सांसद बानियामाथि २५ लाख लिन बोलाएर बलात्कार गरेको आरोप,  पाँच दिनको म्याद थप

सांसद बानियामाथि २५ लाख लिन बोलाएर बलात्कार गरेको आरोप,  पाँच दिनको म्याद थप

बुटवल :  बलात्कारको आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँविरुद्ध पाँच दिनको म्याद थप भएको छ। मुगुबाट समानुपातिक सांसद भएका बानियाँले ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार बानियामाथि आइतबार पुनः ५ दिनको म्याद थप भएको छ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० बर्षिया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो। पीडितले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्।

प्रहरीलाई दिएको जाहेरीमा पीडित महिलाले आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको उल्लेख छ।

पद भयो निलम्बन 

बलात्कारको आरोपमा अदालतबाट म्याद थप भएपछि सांसद बानियाको सांसद पद स्वतः निलम्बनमा परेको छ। गम्भीर आपराधिक आरोपमा अदालतबाट अनुमति लिएर अनुसन्धान सुरु भएपछि सांसद स्वतः निलम्बनमा पर्नेछन्। आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका थिए।

फागुन २२, २०७८ आइतबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।