अपाङ्ग सशक्तिकरण केन्द्रले दोभाषेको तालिम चलाउने कुरा उनलाई सुनाए। उनलाई पनि खाली समयको सदुपयोग गर्न मन लाग्यो। तीन महिनाको तालिम लिए पनि।

अहिले सुर्खेतमा दोभाषेका रूपमा काम गर्छन् गौरव। उनलाई अहिले सुर्खेतका विभिन्न कार्यक्रम, सरकारी कार्यालय, प्रहरी कार्यालयदेखि अड्डा अदालतसम्मले दोभाषेको रूपमा बोलाउने गरन्छन्।

०००
तीन महिनाको तालिममा उनले अक्षर र शब्द सिक्न त पाए तर यति मात्रले उनलाई दोभाषे बन्न सहज भने थिएन। उनले इन्टरनेटमार्फत सांकेतिक भाषा सम्बन्धी सामग्रीहरू अध्ययन गर्न थाले। त्यसलाई व्यवहारमा पनि प्रयोग गर्न थाले। 

‘मैले यसरी सांकेतिक भाषा सिकेर यो क्षेत्रमा काम गरौँला भन्ने कल्पना गरेकै थिइनँ,’ गौरवले भने, ‘दोस्रो चरणको कोरोनाले लकडाउन भयो। पढाइ पनि रोकियो। त्यसपछि फुर्सदिलो भएर खाली समयको सदुपयोग गर्न सांकेतिक भाषा सम्बन्धी तीन महिने तालिम लिएँ। अहिले दोभाषे भएर काम गरिरहेको छु।'

०००
यही फागुनको पहिलो सातातिर सुर्खेतमा श्रवण शक्तिविहीन दुई व्यक्ति चोरीको आरोपमा पक्राउ परे। उनीहरूको भाषा नबुझिएका कारण प्रहरीले आवश्यक अनुसन्धान र बयान लिन सकेन। 

प्रहरीले राष्ट्रिय अपाङ्गता महासंघ कर्णाली प्रदेशलाई दोभाषे पठाइदिन अनुरोध गरेपछि महासंघले गौरवलाई पठायो। गौरवले दोभाषेको रूपमा काम गरेपछि प्रहरीलाई पनि बयानका लागि सहज भयो।

त्यही आरोपको मुद्दा अदालतसम्म पुग्यो। अदालतले पनि महासंघलाई दोभाषे पठाइदिन अनुरोध गरेपछि महासंघले फेरि गौरवलाई नै पठायो। 


दोभाषेका रूपमा काम गर्दै गौरव (दायाँ)

उनले अदालतमा पनि दोषीले सांकेतिक भाषामा भनेका कुराहरूलाई न्यायाधीशसामु बुझाए। अनि न्यायाधीशले पनि उनलाई धन्यवाद दिए।

‘बहिरा समुदायका दुई जना चोरीको मुद्दामा जिल्ला प्रहरी कार्यालय गएका रहेछन्। उनीहरूबाट बयान लिन प्रहरी र अदालतलाई समस्या भएपछि अपाङ्गता महासंघ कर्णाली प्रदेशले मलाई पठायो,’ गौरवले भने, ‘प्रहरी र अदालतमा मैले दोभाषेको काम गर्दा एकछिनमै काम टुङ्गियो। उहाँहरूले मलाई धन्यवाद समेत दिनुभयो।’

अहिले सुर्खेतमा हुने हरेक सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमा गौरवको उपस्थिति हुने गरेको छ। उनले पहिलो पटक कर्णाली प्रदेश सभा सचिवालयको एक अन्तरक्रिया कार्यक्रममा दोभाषेको रूपमा काम गरेका थिए।

सांकेतिक भाषा सिकेर कसैले सुन्न र बुझ्न नसक्ने बहिरा समुदायको आवाज बन्न पाउँदा आफूलाई निकै खुशी लाग्ने गौरव बताउँछन्।

उनी बहिरा समुदायलाई पूर्णरूपमा सांकेतिक भाषाबाट बुझाउन नसकेको अवस्थामा लेखेर भए पनि बुझाउँछन्। गौरवलाई वीरेन्द्रनगरका २० वर्षीय प्रकाश बुढाले पनि दोभाषेको रूपमा सघाउँदै आएका छन्। 

सार्वजनिक निकायमा दोभाषे अनिवार्य व्यवस्था गरिँदा बहिरा समुदायलाई सहज हुने भन्दै त्यसका लागि आफूहरू जस्ता दोभाषेलाई धेरै तालिमको आवश्यकता रहेको बताए।

राष्ट्रिय अपाङ्गता महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले बहिरा समुदायको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन र उनीहरूको हक अधिकारका लागि दोभाषे उत्पादनमा आफूहरू लागिरहेको बताए।

‘अहिले राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीमा दोभाषे उत्पादन गर्न तालिम दिने तयारीमा छ,’ उनले भने,  ‘हामीले उत्पादन गरेका दोभाषेहरू कर्णालीका प्रत्येक जिल्लामा जान्छन्। जसले गर्दा बहिरा समुदायलाई अझै सहज हुनेछ।’

फागुन २३, २०७८ सोमबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।