सुर्खेत घटना : गाली नगर भन्दा कुटेर हत्या गरेको आरोपमा असई धामी विरुद्ध जाहेरी
सुर्खेत : कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल ‘मिनी’ लाई कुटपिट गरेर हत्या गरिएको भन्दै सुब्बाकुना प्रहरी पोस्ट सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेर सिं धामी विरुद्ध मृतका आफन्तले जाहेरी दिएका छन् ।
शुक्रवार नेपालगन्जबाट आफ्नो साथीको भे १ क ९२२ नम्बरको ट्रकमा कपडा पसलको सामग्री ल्याएर कालिकोट आउँदै गरेका हमालसहित तीन जनालाई मापसे सेवन गरेको भन्द्र सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज धामीले पक्राउ गरेर राखेका थिए।
बिहानीपख हमाल मृतक भेटिएपछि प्रहरीले उपचार गर्न लैजाऊ भन्दै चालकसँग सोही ट्रकमा सुर्खेत अस्पताल पठाएको थियो । अस्पतालमा पुग्नुभन्दा अगाडी नै हमालको मृत्यु भइसकेको अस्पतालले विज्ञप्ति मार्फत जनाइसकेको छ।
हमालको मृत्यु प्रहरी सहायक निरीक्षक धामीको कुटाइबाट भएकोले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिइएको मृतक हमालका आफन्त एवं सुर्खेत–कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य बहादुर शाहीले जानकारी दिए।
‘सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज शेर सिं धामीकै कुटाइबाट कृष्णको ज्यान गएको हो। त्यो कुरा शरिरभरीका नीलडाम र चालकहरूबाट पनि प्रस्ट भएको छ,’उनले भने, ‘धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छौँ । दोषीलाई कारबाही गर्ने प्रतिबद्धता प्रशासनले पनि दिएको छ।’
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि पीडित परिवारसँग भेटेर छानबिन समिति मार्फत सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता गरेका छन्।
छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी रिजालले गरेको सम्पर्क मञ्चका अध्यक्ष शाहीले बताए।
प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिवार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। अहिले पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा आफन्तले नाराबाजी गर्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन्।
हमालको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। केही समयपछि पोस्ट मार्टम लगायतका अन्य प्रक्रियाको काम अगाडी बढाउने हमालका आफन्तले बताएका छन्।
यस्तै घटनाको छानबिन गर्न शनिवार नै चार सदस्यीय छानबिन समिति बनेको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्।
आफन्तसँगको सहमति अनुसार आज उक्त समितिमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंहलाई सदस्य थप गरिएको छ। प्रशासनले समिति गठन भएका मितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने भनिए पनि मृतकका आफन्तले उक्त समय सात दिन थप्न अनुरोध गरेपछि सात दिन नै थपिएको छ।
फागुन २२, २०७८ आइतबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।