फिल्म चलाउन अभिनेत्री पूजाले नाबालिगलाई झुटो बोल्न दबाब दिएको दाबी, पूजा पनि अनुसन्धानमा तानिन सक्ने

फिल्म चलाउन अभिनेत्री पूजाले नाबालिगलाई झुटो बोल्न दबाब दिएको दाबी, पूजा पनि अनुसन्धानमा तानिन सक्ने
पलको तस्बिर प्रिन्ट गरेको टिसर्ट लगाएर पक्षमा वकालत गर्दै अभिनेत्री पूजा।

तनहुँ फागुन ८ गते बेलुका ११ बजे एकाएक नाबालिग गायिका र अहिले बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह एक युट्युब च्यानलमा देखिए।

संयोगवश दुवै एकै दिन भिन्न भिन्न च्यानलमा अन्तर्वार्ता दिन गएका थिए। नाबालिगको अन्तर्वार्तामा नाबालिगले पलसँगको विवादबारे बोल्न चाहिनन्। तर फिल्म' म यस्तो गीत गाउँछु-' प्रमोसन गर्न  प्राइम टिभीको 'धमलाको हमला' कार्यक्रममा पुगेका पलले ' नाबालिग आफ्नै टिमको सदस्य हो, रेस्पेक्ट गर्छु, त्यस्तो केही हैन' भन्दै दाबी गरेका थिए।

'हामी नजिक छौँ' भन्दै गर्दा पल निकै नर्भस् थिए कार्यक्रममा। पूजाले भने कार्यक्रममा नाबालिगको भविष्यको चिन्ता गरेझैँ ' बहिनीको भविष्य राम्रो छ। यही कारणले ह्याम्पर नगरोस्' भनेकी थिइन्।

त्यही दिन यी दुवैको सम्बन्धबारे नेपालप्रेसमा अडियो सार्वजनिक भएको थियो। पछि अडियो हटाइए पनि त्यो सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो। एकाएक पल र नाबालिग बेलुका एक युट्युब च्यानलमा देखिए मध्यरात ११ बजे। जसमा दुवैले आफ्नो सम्बन्धबारे कुरा गर्दा पलले  नाबालिगलाई 'नजिकको साथी, तिमी' भनेर सम्बोधन गरिरहेका थिए।

अन्तर्वार्ताको उद्देश्य नेपालप्रेसमा आएको समाचारको खण्डन अनि फिल्म' म यस्तो गीत गाउँछु-२ को प्रमोसन रहेको प्रस्ट देखिन्थ्यो। जसले अन्तर्वार्ता लिएका हुन् उनी भिडियोमा देखिएका थिएनन्।

फिल्म चलाउने स्वार्थमा पलको पक्षमा उभिइन् पूजा

ती पत्रकार अर्कै न्युज पोर्टलमा काम गरिरहेको र उनी ती नाबालिगको परिवारले कास्की प्रहरीमा जाहेरी दिने तयारी गरेपछि पोखरा पुगेर जाहेरी दर्ता नगराउन सम्झाउनीमध्येका एक भएको खुलेपछि अनलाइनले कारबाही गरेर निष्कासन गरिसकेको छ।

स्रोतका अनुसार नेपालप्रेसको समाचारले फिल्मलाई नकारात्मक असर पर्ने भएपछि अभिनेत्री तथा फिल्मकी निर्मातामध्येकी एक अभिनेत्री पूजाले नाबालिगलाई अन्तर्वार्ताका लागि दबाब दिएकी थिइन्। उनले 'मेरो फिल्म बर्बाद हुन्छ' भन्दै जवर्जस्ती अन्तर्वार्ता दिन लगाएकी थिइन्।

पूजाले नाबालिगलाई आफ्नो फिल्म रिलिज भइन्जेल यस विषयमा कतै नबोल्न समेत धम्क्याएको स्रोतले बतायो। नाबालिगलाई धम्क्याउने अनि होस्टायल गर्ने घटनामा अभिनेत्री शर्मा समेत जोडिएको खुलेपछि उनी छानविनमा तानिने भएकी छिन्। सँगै पलसहित पोखरा पुगेर नाबालिगको परिवारलाई जाहेरी नदिन प्रलोभन देखाउनेहरू समेत नाबालिगलाई धम्क्याएको र होस्टायल गराएकोमा मतियारको रूपमा अनुसन्धानको दायरामा आउन सक्छिन्।

'अहिले हामी अनुसन्धानकै क्रममा छौँ, कसैले दबाब दिएको खुलेमा उनीहरूमाथि समेत अनुसन्धान हुन्छ नै,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने' यो घटनामा दुवै पक्षसँग जोडिएका सबै अनुसन्धानको दायरामा पर्छन्।'

फिल्म प्रमोशनकोक्रममा पूजाले पीडित बालिकाले नै सोच्नुपर्ने भन्दै आरोपी पलको पक्षमा अन्तर्वार्ता दिँदै हिँडेकी थिइन्। उनले 'पल-पूजा एकै मुटुमा रहेको' भन्दै आरोपीको पक्षमा माहौल बनाउने प्रयास गरेकी थिइन्। यता जाहेरी परेपछि पललाई फसाउन हामीले शड्यन्त्र गरेका हौँ भन्दै नाबालिगको चरित्र हत्यामा संलग्न देखिएका कृष्ण जोशी समेत अनुसन्धानको दायरामा तानिने भएका छन्। उनीसँग समेत बयान लिने तयारी भइरहेको छ।

फागुन २२, २०७८ आइतबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।